डुबिसकेका वित्तीय संस्थालाई कसले बचाउने ?



पछिल्लो समय बजारमा बैंकको चर्चा निकै नै चलेको पाइन्छ । बैंक डुब्छ भन्ने कुराले पुरै बजारको माहोल तताएको छ । यतिखेर बैंकमा पैसा निकाल्नेको संख्या ह्वात्तै बढेको छ । यता, बैंकसँग आम नागरिककको पैसा फिर्ता गर्न सक्ने क्षमता छैन । बैंक डुब्छ भनेर चर्चा चल्नु र बैंक रित्तिनु एकैचोटिजस्तो भएको छ । शेयरको मूल्य निरन्तर ओरालो लाग्दा पनि बैंकको बेहाल भएको हो ।

शेयर लगानीकर्ताहरु सडकमा आइसकेका छन् । घरजग्गा र गाडीको बिक्री वितरण ठप्पजस्तै छ । बैंकहरुले यी तीन क्षेत्रमा कर्जा लगानी गर्दा आज उनीहरु नै शिथिल भएका छन् । कित्ताको तीन हजार पर्ने शेयरको मूल्य एक सय रुपियाँमा झरेको छ । त्यसै गरी, आनाको ३० लाख पर्ने जग्गा चार लाखमा बेच्छु भन्दा पनि खरिदकर्ता भेटिँदैनन् । यता, गाडीमा त मन्दी नै छाएको छ ।

१० लाख हालेर किनेको सवारी दुई लाखमा पनि बिक्री हुँदैन । हिजो यी चीजको मूल्य बढेको बेला बैंकले बढी नाफा खानका लागि जथाभावी कर्जा लगानी ग-यो । महँगो भ्यालुएसनको आधारमा लगानी गर्ने काम भयो । तर, अहिले मूल्य त गुन्द्रुकको भाउमा आएको छ । भन्ने हो भने यिनीहरुको भ्यालुएसन नै हुँदैन । यो अवस्थाले बैंकको भविष्य देखाइसकेको छ ।
अधिकांश सार्वजनिक स्थलमा अबको एक वर्षमा धेरै बैंकहरु डुब्छ भनेर कुराकानी भइरहेको सुनिन्छ । उता, कतिले त यिनीहरु भाग्ने अनुमानसमेत लगाइसकेका छन् ।

निजी वित्तीय संस्थाहरुले १५ प्रतिशत ब्याज दिने प्रलोभनमा पारेर जनतासँग पैसा असुलिरहेका छन् । कतिपय बैंकले १९ प्रतिशत ब्याज लिएर यी तीन क्षेत्रमा कर्जा लगानी गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले सवारीसाधन, घरजग्गा र शेयरमा लगानी नगर्नू भनेर कडाइका साथ प्रस्तुत नहुँदा बैंकहरुले मनोमानी चलाएका छन् ।कमाइधमाइ नहुँदा दलालहरु व्यवसाय नै छोडेर भागिसकेका छन् । धितो राखेर कर्जा खाने व्यक्तिले किस्ता तिर्न नसक्ने अवस्था निम्तिएको छ । यता, बैंकले धितो लिलाम गर्दा किन्ने ‘मुर्गा’ पाइरहेका छैनन् । जताबाट पनि बैंकले फसाउने भनेको त जनता नै हो । शेयरको मूल्य घटेर घर न घाटको भइसकेपछि शेयर लगानीकर्ताहरु सडकमा ओइरिएका छन् । कोही अनशन बसेका छन् भने कोही आन्दोलनको घोषणा गर्दै हिँडेका छन् ।

शेयरमा पनि राजनीति छिरेको प्रस्ट देखिएको छ । आफ्नो लगानी डुब्ने डरले उनीहरुले शेयरमा पनि राजनीति गरे । शेयरवालाहरु अनशन र आन्दोलनमा उत्रिँदा अब तीन हजारको शेयर एक सयमा पनि बिक्री नहुने निश्चित छ । यता, सहकारीहरु भागाभाग हुँदा डिपोजिटवालहरुको रुवाबासी चलेको छ । बैंकमा पैसा नहुँदा घरजग्गालाई कर्जा दिने काम ठप्प छ ।

बैंकमा पैसा हुनेहरु आफ्नो पैसाका लागि चनाखो हुनुपर्ने बेला भइसकेको छ । निर्धक्कले बस्ने हो भने खाई–नखाई जोहो गरेको रकम सबै डुब्ला होस् गरौं । हिजो नाफा देखेर ९० प्रतिशत जथाभावी लगानी गर्नुको नतिजा हो । सोच्दै नसोची लगानी गर्नु अहिले आफैंलाई हानिकारक साबित भएको छ । राष्ट्र बैंकले च्याउ उम्रेझै बैंक दर्ता गर्ने अनुमति दियो । भोलि बैंक डुब्यो भने जनता पनि चुर्लुम्मै डुब्छन् भनेर सोचेनन् ।

अर्थविद्हरुले पाँच र हजारको नोटलाई प्रतिबन्ध लगाउनुपर्छ भनेर पटक–पटक माग गरिरहेका छन् । उता, छिटोभन्दा छिटो दुई हजारको नोट ल्याउनुपर्छ भन्दा पनि बेवास्ता भएको छ । अहिले सबै जनताले आफ्नो घरमा पैसा लुकाएका छन् । जसको कारण बैंकमा डिपोजिट रकम बढेन, बरु घटेको छ । बैंकहरु धराशायी बन्दा पनि अर्थ मन्त्रालय र राष्ट्र बैंक के हेरेर बसिरहेको छ ?

अझै पनि साइत कुरेर बस्ने हो भने केही नै नरहला । बेलैमा होस् पु-याऔ । १० लाखको चेक लिएर गयो भने बैंकले साट्न सक्दैन । कि आधा रकम लिएर जान भन्छ, कि त एक–दुई दिन कुरेर बस्नुपर्ने बाध्यता छ । तपाईंकै सहमतिमा ब्याज तोक्नुस् भनेर राष्ट्र बैंकले स्वतन्त्र दिएको छ । यसले थप विकृति ल्याएको छ । बैंकहरुले अझै पनि छाडा हुने मौका पाएका छन् ।
बैंकले ११ दशमलव तीन प्रतिशत ब्याज दिन्छु भन्दा पनि जनताले आफ्नो मुठ्ठी खोलेका छैनन् । खातामा पैसा हुनेलाई ब्याजको लोभमा साउँ नै जाने हो कि भन्ने पिर छ । बरु खाता नहुनेहरु आरामको निद्रा सुतेका छन् । अब बैंकहरुले न कर्जा उठाउन सक्छन्, न नयाँ कर्जा लगानी गर्ने क्षमता नै बाँकी छ । अधिकांश बैंकले खर्च धान्न नसकेको कारण भटाभट शाखा बन्द गरिरहेका छन् ।

यता, कर्मचारी पनि कटौती गरेको पाइन्छ । हिजो विज्ञापन बजाएको पैसा दिन नसकेर पर्खाएर राख्ने बैंकको लिस्ट पनि यत्तिकै छ । यसमा सञ्चार क्षेत्रले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने स्थिति आएको छ । आफूले जिन्दगीभर रगत–पसिना गरेर कमाएको पैसा सोचविचार गरेर मात्र जम्मा गरौं । पहिलेको जस्तो निर्धक्क भएर पैसा राख्ने दिन गइसकेको छ । अहिले पनि बैंकहरुले सवारीसाधनको एलसी खोलेर कर्जा दिइरहेका छन् ।

यस्तो अवस्था देख्दादेख्दै पनि उनीहरुको चेत खुलेको छैन । आधाभन्दा धेरै त सडकमा आउने निश्चित छ । यतिले पनि नपुगेर घूस र सेवाशुल्कका निम्ति जथाभावी क्रियाकलाप गर्नु साच्चै लज्जास्पद विषय हो । बैंककै कारण लाखौं जनता सडकछाप हुने देखिन्छ । सरकारले अझै पनि हेलचेक््रयाइँ गरेर हात बाँधेर बस्ने हो भने अझ कति डुब्ने हुन् ? यसको अड्कल लगाएर साध्य छैन ।

बैंकको आम्दानी शून्य भइसकेको छ । कर्जा लगानी गर्न पैसा छैन । बैंकको नाफा घट्यो तर खर्च त घटेको छैन । बरु, थप खर्च बढेको छ । घरभाडा र कर्मचारीलाई तलब दिन नसक्ने स्थितिमा बैंकहरु पुगिसकेका छन् । कतिपय कर्मचारीहरु विगत तीन महिनादेखि तलबविहीन छन् । यस्ता कुराहरु बाहिर नजाओस् भनेर बैंकहरुले निकै नै सतर्कता अपनाएका छन् ।हिजो सर्वसाधारणलाई ठगेको र सडकछाप बनाएको पाप भर्खरै कराउँदै छ । सीधासाधा जनताको धितो राखेर थोरै कर्जा दिने अनि तीन किस्ता नतिर्दा भएको सबै जेथो लिलाम गरिदिन्थे । हिजो जनतालाई ठगेर नाफा खान्थे तर अहिले ठग्न नपाएपछि रित्तो हात ।

घूस खाएर महँगो ब्याज लिएर कर्जा लगानी गर्नुको परिणाम अब यिनीहरुले भोग्छन् । भन्छन् नि बाँदरले आफ्नो घर पनि बनाउन दिँदैन । बैंकहरु आफू पनि फसे, अरुलाई पनि फसाए ।दलालीहरुले पनि रातारात शेयर, गाडी र घरजग्गाको मूल्य बढाए । मूल्य बढाउने नै दलाली हुन् । यिनीहरु नै भागिहाले । अब मूल्य कसले बढाउँछ ? बैंकले बढाउन सक्छ ? अब कि बैंक मूल्य बढाउन दलाली बन्नुप-यो, कि आफ्नो गल्ती स्वीकार्दै डुब्नुप-यो । अन्य विकलप केही पनि छैन । कतिपय बैंकका सीईओले राजीनामा दिइसकेका छन् । चेयरम्यानहरुले जिम्मेवारी छोड्ने घोषणा गरिसकेका छन् ।

बैंकभित्रका कुराहरु बाहिर आँउछन् कि भन्ने डर यिनीहरुलाई छ । उता, कर्मचारीलाई त यिनीहरुले थुरथुर बनाएर राखेका छन् । जागिरबाट निकाल्ने हो कि भन्ने डर कर्मचारीमा छ । जसको कारण जति घोटाला भए पनि बैंकहरुले बाहिर ल्याउँदैनन् । गुजारा चलाउनका लागि पनि सबै कुरा थाहा पाउँदापाउँदै लुकाएर राख्नुपर्ने बाध्यता छ ।

– अनुसा थापा, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्