ऐतिहासिक क्रान्ति २००७ साल र राज्यसत्तामा जनप्रतिनिधिको सहभागिता

(महेन्द्रमान सिंहद्वारा लिखित ‘फरइभर इन्कम्प्लिट– दी स्टोरी अफ नेपाल’ पुस्तकको च्याप्टर ५ मा पर्ने ‘विक्रम संवत् २००७ साल’ शीर्षकको शिवलाल श्रेष्ठद्वारा अनुदित नेपाली अंश–१३)



राणा युगको आखिरी घडीको अन्तिम पटकथा सन् १९५० को अन्त्यतिर लेखिएको थियो । जहाँसम्म त्यसको मञ्चन भने न त राणा शाहीको प्रचण्ड विरोधमा उत्रेको काठमाडौं उपत्यकामा, न त बाहिर मुक्ति सेनाले छापा मारेर सलक्क कब्जामा लिएका जिल्लाहरुमा नै भएको थियो ।

प्रधानमन्त्री मोहन शमशेरका प्रतिनिधिहरु राजा त्रिभुवनलाई भेट्ने मनसुवा लिएर दिल्ली गए तापनि निराश बनेका थिए । भारत सरकारले उनीहरुलाई राजासँग भेटको लागि सहजीकरण गराएको थिएन भने राजा त्रिभुवनलाई पनि उनीहरुसँग भेट्ने कुनै चटारो थिएन । उनीहरु ८ डिसेम्बरमा पण्डित नेहरु स्वयंले लेखेको प्रस्तावना बोकेर काठमाडौं फर्के । ८ डसेम्बरमा संसद्लाई सम्बोधन गर्दै पण्डित नेहरुले दृढताका साथ भनेका थिए, ‘धेरै पहिलादेखि हिमालयले हामीलाई भव्य पर्खालले जस्तै सहयोग पु¥याउँदै आएको छ…., यो त्यहाँबाट भारत छिर्नेहरुका लागि प्रमुख अवरोध हो ।

त्यसकारण हामी नेपालको स्वतन्त्रताको कदर गर्छौं, हामी त्यो अवरोध पार गर्न वा कमजोर हुने अनुमति दिन सक्दैनौं । त्यो हाम्रो आफ्नै रक्षाको लागि जोखिम हुनेछ ।’ उक्त बयानले करोड स्वामित्वको आवाज देखायो तर नेहरुले नेपालमा अनिश्चित अवस्थाको निरन्तरताले कम्युनिस्ट चीनलाई प्रलोभनमा पार्न सक्ने डर थियो । उनले नेपाली समस्या समाधान गर्ने माध्यमार्गको समर्थन गरे । सम्झौता सूत्रका मुख्य घटकहरु यस्ता थिए ।

१. राजा त्रिभुवनलाई नै नेपालको वास्तविक राजा स्वीकार्ने ।
२. जनप्रतिनिधि सम्मिलित राणा प्रधानमन्त्री रहने अन्तरिम सरकार चयन गर्ने ।
३. नयाँ संविधानको मस्यौदा तयार गर्न संविधानसभाको निर्वाचन गर्ने ।

उपरोक्त प्रस्तावप्रति काठमाडौंमा बृहत् छलफलपश्चात् पुनः एकचोटि राणा प्रतिनिधि विजय शमशेर र अन्य केही दिल्ली यात्रामा निस्के । यसपटक भने राजा त्रिभुवनले उनीहरुलाई दर्शन भेट दिए । १ जनवरी १९५१ (२००७÷०९÷१७) मा उक्त प्रतिनिधि मण्डल पनि झन्डै पहिलाकाले जस्तै प्रस्तावित सहमति पत्र बोकेर काठमाडौं फक्र्यो । वास्तवमा उनीहरुसँग त्यसलाई मान्नुबाहेक अर्को विकल्प थिएन ।

फलस्वरुप ८ जनवरीमा प्रधानमन्त्री मोहन शमशेरले दिल्लीबाट पठाएको सम्झौताको सिद्धान्तसँग मिल्दोजुल्दो किसिमको देशमा राजनीतिक सुधार हुने घोषणा जारी गरे । दुई दिनपछि राजा त्रिभुवन र नेहरुले उक्त घोषणालाई स्वागत गरे । जसले गर्दा धेरै राजबन्दीहरु जेलमुक्त भए । तथापि गणेशमानलाई भने अभै कैद मुक्त गरिएको थिएन । बृटिस टोली काठमाडौं आएको बेला राजा त्रिभुवनको पक्षमा भएको ठूलो सशक्त प्रदर्शन र उक्त टोलीको अनुवर्ती रिपोर्टलाई मनन गरी सम्पूर्ण विश्वले राजा त्रिभुवन नै वास्तविक राजा स्वीकार्न परेको थियो । राणा प्रधानमन्त्रीलाई नै अन्तरिम सरकार प्रमुखको रोजाइ गरिएको सन्दर्भमा भन्नुपर्दा शायद नेहरुलाई भर्खर भारत स्वतन्त्र हुँदाका बखत उनले भोग्नुपरेको भीमकाय समस्या सम्झना भएको होला ।

जसमा सत्ताशक्ति पुनः लर्ड माउन्टबेट्टनमा नै फर्केको मात्र थिएन, अपितु उनै भ्वाइसरायलाई भारतको प्रथम गभर्नर जनरलको पदमा नियुक्तसमेत गरिएको थियो । यसो किन गरिएको भन्दा भ्वाइसरायले प्रदर्शन गरेको प्रशासकीय दक्षता नै थियो, जुन दक्षता त्यस बेला नेहरुमा थिएन वा काश्मीर र हैदरावादमा सैनिक कार्यवाहीको बेला ग्यारेसन ड्युटीको लागि नेपाली सेना पठाउन गरेको नेहरुको अनुरोधलाई जुन असाधारण तत्परताको साथ प्रधानमन्त्री मोहन शमशेरले सैनिक खटाएर गरेको सहयोगको बदला चुकाउन चाहेको हुन सक्थ्यो । त्यहाँ सन् १९५० मा मोहन शमशेरले हस्ताक्षर गरेको नेपाल र भारतबीच भएको शान्ति र मैत्री सन्धि पनि थियो । अन्तरिम सरकारमा दुनियाको प्रतिनिधि सम्मिलित गरिनु निःसन्देह नेपाली कांग्रेसको लागि एउटा उपहार थियो ।

सम्झौता सिद्धान्तको तेस्रो पक्षमा नेपाल अधिराज्यको नयाँ संविधान मस्यौदा तयार गर्न संविधानसभाको चुनाव गर्नु थियो, जुन नेहरु स्वयंको आफ्नै नवीन प्रयोग पनि थियो । १५ अगस्त १९४७ (२००४-०४-३१) मा भारत स्वतन्त्र भएको घोषणा भयो । त्यसको साढे दुई वर्षपछि २६ जनवरी १९५० (२००६-१०-१३) मा विधान सभाद्वारा २६ नभेम्बर १९४९ (२००६-०८-११) मा बनाएको नयाँ संविधानलाई अनुकूलन गरी गणतन्त्र घोषणा गरियो । उक्त संविधान सभाको उल्लेखनीय विशेषता के थियो भने, अगस्त १९४७ पछि गठित उक्त सभा बालिग मतदानको सिद्धान्तमा भएको थिएन । विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देशको संविधान सभाको वास्तविक गठन १६ मे १९४६ (२००३-०२-०३) को बृटिस संसद्को क्याबिनेट मिसनको योजनाअनुसार भएको थियो । त्यहाँ बालिग मतदान वा प्रत्यक्ष चुनावको विश्वव्यापी मान्यताको प्रवधान नै थिएन ।

क्याबिनेट मिसनको व्यवस्थामा प्रादेशिक व्यवस्थापिकाको सांसदहरुको समानुपातिक प्रतिनिधित्वमा आधारित अप्रत्यक्ष चुनावद्वारा संविधान सभाको गठन गरिने भन्ने रहेको थियो । त्यस बेला विद्यमान प्रादेशिक व्यवस्थापिकामा सीमित बालिग मताधिकारको आधारमा चुनिएका सांसदहरुको संख्या भारतको जनसंख्या ३० करोडको झन्डै २४ प्रतिशत समावेश थिए । विधान सभाको लागि प्रत्येक १० लाख जनता बराबर एकजना सदस्य रहने गरिएको थियो । जसको परिणामस्वरुप यस्ता अप्रत्यक्ष सदस्यको संख्या २८८ जना रह्यो । त्यसबाहेक थप ९३ जना रियासतहरुबाट मनोनीत भई आएका सदस्यहरु जोडेर जम्मा ३८१ संख्या बन्यो । ती मध्ये वास्तवमा त्यस्तै २० जनाजति संविधान मस्यौदा कोर्ने काममा सहभागी बने । ती मध्ये स्वतन्त्रता संग्राममा सक्रिय रहेकाहरुको संख्या बढीमा १० जना थियो ।

नेपालको लागि नेहरुको योजना आपैmंमा नवीन एवं मोहक थियो, जसअनुसार संविधान सभा गठनको अवधारणा विश्वव्यापी मान्यताअनुसार बालिग मताधिकारमा आधारित थियो, जबकि नेपाल त्यस्तो देश थियो जहाँ त्यस किसिमको प्रयोग कहिल्यै पनि गरिएको थिएन । सन् १९४६ मा सम्पन्न गरिएको नगरपालिका बोर्डको चुनाव सीमित मताधिकारको आधारमा गरिएको थियो, जसमा महिलालाई मताधिकारबाट वञ्चित गरिएको थियो ।

गहन इच्छाको बाबजुद आफ्नै देश भारतमा नगरिएको र गर्न नसकेको कुरालाई नेहरुले नेपालमा लादेका थिए । शायद राणा प्रधानमन्त्री र राजाले त्यसको विकल्प दिन नसकेकाले त्यसमा सहमत भए । नागरिक अधिकारबाट वञ्चित बनाइएका जनतालाई त्यसभन्दा असल कुरा थाहा हुने कुरा नै भएन । जहाँसम्म नेपाली कांग्रेसको कुरा थियो, उनीहरुसँग यस विषयमा सम्पर्कसमेत गरिएन । १४ जनवरीमा मात्रिकाप्रसाद कोइराला, सुवर्णशमशेर राणा र बी.पी. कोइराला सम्मिलित नेपाली कांग्रेसको एक टोली हस्याङफस्याङ गर्दै दिल्ली पुग्यो । उल्ट्याउन नसकिने, सकिइसकेको कामको साक्षी बन्न र सशस्त्र संग्राम रोक्ने गहन सल्लाह गर्न मात्रको लागि पुगेको थियो । त्यसको दुई दिनपछि निराश र हीन भएका मात्रिकाले युद्धविरामको लागि अपिल गरे ।

गणेशमानले काठमाडौंमा बन्दी अवस्थाबाटै आफ्ना देशवासीहरुलाई सचेत गर्दै नेपाली कांगे्रससँग सल्लाह नगरी राणा प्रधानमन्त्रीको राजनीतिक सुधारबारेको घोषणालाई स्वागत गरेको र नेहरुको योजनामा सहमति जनाएकोमा राजा त्रिभुवनसमेतको विरुद्ध कठोर भाषामा आफ्नो असन्तुष्टि व्यक्त गर्दै पत्र लेखेका थिए । बन्दीगृहबाट उनको त्यो पत्र लुकाई–छिपाई बाहिर लगियो तर सो पत्र पुग्दा ढिलो भइसकेको थियो ।

डा. के.आई. सिंहको प्रतिक्रिया अति उग्र थियो । उनले युद्धविराम गर्ने घोषणाको घोर निन्दा गर्दै हतियार बिसाउन अस्वीकार गरेका थिए । साथै उचित सरसल्लाह नगरी पार्टीद्वारा लिइने कुनै पनि निर्णय अमान्य हुने चेतावनी पनि उनलाई दिइएको थियो । उनको विचारमा हालको त्यो निर्णय पार्टीको सबै सदस्यहरुसँग राम्ररी सरसल्लाह नगरी पार्टीको सशस्त्र क्रान्तिको तथाकथित ‘सैन्य तानाशाह’ ले फरमान जारी गरी पार्टीमाथि जबर्जस्ती लादेको थियो । उनले लक्ष्य प्राप्ति नभएसम्म लड्ने प्रणका साथ उल्लेख्य संख्यामा नेपाली कांग्रेसका कार्यकर्ता र मुक्ति सेनाका जवानहरुको व्यवस्था मिलाई उनको हालको विद्रोह क्याम्प रहेको भैरहवामा एउटा बृहत् -याली निकाले ।

१५ फेब्रुअरी १९५१ (२००७-१०-०४) मा फलमाला लगाएको तर अधिकांश सर्वसाधारण नेपालीहरुको पहिरनमा सजिएको, दायाँ हात उठाएको, मुस्कुराउँदै गरेको र स्वागत गर्न भेला भएका झन्डै एक लाख जनसमुदायको अभिवादन स्वीकार्दै हवाईजहाजबाट ओर्लिंन लागेको बेलाको राजा त्रिभुवनको छाया चित्र धेरै पटक फोटोमा, हुलाक टिकटहरुमा, कभर पेजको अघिल्तिर, पोस्टरहरुमा र कट–आउटको रुपमा समेत छ्यापछ्याप्ती छापिएका छन् । राजा त्रिभुवन भन्नासाथ सम्भवतः यही चित्र जनमानसको अघिल्तिर आउने गर्छ ।

जाँदाका बखत प्रतिज्ञा गरेअनुसार आफ्नो राजा फर्केर आएको देखेर जनताको खुशीको ठेगाना रहेन । उनीहरुले एकै स्वरमा बारम्बार ‘श्री ५ त्रिभुवन जिन्दावाद !’ को नारा ठूलो आवाजमा घन्काउँदै राजालाई फूल, माला, फलफूल अर्पण गरी अबिर, लावा र अक्षता बर्साएका थिए । त्यो ऐतिहासिक दिल्ली भ्रमणको मात्र तीन महिनापछि स्वदेश फर्केका राजा र राजपरिवारलाई स्वदेशमा गरेको हौसलापूर्ण सानदार स्वागत थियो ।

तीन दिनपहिला १२ फेब्रुअरी १९५१ (२००७-१०-०१) मा गणेशमान जेलमुक्त भई बाहिर आउँदा उनको स्वागतमा त्यस्तै होहल्लापूर्ण हर्षोत्सवमा काठमाडौं ओइरिएको थियो । गणेशमानसँगै मुक्त हुने अन्तिम राजनीतिक बन्दीहरुमा तोरण शमशेर राणा र सुन्दरराज चालिसे पनि थिए । गणेशमान र उनीसँगै जेलमुक्त भएकाहरुको काठमाडौं शहरमा शोभायात्रा निकालिएको बेला ‘वीर गणेशमान जिन्दावाद ! हाम्रो नेता जिन्दावाद !’ को नारा बारम्बार जोडसँग लागेको थियो । उनीहरु बसेको जिप अगाडि–अगाडि र त्यसको पछाडि–पछाडि जनसागरको ओइरो लागेको थियो । उनीहरुको शोभायात्राको साथ भएको शहर परिक्रमाको बेला घर–घरको झ्याल, बरण्डा र छतबाट फूल, माला, लावा, अक्षता र अबिर बर्साइएको थियो । यो देशका बहादुर सपुतहरुलाई वास्तवमा गरिनुपर्ने खास स्वागत थियो ।

१८ फेब्रुअरी १९५१ (२००७-१०-०७) मा शाही घोषणामार्पmत राजा त्रिभुवनले राणा तानाशाहीको अन्त्य भएको र उनको उपस्थितिमा नयाँ सरकारले सपथ ग्रहण गरेको बताए । जनप्रतिनिधिको तर्पmबाट नेपाली कांग्रेसलाई पाँचवटा मन्त्रालय दिइयो । राणा प्रतिनिधिको तर्पmबाट चारवटा मन्त्रालयसमेत मोहन शमशेरलाई पूर्ववत् प्रधानमन्त्री र परराष्ट्र मन्त्रालय दिइयो । यो लंगडो र अन्धोको अल्पसमयको मिलिजुली सरकार थियो ।

मनोनीत जनप्रतिनिधिहरु प्रशासकीय अपरिपक्वताको कारण लंगडा थिए भने सत्ताशक्ति साझेदारी गर्नुपरेकोमा प्रचण्ड रिसको आवेगमा राणाहरु अन्ध थिए । केही कट्टरपन्थी राणाहरुले उनीहरुका उपद्रयाहा खुकुरी दलमार्पmत समाजमा आतंक र अव्यवस्था पैmलाउने असफल प्रयास गरेका थिए । यसलाई जनसचेतकहरु र राजा स्वयंले उठाएका उपायहरुले निष्प्रभाव पारेको थियो । अन्तत्वगत्वा बेखुशीको मिलिजुली सरकार नौ महिनाको छोटो समयमा नै तुहियो । त्यसपछि नेपाली कांग्रेसको एकलौटी सरकारको गठन भयो ।

डा. के.आई. सिंहले जनवरी १९५२ मा सिंहदरबारलाई केही समयको लागि कब्जमा लिए । छोटो समयको लागि राणाको त्यस भव्य दरबारलाई आफ्नो सरकारी सचिवालय बनाए । त्यसपछि उनी तिब्बततिर भागे । त्यहाँबाट उनलाई बेइजिङ लगियो । उनको गैरउपस्थितिमा स्थिर सरकारको बाटो खुल्ने आशा गरिएको थियो तर विभिन्न दलहरुबीच र जनक्रान्तिका अग्रजहरुको आपसी गलफती (कचिङ्गल) ले सरकार अस्थिर नै रह्यो ।

स्वाधीनताका समस्याहरु बढी नभए तापनि त्यो समय पराधीनताको जत्तिकै पेचिलो र पीडादायी नै रह्यो । त्यस्ता पीडा र दबाबको कारण राजाको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन पुग्यो । जुरिचमा राजा त्रिभुवन मुटुको व्याधिसँग परास्त भए । राजा त्रिभुवनको सम्झनामा जुरिचको सिटी अस्पतालमा राखिएको एउटा ग्रेनाइटको शिलालेखमा १३ मार्च १९५५ कुँदिएको छ ।

(विक्रम संवत् २००७ साल शीर्षकको ऐतिहासिक लेख समाप्त)

प्रतिक्रिया दिनुहोस्