राष्ट्रिय स्वतन्त्र पार्टी: संसद् छिर्ने अचुक अश्त्र



अङ्ग्रेजीमा एउटा भनाइ छ– ‘टाइम एन्ड टाइड नो वेट्स फर अ म्यान’ अर्थात् ‘समय र पानीको छालले मानिसलाई पर्खंदैन ।’ आगामी नेपाली राजनीतिका लागि यो भनाइ सत्य साबित हुने तर्खरमा छ ।

यो चुनावी माहोलको वर्ष हो । कोभिड पूरै हटी नसककेको र आर्थिक गतिविधिले राम्रो पखेटा चलाई नसकेको प्रतिकूल अवस्थामा देशले दुई–दुईवटा चुनाव सम्पन्न गर्ने आँट गर्नु आफैँमा ठूलो कुरो हो । चुनावी सामग्री र रकम सहयोग नलिईकन स्थानीय चुनाव एकै कार्य तालिकामा सम्पन्न गर्नु दक्षता वृद्धिको उदाहरण हो । यसका लागि चुनावसँग सम्बन्धित सबै पक्षहरू साधुवादका पात्र छन् ।

हरेक मानिस र संघसंस्थाका आफ्ना नीति, विचार, गन्तव्य र व्यवहारहरू हुन्छन् र तिनीहरूमा जीवन भेटिन्छ । जीवन नहुने संयन्त्रहरू मृतप्रायः भई इतिहासका गर्तमा हराउँछन् । स्वगतिमा चलायमान हुने र संसारका सबै तत्वमा समान तवरले प्रस्तुत हुने बृहत् तत्व समय हो । समयसँग अनुकूल भएर चल्न नसक्ने व्यक्ति र संघसंस्थाहरू शनैः शनैः लोप हुन्छन् । विश्व इतिहासका ऐतिहासिक दृष्टान्तले भलिभाँती यही कुरा देखाउँछन् ।

गएको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूले देशैभरिबाट करिब ४० भन्दा बढी स्थानहरूमा विजयश्रीका माला पहिरिएपछि सो परिणामबाट उत्साहित हुँदै आउँदो संसदीय र प्रादेशिक चुनावमा स्वतन्त्र उम्मेदवारहरू देशैभरिबाट उठ्ने ऐलान गरिरहेका छन् । हामीले विभिन्न पद र ओहोदामा मतदानद्वारा पु-याएका नेताहरूले देश, काल र परिस्थितिबमोजिम कामहरू गर्न नसकेपछि युवा र जोशिला मानिसहरूको नाम झट्ट उम्मेदवारका रूपमा सुन्दा जो कोहीलाई पनि देशमा क्रियाशील पुराना विचारका पार्टीप्रति वितृष्णा बढ्छ ।

बिस्तारै चर्चामा आएका स्वतन्त्र उम्मेदवारहरूले संघीय र प्रादेशिक चुनावमा उठेर विजय हासिल गर्लान् भन्ने आश लाग्छ तर जित्नका लागि धेरै माथापच्ची गर्नुपर्ने आङ्कलन गरिएको छ । तर यसो भनेर कोही उम्कनेवाला छैनन् । समय कसरी आउँछ-जान्छ, त्यो कसैलाई हेक्का नहुन सक्छ भन्ने कुरा गएकोे स्थानीय निर्वाचनका बेला देखिएका विविध परिघटनाहरूले गज्जबले पुष्टि गरे ।

काठमाडौँमा बालेनको सानदार विजय हुने रहेछ, एमाले मेयरका उम्मेदवार तथा राजनीतिवाज कमरेड केशव स्थापितको चुनावी हङ्कीडङ्की हेर्नलायक थियो । उनले बालेनलगायतका उम्मेदवारहरूलाई लक्षित गरी बोलेका कुराहरू, तमाम नारीहरूप्रति प्रकट गरेका स्वरादि भावभङ्गिमाहरू र मतदाताहरूलाई गरिएका अन्डर स्टिमेटहरूले गर्दा उनी स्वतः आफैँ हारको भड्खालामा जाकिएकै हुन् । ‘व्यक्ति स्वयंमा आफैँ आफ्नो शत्रु र मित्रु दुवै हो’ भन्ने कुरा उनका लागि हारपछि स्वतः प्रमाणित भयो ।

अब मुलुक क्रमशः संघीय निर्वाचनतर्फ डोहोरिँदै गएको छ । त्यसैले युवा अनुहारहरू अहिलेबाटै आफू उठ्ने स्थानको ऐलान गर्न थालेका छन् । जित–हार पछिका कुरा हुन् । कुनै पदमा जानका लागि उम्मिद राख्न पाउनु जोसुकै नागरिकको संवैधानिक अधिकारको कुरा हो, त्यसलाई संविधानले सदा रक्षा गर्छ ।

करिब–करिब दलीय सिन्डिकेटले लोकतन्त्रको राजनीतिक बजार छपक्कै ढाकेका बेला ‘बारी न बिरुवा नौ मुरी तोरी’ भनेझैँ अहिले जो–जो स्वतन्त्रहरूले आउँदा चुनावमा आफू उठ्ने ऐलान गरिसकेका छन् तिनको लोकप्रियता के–कस्तो छ भन्ने कुरा चुनावपछि मतगणनाका बेला खोलिने बाकसले विनाभूमिका भटाभट बताउँछन् । अतः अहिले कसैलाई मन पराएकै भरमा देवत्वकरण र कसैलाई मन नपराएकै भरमा दानवीकरण गरेर उचालपछार गर्नु हतारको निर्णय हुनेछ ।

‘मान्छेमा छट्पटी, हुट्हुटी, वितृष्णा, निराशा र व्यग्रताको चरमता हेर्दा र सुन्दा लाग्छ– भविष्यमा कस्तो राजनीतिक शक्ति र प्रवृत्तिको जन्म हुन्छ भन्न सकिन्न तर सन् २०१० को दशकको भारतजस्तै वि.सं. २०८० को दशक नेपलमा कांग्रेस–कम्युनिस्ट युगको पतनको दशक हुने सम्भावनाचाहिँ तीव्र छ’ –राजनीतिक विश्लेषक डम्मर खतिवडा अहिलेका संसदीय पार्टीहरूको काम गराइको तौरतरिका, तिनका नेता भनाउँदाहरूका बेतुकका बोेली र समाजमा देखिने चारित्रिक व्यवहारबाट विरक्त भएर यस्तो लेख्छन् ।

भनेपछि आम ‘ले–म्यान’देखि उच्च बौद्धिक र राजनीतिक विश्लेषकहरूले समेत यस्तो प्रकल्पना गर्न थालेपछि नेपाली राजनीतिले आउने चुनावबाटै ‘यु टर्न’ लिन खोज्या हैन भन्ने खालका जिज्ञासाहरू यतिखेर विभिन्न कोण÷प्रतिकोणहरूबाट गर्न सकिन्छ । के थाहा, हामी विष्फोटको भुमरी सन्निकट छौं या वितृष्णारुपि भुसको आगोमाथि बसेर रनक्क रापिएका हौं । आज हरेक मानिस विद्रोहको नायक आफैँ हुन खोजिरहेको भान हुन्छ । देशीय परिवेशले अझ त्यसमा घिउ थप्ने काम गरेको छ । खेतीपातीका बेला किसानसँग मल नहुनु, नयाँ शैक्षिक सत्रमा विद्यार्थीका हातमा पाठ्यपुस्तक नहुनु, गृहिणीहरू भान्सामा पस्दा दैनिक उपभोग्य वस्तुहरू खरिद गर्न सक्ने नहुनु, बजार महँगीको दुन्दुभी बजाउँदै एकोहोरो सगरमाथाको शिखरतर्फ लम्कनु र दैनिक जीवनमा चौतर्फी प्रभाव पार्ने पेट्रोलियम पदार्थहरू हप्ता–पन्ध्र दिनमा लिटरको बीस–तीस रुपियाँका दरले बढ्नु अनि यी सब ‘हट केक’ विषयहरूमा कुनै राजनीतिक पार्टीका नेताहरूले गतिलोसँग कदम चाल्नका लागि सरकारलाई चरम दबाब दिन नसक्नु नै अहिले मञ्चमा देखिएका स्वतन्त्र उम्मेदवारहरूले खोजेको राजनीतिक स्पेस क्रमशः आफैँ बन्दै जानु हो ।

यसै बीच सञ्चारकर्मी रवि लामिछानेले गएको मङ्गलबार काठमाडौँको राष्ट्रिय सभा गृहबाट आफ्नो संसदीय उम्मेदवारी देशको कुनै पनि संसदीय क्षेत्रबाट हुने सगर्व घोषणासाथ पुराना राजनीतिक पार्टीका नेताहरूमध्ये एकजनालाई आफूले रोक्ने र बाँकी अन्यहरूलाई तपाईंले रोक्नुपर्नेछ भनेर उपस्थित समर्थकहरूतर्फ औंलो तेस्र्याई जोशिलो भाषण गरे । लामिछानेले सो कार्यक्रमबाट सार्वजनिक गरेका धेरै कुराहरूले युवा, बेरोजगार, वैदेशिक कामदार र लोकतन्त्रमा सिस्टम डेलिभरी चाहने नागरिकहरूलाई प्रत्यक्ष सम्बोधन गर्दै दिमाग उद्वेलित गर्ने भाषण गरे ।

सोही समारोहका विश्लेषण गरेर हेरेका खण्डमा उनले किसानका लागि मल, विद्यार्थीका लागि पुस्तक, बजार भाउको अक्कासिँदो प्रवृत्ति र पेट्रोलियम पदार्थको भाउ घटाउने सन्दर्भमा एक शब्द पनि खर्च गरेनन् । त्यो सुन्दा यस्तो लाग्थ्यो– ‘मानौं रविहरूसमेत जमिनी यथार्थमा नटेकेर हावामा महल बनाउने सुरसार गर्दै छन् ।’ सबैलाई ‘चट मगनी फट् सादी’ चाहिएको छ भनेझैँ तुरुन्तातुरुन्ती सांसद भएर बानेश्वर पुगी रोस्ट्रमबाट चिच्याउने अधिक मन छ तर कसरी आम जनताको मन व्यावहारिक तबरले जित्न सकिन्छ र यही सिस्टमभित्र कलात्मक तबरले खेलेर ‘जनताराज’ ल्याउन सकिन्छ भन्दै मेची–कालीलगायत तराई–मधेस–हिमाली दूरदराजका गाउँमा भएका तमाम निरीह, निमुखा र पछि परेका आम जनसमुदायका अपार दुःखलाई समाधान गर्ने अचुक उपाय खोजेको भेटिएन ।

अझ उनको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नामकरण नै विवादमा आयो । पार्टी घोषणालगत्तै उनले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिए । रमाइलो कुरा, स्वतन्त्र हुन पाउने नागरिकको संवैधानिक अधिकारमाथि शब्दका पहलमान रविले बन्देज गरिदिएका छन् । स्वतन्त्र शब्दलाई उनले पार्टी नामका रुपमा प्रयोग गरेर देशैभरिबाट उठ्ने र जित्ने जोसुकै उम्मेदवारहरूको मत उनको पार्टीको पोल्टामा जाने र त्यसले उनलाई समानुपातिक तर्फबाट संसद् छिराउने कुरामा पक्का छन् ।कुनै रेस्टुरेन्टमा खाना खान गएको ग्राहकले रेस्टुरेन्टको काउन्टरमा गएर वाइफाईको पासवर्ड माग्दा कर्मचारीले ‘बाई अ कोक प्लिज’ लेखेको देखाइदिँदा हुस्सु ग्राहक पटक–पटक कोक किन्न बाध्य भएको विज्ञापन यहाँ रविले स्वतन्त्र शब्दको हुर्मत लिएर पार्टी खोलेकै घटनाबाट शाब्दिक बखेडामा परेको छ ।

बडेबडे भाषाशास्त्रीहरू यतिखेर माथापच्ची गरिरहेका छन् ‘स्वतन्त्र’ शब्दलाई रुपगतरुपमा लिने या सारगत ? ठाउँको नाम नै ‘अनामनगर’ भएको यो देशमा ‘स्वतन्त्र’ शब्द पार्टी नामका लागि ब्रान्ड हुन किन नसक्ने भन्ने तर्कसमेत यतिखेर बर्खामासमा पानी परेपछि उम्रने च्याउसरह भररर उमे्रका छन् ।‘स्वतन्त्र शब्द चयन गर्न सकिन्छ, अहिलेसम्म सो शब्दबाट कुनै राष्ट्रिय पार्टीको नामकरण नगरिएकाले शब्द चयनको संवैधानिक अधिकार रविलाई प्राप्त छ । विदेशमा यस्ता प्रयोग पाइएका छन्’ भन्ने कित्ताका बुद्धिजीवीले तर्क गरेका छन् ।

त्रिभुवन र अन्य विश्व विद्यालयहरूबाट सम्बन्धन तथा स्वीकृति दिइएका हरेक क्याम्पसहरूमा विविध राजनीतिक दलका भ्रातृ संगठनको प्रतिनिधित्व हुने गरी विद्यार्थीहरूले संगठन निर्माण गर्दा ‘स्वतन्त्र विद्यार्थी युनियन’ र कम्युनिस्ट पार्टीहरू निकट विद्यार्थी संगठनहरूले राखेको नाम ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन’ ‘अनेरास्ववियु’ या (क्रान्तिकारी) ‘अखिल क्रान्तिकारी’ भनेर नामकरण गर्न हुने रविका हकमा पार्टी नाममा ‘स्वतन्त्र’ राख्न किन नहुने भन्ने प्रश्नसमेत बहसका निम्ति विभिन्न प्लेट फार्महरूमा छरिएका छन् ।

नेपालमा कुल मतदाताको ७० प्रतिशत मत युवाहरूको छ । त्यही आङ्कडा हेर्दै पुरानाहरूसमेत सामयिक सुधार गर्दै आफ्नो भोटबैँक बचाउने ध्याउन्नमा छन् । केही दिनअघि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विदेशमा रहेका नेपालीहरूलाई भोट दिलाउने व्यवस्था गर्न विद्यमान ऐनमा आवश्यक संशोधन गर्ने सिलसिलामा छलफल गर्न निर्वाचन आयोग पुगे । नेपाली कांग्रेस यतिखेर प्रवासी नेपालीको सेम्पेथी लिन आतुर छ । वैकल्पिक राजनीतिको स्पेस देखेरै बाबुराम भट्टराई, रवीन्द्र मिश्र र उज्ज्वल थापाहरूले एक दशकअघि क्रमशः नयाँ शक्ति, साझा र विवेकशील नेपाली पार्टी खोले । विकल्प दिन मुख्य कुरा विचार, व्यवहार र नागरिकलाई सुविधा हुने कार्यक्रम नेपालीले खोजे । यस्तो अवस्थामा उदाउने वैकल्पिक शक्तिहरूको विगत असफल र भविष्य चुनौतीपूर्ण देखियो ।

प्राध्यापक लोकराज बराल लेख्छन्– ‘संसारमा वैकल्पिक शक्तिका नाममा विभिन्न व्यक्ति र दलहरू ‘वेभ’ लिएर आउने गर्छन् । धेरैजसो आउने–जाने मात्रै भएका छन् । यस्ता शक्तिहरू कमै मात्रामा सफल भएका देखिन्छन् । सफल हुनुका पछि कस्ता व्यक्ति आएका छन् भन्नेले अर्थ राख्छ । राजनीतिको वितृष्णालाई कारण बनाएर नै वैकल्पिक शक्तिहरू उदाउने गरेका छन् ।’ यो विश्लेषणले आगामी भविष्यको मार्गचित्र कस्तो हुनुपर्ने भन्ने द्योतन गर्छ । सबैलाई चाँडै केजरीवाल हुन मन छ तर केजरीवालका पछि अन्ना हजारेजस्ता असिम त्यागी व्यक्तित्वको हात थियो भन्ने धेरै कमलाई ज्ञात छ ।

चुनावमा उम्मेदवार हुने र जमानत जफत भएपछि चर्चाबाटै सटकदम हुने ‘चाउचाउ उम्मेदवारहरू’ समाजलाई चाहिएकै होइन । यहाँ लोकतन्त्रको आदर्श बचाउँदै सिस्टम डेलिभरीमा न्याय, समानता र सरलताको खोजी गरिएको हो । नेपाली राजनीतिमा उदाउन खोजेका नयाँ रवि र रविजस्ताहरूले कम्तिमा यी कुराहरूको ग्राउन्ड रियालिटीमै पुगेर अध्ययन, चिन्तन, मनन र सफल प्रयोग गर्नुपर्ने हुन्छ नत्र उही नेपाली उखान ‘केटाकेटी आए गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानाश’ भनेझैँ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्