घर निर्माण र सजावटमा वास्तु विज्ञान



आवास होस् वा अफिसियल भवन, किनबेच गर्नुप¥यो भने वास्तुशास्त्रअनुसार बनेको छ कि छैन भनेर हेर्ने चलन अहिले व्यापक हुँदै गएको छ । हुन पनि घर निर्माण गर्दा इन्जिनियरले त्यो घरलाई कसरी बलियो र आकर्षक बनाउने भन्ने कुरामा ध्यान दिन्छन् भने वास्तुशास्त्रीले सो घरमा बस्ने मानिसलाई स्वस्थताका साथै आर्थिक, सामाजिक, मानसिकरूपमा कसरी समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा जोड दिन्छन् ।

‘बेड देख्दा आरामदायी छ तर त्यसमा सुत्दा निद्रा नै लाग्दैन भने वास्तुशास्त्रअनुसारको स्थानमा बेड सार्नुप-यो नि’, गर्गाचार्य अ कम्प्लिट वास्तु सोलुसनका युवा वास्तुविद् श्यामबाबु आचार्य बताउनुहुन्छ । उहाँका अनुसार दैनिक जीवनमा प्रभाव पार्ने सूर्यको किरण, हावाको बहाव, विद्युतीय तरंग, कस्मिक इनर्जी, चुम्बकीय ध्रुव आदिको संयोजन सन्तुलितरूपमा गर्न सकिएन भने जीवनमा नै नकारात्मक प्रभाव पर्छ । यिनै तत्वहरूको संयोजन मिलाएर आवास भवन, कार्यालय वा कोठाहरूको व्यवस्थापन गर्नुपर्छ ।

पृथ्वी पश्चिमबाट पूर्वतर्फ घुम्ने भएकाले भवन बनाउँदा नै सो भवनको पूर्वी भाग केही होचो हुने किसिमले बनाउनुपर्ने हुन्छ । बिहान घरको पूर्वी भागमा बनाइएको कौसीमा टहल्ने ग¥यो भने स्वास्थ्यमा फाइदा पुग्छ । हुनेसम्म ऋषिमुनिहरूद्वारा प्रतिपादित वास्तु विज्ञानलाई अवलम्बन गरी स्वस्थ, यश, ऐश्वर्य र सुखशान्तिको जीवन जिउनुमा कल्याण हुने वास्तुविद्हरूको राय छ ।

बेडरूम कता गर्दा के हुन्छ ?

दैनिक झन्डै ७–८ घण्टा शयन कक्षमा सुतेर बिताइने हुँदा यस कोठाको बनावट र डेकोरेसनले मानवजीवनमा निकै प्रभाव पारेको हुन्छ । त्यसैले, तनावरहित, सुस्वास्थ्य र सुख–शान्तिको जीवन जिउन वास्तुशास्त्रअनुसारको बेडरुम हुनुपर्छ । बेडरुममा रूखबिरूवा राख्नुहुँदैन । यसले राति कार्बनडाइड अक्साइड फाल्ने र अक्सिजन लिने हुँदा मानिसका लागि घातक हुन्छ । बेडरुममा डरलाग्दा तस्वीरहरू पनि राख्नुहुँदैन । कुन व्यक्तिका लागि घरको कुन दिशापट्टि बेडरुम बनाउने भन्ने कुरामा निकै ध्यान पु-याउनुपर्छ ।

 पूर्व दिशा : पूर्व दिशा बच्चाहरू सुत्नका लागि उपयुक्त हुन्छ ।
आग्नेय (पूर्व–दक्षिण) : यस दिशामा सुत्दा स्वास्थ्यमा कुप्रभाव पर्ने हुन्छ । यस दिशाको शयन कक्षमा सुत्ने महिलाको बाँझोपन हुने सम्भावना हुन्छ । सन्तान भइहाले पनि मानसिक एवम् शारीरिक रोगबाट ग्रस्त हुन सक्ने बताइएको छ ।

नैऋत्य (दक्षिण–पश्चिम) : घरमूलीको शयन कक्ष घरको नैऋित्य कोणमा हुनुपर्छ । अफिसको प्रमुखले पनि कार्यालयको यही कोणमा बस्नु उत्तम हुन्छ । यस दिशामा सुत्ने व्यक्तिमा धनको कमी नहुने र स्वस्थ हुने बताइएको छ । साथै सुख–समृद्धि बढ्ने हुन्छ ।

 पश्चिम दिशा : यो दिशा शयन कक्षका लागि शुभ मानिन्छ । यस दिशाको शयन कक्षमा सुत्दा आराम एवम् शान्ति मिल्छ । तनावरहित भरपूर निद्रा प्राप्त हुन्छ र सुखी हुने बताइएको छ ।
-वायव्य (पश्चिम–उत्तर) : यस कोणमा सधैँ वायु प्रवाह हुन्छ । पाहुनाका लागि यस दिशामा बेडरुम दिँदा ऊ अत्यन्तै सन्तुष्ट हुन्छ र घरमूलीमा मान, प्रतिष्ठा, इज्जत बढाउन मद्दत मिल्छ ।

उत्तर दिशा: यस दिशामा शयन कक्ष हुनु नराम्रो मानिन्छ । यहाँ सुत्ने व्यक्ति सधैँ अशान्त र रिसाहा हुने हुन्छ । बुझ्नेले कहिल्यै यस दिशामा बेडरुम नबनाउनु नै उत्तम हुन्छ ।

– ईशान (उत्तर–पूर्व) : यस दिशामा शयन कक्ष छ भने दाम्पत्य जीवनमा नराम्रो असर पर्न सक्छ । यस दिशामा सुत्ने दम्पतीमा कामवासनामा कमी आउने हुँदा दाम्पत्य जीवन सुखमय नहुने बताइएको छ ।

सिरानचाहिँ कतापट्टि नि ?

शयन कक्षको छनोट गरेर मात्र हुँदैन । पलङ राख्ने बेलामा पनि ध्यान पु-याउनुपर्ने हुन्छ । विद्या प्राप्तिका लागि पूर्व दिशा अनि धन एवम् आयुका लागि दक्षिण दिशामा सिरान पर्ने गरी पलङ मिलाउनुपर्छ । पश्चिम सिरान भए सधैँ चिन्ता र उत्तर सिरान भए हानि हुने एवम् आयु क्षीण हुँदै जाने हुन्छ । साथै चुम्बकीय ध्रुवसँग सन्तुलन नमिल्नाले रक्तप्रवाहमा समेत असर पर्न सक्छ । त्यसैले विद्यार्थीका लागि पूर्व सिरान र अन्यका लागि दक्षिण सिरान गर्नु उत्तम मानिन्छ । दक्षिण सिरान गरेर सुत्दा चुम्बकीय तरंगको सकारात्मक प्रभाव पर्ने कुरा विज्ञानले समेत प्रमाणित गरेको छ ।

भान्साकोठा कतापट्टि गर्ने ?

भान्साकोठा घरको पूर्व–दक्षिण (आग्नेय कोण)मा हुनुपर्छ । यस दिशामा पञ्चमहाभूतमध्ये अग्नि तत्व हुने भएकाले आगोको काम यहाँ गर्नुपरेको हो । उत्तर–पूर्व (ईशान) कोणमा कहिल्यै भान्साकोठा बनाउनुहुँदैन । किनकि यो दिशामा जल तत्व रहने भएकाले पानी र आगो कहिल्यै एकै ठाउँमा मिल्दैन । यदि ईशान कोणमा भान्सा बनाइएको छ भने परिवर्तन गरिहाल्नुपर्ने सल्लाह दिन्छन् वास्तुविद्हरू । नत्र आगो र पानी नमिलेजस्तै घरमा झगडा भइरहने, स्वास्थ्यमा समस्या आइरहने, तनाव झेलिरहनुपर्ने हुन सक्छ ।

भान्सामा कुन वस्तु कहाँ राख्ने र कता फर्कने ?

-भान्साकोठाको दक्षिण–पश्चिममा खाद्यान्न राख्ने ।
-भान्सामा बढी प्रयोगमा नआउने वस्तुहरू वायव्य कोणमा राख्ने ।
– उत्तर–पूर्व (ईशान) कोणमा पानीको गाग्री, पानीको जार, फिल्टर आदि ।
-दक्षिण–पश्चिम (नैऋत्य) कोणमा ग्यास सिलिन्डर ।
-आग्नेय वा पूर्व दिशामा चुलो ।
– नैऋत्य कोणमा गह्रौं खालका सामानहरू ।
– खाना पकाउने व्यक्ति पूर्व फर्केर पकाउने गरी स्ल्याब निर्माण गरेको हुनुपर्छ ।
-दक्षिणतर्फ फर्केर खाना खाने गरी डाइनिङ टेबुल कहिल्यै राख्नुहुँदैन । सबैभन्दा राम्रो पूर्व दिशा, नभए उत्तर वा पश्चिम फर्केर खाना खाने गरी मिलाउनुपर्छ ।
-खाना खाँदा सधैँभरि एउटै स्थानमा बस्ने र एउटै दिशातिर फर्केर खाने गर्नुपर्छ । स्थान, दिशा, थाल आदि परिवर्तन गर्नुहुँदैन । बस्ने स्थान, दिशा, थाल आदि परिवर्तन गरियो भने मानसिकरूपमा व्यक्ति दिग्भ्रमित हुन सक्छ ।

वास्तुअनुसारको बाथरूम-शौचालय
घरको पश्चिमपट्टि नुहाउने कोठा र शौचालय हुनु शुभ मानिन्छ । पूर्व र ईशान कोणमा कहिल्यै शौचालय बनाउनु हुँदैन । यदि यसरी बनाइएको छ भने हुनेसम्म परिवर्तन गर्नु नै बुद्धिमानी हुन्छ । सकेसम्म नुहाउने कोठा र शौचालय फरक–फरक बनाउनु राम्रो हुन्छ । बेडरूमको उत्तरतर्फ एट्याच बाथरूम हुनुहुँदैन । वासबेसिनको प्रयोग पूर्व वा उत्तर फर्केर गर्ने किसिमले बनाइएको हुनुपर्छ ।
-नुहाउँदा पूर्व वा उत्तर फर्किन मिल्ने गरी सावर जडान गरिनुपर्छ ।
-ट्वाइलेट बस्दा उत्तर वा दक्षिण फर्कने गरी प्यान वा कम्बोट जडान भएको हुनुपर्छ ।
– वासमेसिन भएमा बाथरूमको पूर्वी भागमा राख्नुपर्छ ।
– गिजर भएमा आग्नेय कोणमा फिट गर्नुपर्छ ।
– बाथरूमको ऐना उत्तर वा पूर्वी भित्तामा हुनुपर्छ ।
-बाथटबचाहिँ बाथरूमको वायव्य (उत्तर–पश्चिम) कोणमा राख्नुपर्छ ।

बैठक कोठाको दिशा चयन र डेकोरेसन

बैठक कक्ष घरको वायव्य (उत्तर–पश्चिम) मा हुनु राम्रो मानिन्छ । बैठक कोठाको तय गरिसकेपछि यस कोठाको दक्षिण–पूर्वी (आग्नेय) कोणमा अग्नि तत्व भएका टेलिभिजन, फ्रिज, टेलिफोनजस्ता विद्युतीय उपकरण राख्नुपर्छ । सोफासेट उत्तर फर्काएर राख्नु उत्तम हुन्छ । पूर्व–उत्तर (ईशान) कोण वा उत्तर दिशामा पनि सोफा राख्न सकिन्छ । यदि ड्रेसिङ टेबुल राख्ने हो भने पूर्वतर्फ राख्नुपर्ने हुन्छ । टेलिफोन सेट उत्तर वा वायव्य कोणमा पनि राख्न सकिन्छ । कम्प्युटर भने उत्तर फर्केर काम गर्न मिल्ने गरी राख्नु उचित हुन्छ ।

यदि अध्ययन कोठा पनि बैठक कोठालाई बनाउने हो भने पुस्तक राख्ने दराज वा ¥याक पश्चिम फर्काएर राखिनुपर्छ । सोफाको खोल र पर्दाको रंग घरमूलीको राशिअनुसार मिलाउन पनि सकिन्छ । वायव्य कोणमा वायु तत्व हुने भएकाले यहाँबाट प्रवेश गरेको वायुले जीवनदायिनी शक्ति प्रदान गर्छ । त्यसैले यो कोणबाट ताजा हावा आदानप्रदान हुन्छ । पंखा राख्ने पनि यही दिशापट्टि हो ।

बैठक कक्ष अर्थात् भेटघाट कक्षमा आगन्तुक, पाहुनाहरूलाई दक्षिण वा पश्चिम दिशातिर फर्कने गरी सिटको व्यवस्था मिलाउनुपर्छ । तर घरको मूली वा कार्यालय प्रमुखलाईचाहिँ उत्तर वा पूर्वतर्फ फर्कने गरी व्यवस्था मिलाइएको हुनुपर्छ ।

जलाशय-धाराको व्यवस्थापन

उत्तर–पूर्वी (ईशान) कोणमा जलतत्व हुने भएकाले इनार, अन्डरग्राउन्ड पानी ट्यांकी, धारा, बोरिङ आदि यस दिशामा निर्माण गर्नुपर्छ । पानीका लागि दक्षिण दिशा धेरै अशुभ मानिन्छ । यदि दक्षिण दिशामा पानीको व्यवस्थापन भइसकेको भए एउटा धारा भए पनि ईशान कोणमा निर्माण गरिहाल्नु श्रेयष्कर हुन्छ । ईशानबाट देवताको प्रवेश हुने हुँदा घरको यस कोणमा पूजाकोठा वा मन्दिर बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्