बर्षाका कारण डुवानमा परेकाहरुको उद्धारमा सशस्त्र प्रहरीको सक्रियता



काठमाडौँ ।

अबिरल बर्षाको कारण असार १४ गते विभिन्न स्थानमा डुवानमा परेका करीब २८८ घरका करीब ९३४ जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

झापा जिल्लाको गौरीगंज गाँउपालिका १ बालुबाढी टप्पु र कुन्जीबारी बजारका बस्तीहरुमा माई नदी र कमल खोलाको पानीको वहाव बढेर डुवानमा परेका ३८ घरका करीब १५० जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।

सो डुवानबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बैगुनधुराबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा सार्नुको साथै डुवान प्रभावित घरका खाद्यान्न लगायतका विभिन्न सामाग्रीहरु समेत सुरक्षित स्थानमा सारेको हो ।

यसैगरी झापा जिल्लाकै बाह्रदशी गाँउपालिका २ स्थित सुकुम्वासी बस्तीको डुवानमा परेका करीब ६० घरबाट खाद्यान्न लगायतका सामाग्रीहरु सशस्त्र प्रहरी बल नेपाल बिओपी भागडुब्बाबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको सशस्त्र प्रहरीले मोरङ जिल्लाको कटहरी गाँउपालिका १ स्थित टाईगर टोलका डुवान प्रभावित १३० वटा घरका करीब ५२० जनालाई र खाद्यान्न तथा सरसामानहरु सुरक्षित स्थानमा सारेको छ ।

यसैगरी मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १ परोपकार ईलाकामा रहेको ६० घरका डुवान प्रभावित करीब २६४ जनालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सार्नुका साथै खद्यान्न लगायतका सामाग्रीहरु सुरक्षित स्थानमा सारेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्