एल.ओ.डी. डिजे म्याग ‘टप १००’ को ५२ औं स्थानमा



काठमाडौं।

लर्ड अफ द ड्रिंक्स (एल.ओ.डी.) ले डिजे म्याग ‘टप १००’ मा विश्वभरिमा ५२ औं स्थान हासिल गरेको छ । एल.ओ.डी.ले बुधबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा एल.ओ.डी. का संस्थापक रबिन श्रेष्ठले स्थापनाको ३ वर्षमै प्राप्त गरेको उपलब्धीले विश्वमा गौतम बुद्ध र सगरमाथाको देशको रुपमा चिनिदैं आएको नेपाल अब क्लबिङ गन्तब्यको रुपमा समेत चिनाउने विश्वास व्यक्त गर्नुभयो । यो उपलब्धीले एल.ओ.डी.लाई नेपालको नम्बर १ क्लबको रुपमा स्थापित गरेको दावी गर्दै उहाँले भन्नुभयो-‘यो उपलब्धीले नेपालको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्नुका साथै अन्य क्लब र व्यवसायहरूका लागि देशलाई विश्वमा चिनाउने र विश्व पुँजीकरण गर्न सकिने सकारात्मक बाटो देखाएको छ ।’

उहाँले नेपालको रात्री जीवन अलग्गै तरिकाले फस्टाइ रहेको जिकिर गर्दै एल.ओ.डी.ले नेपालको क्लबिङ संस्कृतिलाई प्रवद्र्धन गरी क्लब प्रेमी तथा इलेक्ट्रोनिक डान्स म्युजिक (ईडीएम) प्रेमीहरूलाई उदाहरणीय क्लबिङ अनुभव प्रदान गर्दै आएको बताउनुभयो ।

सन् २०१९ को फेब्रुअरी १३ मा स्थापना भएको यो क्लबले नेपाली कलाकारहरूको प्रवद्र्धन गर्नुका साथै प्रसिद्ध अन्तर्राष्ट्रिय कलाकारहरूलाई पनि आमन्त्रण गरी विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने गरेको छ ।

सन् २०१९ मा विश्वको २५ औं स्थान हासिल गरेका डिजे क्विन्टिनोले सोही वर्षको अगष्टमा एल.ओ.डी.मा आफ्नो ईडीएम कला प्रस्तुत गर्नुभएको थियो । त्यस यता उक्त क्लबमा सय भन्दा बढी अन्तर्राष्ट्रिय डीजेका साथै अन्तर्राष्ट्रिय कलाकारहरूले थुप्रै कार्यक्रमहरूको सफल आयोजना गरिसकेका छन् ।

स्थापनाको लगतै शुरु भएको कोरोना महामारीको कठीन समयमा एल.ओ.डी.ले राहत सामग्रीहरू वितरण गर्दै सामाजिक कार्यमा सहभागिता जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्