इतिहासको विनिर्माणमा पुनर्चिन्तनको खाँचो



एक हिसाबमा हिजोका लोककथाका प्रसङ्ग, धर्मशास्त्रमा वर्णित कथाहरूका नागनागिनी, वनझाँक्री आदिका कथा शायद कल्पना मात्रै थिएनन् ।

षडानन्द अधिकारीले रुमाल ओछ्याएर सप्तकोशी नदी तर्थे भन्ने कुरा धेरै पुरानो होइन । यस्तै वेद, पुराणादिलाई नदेखिएका, नभोगिएका अर्थात् बोध नै नगरिएका काल्पनिकताको उपजका रूपमा मात्रै लियौँ भने त्यो गलत हुन सक्छ । शायद त्यतिखेर प्रत्यक्ष प्रमाणहरू भेटिन्थे, लोकले देख्ने अवसर पाउँथ्यो, त्यसैले ती विषयमा लेखियो । यद्यपि आजभोलि यी कुरालाई कल्पना र अन्धविश्वास मान्नुपर्छ, किनभने आज ती विषय अपत्यारिला लाग्छन् । यसमध्ये पनि कतिपय कुरा त खोज असल पत्रकारिताद्वारा पुष्टि पनि भइरहेको देखिन्छ । यसर्थ संस्कृतिभित्रका कतिपय वास्तविक पहिचानका सत्यहरू पनि असत्य बन्दै कालक्रममा अर्धानो बन्न पुग्छन् ।

संस्कृति मानव हुनुको परिचयमा आधारित हुन्छ । नेपाली संस्कृतिभित्र आ–आफ्ना पृथक् इतिहास जोडिएका छन् । साहित्य, ग्रन्थ वा किंवदन्ती, पुराकथा, मिथक आदिले संस्कृतिलाई जीवन्त बनाएको हुन्छ । यसमा लोकइतिहासको सम्बन्ध गाँसिएको हुन्छ । कतिपय आज अपत्यारिला लागेका लोककथाहरू हिजो शायद सत्य साबित थिए । आजका मान्छेसँग त्यो समयको जस्तो क्षमता नहुँदा आजकै युगसम्मत सीमित व्याख्या गरिनु मात्र वास्तवमा बुद्धिमानी ठहर्दैन ।

हिजोका मान्छेले घर बनाउँदा मिलेर निदाल बोक्थे, ठूला–ठूला ढुङ्गा एक्लै बोक्थे, एकैजनाले २२–२४ पाथी धानका बोरा बोक्थे भन्ने कतिपय यथार्थ कुरा अबका बीस, चालीस वर्षपछि अपत्यारिला लाग्नासाथ झुटो हो भनिहाल्नु सान्दर्भिक हुँदैन । गोरखादेखि मासको बोरा बोकेर काठमाडौँमा लगी बेच्ने अर्थात् भनौँ धरानदेखि ताप्लेजुङसम्म ढाकरमा नुन बोकेर लैजान्थे भन्ने कुरा आज नै अपत्यारिला कथाजस्तै लाग्छन् । यसर्थ समयको अन्तरालले कतिपय यथार्थ कुरा पनि किंवदन्ती बन्न पुग्छन् । यसलाई पुस्तागत अन्तरले प्रभाव पारिरहेको हुन्छ ।

आजका नयाँ पुस्ताले यी कुरालाई कल्पनाको संज्ञा दिन्छन् । वास्तवमा यो आजका पुस्ताको मात्रै दोष होइन । यो त समयले ल्याएको एउटा सोचगत परिवर्तन हो । यसो भनिरहँदा हिजोका किंवदन्तीहरू यथार्थभन्दा परका अतिरञ्जित व्याख्या नगरिएका मात्र पनि थिएनन् । उक्त समयमा मनोरञ्जनात्मक, सन्देशपरक, सामाजिक आदर्शबोधात्मक प्रकृतिका कविता, गीतलगायतका गद्य र पद्य साहित्यको रचना भएको देखिन्छ ।

आजको युगले यन्त्रवत् वस्तुपरक, तथ्यपरक, प्रामाणिक तथा ठोस पदार्थसँग रहेर आफूले पाएको विज्ञानको शक्तिलाई मात्र सत्य मान्ने आदत बसाएको छ । निर्विष व्याख्या भएको देखिँदैन । स्वभावैले कतिपय यस्ता मान्दै आइएका विषय आज अप्रायोगिक लाग्छन् अनि ती कुराहरू प्राचीन अपत्यारिला कथा बन्दै जान्छन् ।इतिहासविद्हरूले, अध्येताले मानिसलाई ढुङ्गेयुग र बाँदर योनीबाट विकसित रूप माने पनि त्यो एउटा अनुमान हो । बाँदरबाट मानिस बन्न समय लाग्छ भन्ने हो भने कि त झुसिलकीरा र पुतलीको जस्तो जैविक अवस्था पो देखिनुपथ्र्यो कि त !

मानिसलाई कतिखेर बर्बर थियो भन्ने ? शिव भगवान् किराँतीको रूप धारण गर्दा जङ्गलमा पुगेको समयलाई बर्बर मान्ने कि ? महारभारतकालीन समयभन्दा अघि अर्थात् पछिको समयलाई मान्ने कि ? यदि मानिस महाभारतकालीन समय, रामायणकालीन समयभन्दा अघि बर्बर थियो कि त ? अर्थात् यदि त्यसभन्दा अघिको सृष्टिक्रममा हो भने त्यसपछिको त्यो विकसित ज्ञान आजभन्दा महान् थियो होला । उक्त समपयछिको मानिसलाई बर्बर थियो भन्ने हो भने त्यत्रो विशाल ज्ञान, विज्ञान, शक्ति, सबलता आज कसरी गायब भयो । मानिस किन आज अर्जुन, राम या कृष्णजस्तो सक्षम बन्न सक्दैन ?

मानिसको सभ्यतामा चेतनाको स्तर परिवर्तन भए पनि रूप परिवर्तनको समयावधि कल्पना र अनुमान मात्र हुन सक्छ । मानिस त बालकदेखि वृद्ध हुने जैविक प्रकृतिको नै थियो भन्नु बढी सान्दर्भिक हुन्छ । प्रमाणका आधारमा कुरा गर्ने हो भने आजसम्म मानिसले भोगेको शताब्दीमा कुनै पनि बाँदर मानिसमा परिणत भएको कुनै यथार्थ प्रमाण देख्न पाएका छैनौँ ।

विडम्बना ! हामीले हाम्रा पूर्वजका ज्ञान र हातमा भएका ग्रन्थका प्रमाणलाई खोज्ने जाँगर पटक्कै चलाएनछौँ । हामीभन्दा अघिका इतिहासमा आजका आधुनिक भनिएका विषय अर्थात् आजका मानिसभन्दा ठूलो र विकसित सभ्यता थियो कि त ! आज पनि बूढापाकाका औषधि ज्ञान, उखान र टुक्का हालेर बोल्ने कला, प्रकृतिसँगको सम्बन्ध गाँस्ने वास्तविकतालगायतका कतिपय रहस्यमय कुराहरू पुस्तैपिच्छे ह्रास हुँदै छन् ।

अझ भनौँ महाभारतकालीन, रामायणकालीन लगायतका ग्रन्थादिको ज्ञान, कला, सक्षमता आज किन छैन र भएन भन्ने पनि त एउटा चासो र खोजको विषय हुन सक्छ । अनि कसरी अर्जुनको जस्तो, ऋषिगणको जस्तो, तपस्वीको जस्तो सिद्धहस्तता वा भनौँ वायव्यास्त्र, अग्न्यास्त्र, वारुणास्त्र, मुसल आदि मन्त्र शक्तिको यथार्थलाई विनिर्माण गर्नु आजको आवश्यकता हो ।

आजको एटम बमभन्दा एकपटक मात्र प्रयोग गर्न मिल्ने ब्रह्मास्त्रदेखि विष्णुचक्र, पाशुपतास्त्रहरू कसरी सर्वशक्तिमान थिए होलान् ? तिनले किन सत्यको पक्षमा न्याय गर्थे ? अझ अश्वत्थामाले प्रयोग गरेको ब्रह्मशिर अस्त्रको कथा झनै रहस्यमय लाग्छ । यसो भनिरहँदा वेद कुनै हिन्दू धर्मका लागि मात्र लेखिएको ग्रन्थ होइन । यो सिङ्गो मानव जाति र प्राणीहितका लागि विभिन्न ऋषिको समष्टि ज्ञानको पुञ्ज हो । त्रिपिटक बौद्ध धर्मावलम्बीका लागि मात्र भनेर लेखिएको होइन किनकि बुद्ध स्वयम् नै हिन्दू धर्मलाई पालना गर्ने परिवारमा जन्मेका हुन् ।

अर्थात्, कुनै पनि ग्रन्थ मानवहितका लागि लेखिएका हुन्, धर्म र धार्मिक खेमामा मानिसलाई बाँध्नका लागि होइन । मानिसले पछि आएर धर्मको पर्खाल लगाएर ग्रन्थ र ग्रन्थ ज्ञानलाई विभाजन गरिदियो ।महाभारत या त रामायणजस्ता ग्रन्थ त साहित्यकारको दिमाग मात्र हो, कला हो भन्ने केहीका आजका विचारकको तर्क होला । सोचनीय कुरा के छ भने के कुनै कविले, कथाकारले या साहित्यकारले एकछिन् या त वर्षौँ लगाएर केवल कल्पना गरेरै मात्रै त्यत्रा ग्रन्थलाई रचना गरेका होलान् त ? साँच्चै ती घटना घटेकै होइनन् त ? त्यो समयमा त यातायातको आविष्कार भएको थिएन । यद्यपि एउटै ग्रन्थभित्र थुप्रै देशदेशान्तरको वर्णन छ ।

अयोध्यादेखि जनकपुरसम्मको व्याख्या, श्रीलङ्कासम्मको चर्चा, महाभारतका कैयौँ राज्य र टाढा–टाढाको वर्णन छ । त्यो अवश्य पनि कल्पना मात्र होइन । अर्थात् भनौँ महाभारत आदि ग्रन्थका लेखक वेदव्यास कति वर्ष बाँचे होलान् र त्यत्तिका धेरै ग्रन्थ लेख्न भ्याए ? अनि आजसम्म पनि वेदका वाणी सत्य र यथार्थ कसरी भइरहेका होलान् ? त्यसो हो भने लेखकको लेखकीय ज्ञान एउटा बन्द कोठामा कोचिएर बस्नेको कल्पना मात्र हो त ? त्यतिखेरको वास्तविक इतिहाससँगको तालमेल राख्ने क्षमता वा त्यो युगसम्मत भएर व्याख्या गर्ने वास्तविक आधार हामीमा छैन भने ती घटना आज अनुसन्धान गर्न नसकिएका ग्रह, ताराजस्तै स्तरका हुन् भन्न मिल्दैन ! जसरी हाम्रा वैज्ञानिकहरूले सबै ग्रह तथा ताराहरूलाई पत्ता लगाउने कोशिश गरिरहेका छन् तर सबैको अध्ययन गर्न सकेका छैनन् ।

यो विषय त्यस्तै हो अर्थात् विभिन्न ग्रन्थ, उपनिषद् आदिका आधारमा ती घटना यथार्थ थिए तर आज काल्पनिक जस्ता लाग्छन् भने हुँदैन ? ऐतिहासिक यथार्थतालाई बोध गर्ने खुबी हामीमा नभएको हो भन्न मिल्दैन र ? यसको अर्थ आजका मान्छेको दिमागले प्रमाण नभेटेका र अपत्यारिला जस्ता लागेका सबै कुरा काल्पनिक मात्रै हुन्, रोमाञ्चक हुन्, अतिरञ्जक मात्र हुन् त ! आजको मानिसले ती कुराका प्रमाण खोज्दाखेरि नपाएकाले नै त असत्य मान्दै छ ।

त्यसो भए के मानिसले प्रमाण नभेटेका हरेक कथा, हरेक इतिहास सबै काल्पनिक मात्र होलान् ? अनि वेद, उपनिषद्, प्राचीन ग्रन्थादिका रचना र जीवनको वास्तविकतालाई कसरी कल्पना मात्र भनेर पन्छिन सकिएला र ! आज त्यति धेरै शक्तिसम्पन्न नहुँदा अर्थात् आकाशमा उड्ने, विभिन्न सिद्धहस्तता विकास गर्ने रुचि नभएर पनि त हामी कमजोर हौँला नि ! यो पुनव्र्याख्या गर्नुपर्ने विचारणीय विषय हो ।हाम्रा पुर्खाहरूले आजको ज्ञान, आजको समयको बारेमा त्यतिखेरै कसरी कल्पना गरेका थिए भन्ने कुरा खोजको विषय हुनुपर्ने हो ।

मानिसले कसैले थाहा नपाएको वा नबताएको विषयमा कल्पना गर्न कति गाह्रो होला ? हामी कसैलाई यो अकल्पनीय ग्रन्थ लेख्न लगाउँदा के लेखौँला अनि कति रचना गर्न सकिएला ? वास्तवमा कुनै पनि लेखकले जतिसुकै कल्पना गर्न थाले पनि, काल्पनिक घटनालाई उने पनि उसले आफ्नो कुनै न कुनै भोगाइ वा अनुभवको प्रभावलाई त्यसमा समेटेकै हुन्छ । यसर्थ माक्र्स, कडबेल, जर्ज लुकाज, टेन, एङ्गेल्स आदि विद्वान्का समाजपरक व्याख्या र विश्लेषणभन्दा प्राचीन ग्रन्थ अतुलनीय छन् ।

किनकि, अग्रजहरूले लम्बाइ, चौडाइ र गहिराइको आजलाई मात्र होइन भोलिको वास्तविकतालाई पनि देख्ने शक्ति राखेका छन् । अर्थात्, तिनमा वर्तमान, भूत र भविष्यभन्दा पनि परको सोच्ने सामथ्र्य रहेछ भन्दा अत्युक्ति रहँदैन । त्यहाँ लौकिक र पारलौकिक ज्ञानको तालमेल छ । कल्पनाभन्दा बढी अनुभव छ, भोगाइ छ । यो कुरा अध्येताको मस्तिष्कभित्र अड्कने कुरा हो । यस्ता विचारमा पूर्वाग्रह नराखी खोजी गर्ने हो भने त्यसको प्राप्तिले समाजमा एउटा फरक मौलिकता प्रदान गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्