विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुन्छ : गृहमन्त्री खाण



काठमाडौँ।

गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताउनु भएको छ ।

मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा सहभागी विपदमा समन्वय गर्नुपर्ने सरकारी निकायका पदाधिकारीहरूलाई निर्देशन दिँदै सरकारको मुख्य दायित्व प्राकृतिक प्रकोपबाट जनधनको सुरक्षा गर्नु भएकोले त्यसका लागि एकीकृत प्रयास गर्न आग्रह गर्नुभयो ।

उहाँले विपद्को जोखिम न्यूनिकरण गर्दै जनताको जिउधनको रक्षा गर्ने राज्यको मूल दायित्व पूरा गर्न ठूलो चुनौति रहेको भन्दै त्यसलाई चिरेर अगाडि बढ्न सबैलाई निर्देशन दिनुभयो ।

भारी वर्षातपछि आउने बाढी, पहिरो तथा हुने डुबानाबाट रोक्ने रणनीतिसहितको पूर्वतयारी आवश्यक रहेको उहाँको भनाइ थियो ।

त्यसका लागि सडक, खानेपानी, सञ्चार, स्वास्थ्य, सुरक्षासहितका निकायलाई तम्तयारी अवस्थामा बस्न उहाँले निर्देशन दिनुभयो ।

गृहसचिव टेकनारायण पाण्डेले विपद्को प्रतिकार्यका लागि तम्तयार अवस्थामा रहन सबैलाई निर्देशन दिनुभयो । विपदमा अत्यावश्यकीय सेवा सुचारु गर्न पूर्वतयारी गर्न उहाँले निर्देशन दिनुभयो ।

कार्यक्रममा जल तथा मौसम पूर्वानुमान महाशाखा, सडक विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिँचाई विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना, नेपाल सशस्त्र प्रहरी र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकारणका तर्फबाट विपद्को पूर्वतयारीका लागि गरिएका कामबारे जानकारी गराइएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्