राजनीतिक भूकम्पको त्रास



करिब एक महिना लामो प्रतीक्षापछि नेकपा एकीकृत समाजवादीका नवनियुक्त चार मन्त्री र एक राज्यमन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिनपाए ।

पार्टीले पुराना मन्त्रीलाई विस्थापित गर्दै नयाँ अनुहार ल्याउन निर्णय गरेको लामो समयसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सिफारिस स्वीकार नगरिदिएका कारण एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निकै असजिलो परेको थियो । नयाँ नामावली सार्वजनिक भएको तर पुरानाले पद छोड्न नचाहिरहेको तानातानको अवस्थाले नेपाललाई पार्टी जोगाउन नै मुस्किल परेको प्रष्ट अनुभव गर्नसकिन्थ्यो ।

जीवनराम श्रेष्ठ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी–सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शेरबहादुर कुँवर– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीराचन्द्र केसीलाई नियुक्त गरी शपथ खुवाउने काम भएको छ । प्रधानमन्त्री देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति तथा कार्य विभाजन गरिएको छ ।

एकीकृत समाजवादी पार्टीको सिफारिस तत्काल कार्यान्वयन नहुनुका कारणमा अन्य राजनीतिक दलमा पनि फेरबदलको चर्चा चलेको र एकैपटक हेरफेर गर्नपाए राम्रो हुने भन्ने आशय पनि हो । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीले आफ्नोतर्फबाट सहभागी मन्त्री परिवर्तन गर्न चाहेपछि प्रधानमन्त्री देउवा सोही रोग आफ्नो दलमा पनि देखिने हो कि भनेर चिन्तित हुनुहुन्थ्यो । तर, कांग्रेस र माओवादीले भने तत्काल मन्त्री हेरफेर गर्न नचाहेका कारण देउवालाई एकीकृत समाजवादीको सिफारिस मान्न सहज भयो ।

मन्त्री हेरफेरमा प्रधानमन्त्रीले ढिलाइ गरेको भन्दै एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसहितका केही नेताले सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै आउनुभएको थियो । एकीकृत समाजवादीले मन्त्रीहरू प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ, विरोध खतिवडा र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाएर नयाँ नाम दिएपछि देउवा दबाबमा पर्नु स्वाभाविकै थियो । एकीकृत समाजवादीका तर्फबाट सुरुमा मन्त्री पठाउँदा नै ६ महिनाका लागि समय तोकिएको बताइएको थियो ।

पहिला पार्टीले जानकारी नदिईकन र संसद्मा मन्त्रालयगत छलफल चलिरहेका बेला फिर्ता बोलाउने निर्णय गरिएको भन्दै एकीकृत समाजवादीका मन्त्रीहरूले असन्तुष्टि राखेका थिए । तर बजेट पास भइसकेको स्थितिमा पार्टी निर्णय मान्न उनीहरू पनि तयार भए । गठबन्धनको अर्को सहयात्री दल जसपामा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मतभेद बढेका कारण त्यस पार्टीले मन्त्री पदमा हेरफेर गर्नसकेन । दुवै पक्ष पार्टी विभाजन हुनसक्ने भन्दै बहुमत आफ्नोतर्फ पार्न सांसद तानातानमा लागेका कारण हालका लागि प्राथमिकता फरक प-यो ।

अन्ततः प्रधानमन्त्री देउवाले अध्यक्ष नेपालको लाज राखिदिनुभएको छ । तरपनि मन्त्री पद गएको पीडा खप्न नसकेर रुने र न्यानो कुर्सी बलपूर्वक छोड्नपरेका कारण आक्रोशित हुने अवस्था भने कायम छ । भूकम्प जारी छ तर त्यसले विनाश भने ल्याइहालेको छैन । पछिल्लो समय सबै दललाई ‘सत्ता नै सिद्धान्त’ को पथमा हिंडेको आरोप लागिरहेको छ । एकीकृत समाजवादीभित्र पनि मन्त्री पद नपाए पार्टी छोड्नेसम्मका घुर्कीहरु हुर्किरहेका छन् । त्यसैले भूकम्पले परिणाम ल्याउने त्रास कायम छ ।

प्रतिक्रिया दिनुहोस्