नेपालमै पहिलोपटक स्काई ग्लाइडिङ सञ्चालनमा



कुश्मा ।

नेपालमै पहिलो पटक द क्लिफ प्रा.लिले स्काई ग्लाइडिङ एडभेन्चर खेल सञ्चालन ल्याएको छ । विभिन्न एडभेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको कम्पनीले कुश्मामा नयाँ साहसिक खेल ‘स्काई ग्लाइडिङ’ समेत सञ्चालनमा ल्याएको हो ।

 

स्काई ग्लाइडिङका लागि करिब १ सय मिटर लामो डोरीको दुईतर्फ टावर निर्माण गरिएको छ । एउटा टावरबाट अर्को टावर जानका लागि तल्लो डोरीमा स्केट बोर्ड राखेर टेक्ने र शरीरमा हार्नेस बाँधेर क्याराविनरको मद्दतले लठ्ठा (फलामे डोरि) माथी घिर्निमा झुण्डिदै एक टावरबाट अर्को टावरसम्म चिप्लिँदै पुग्न सकिन्छ ।

टावरमा समानान्तर दुई डोरी भएकाले एकै पटकमा दुई जना सँगै खेल्न सकिन्छ । स्काई ग्लाइडिङ खेल्न प्रतिव्यक्ति बाह्र सय लाग्ने छ । उक्त शुल्कमा सेवाग्राहीले थ्री सिक्स्टी क्यामेराले कैद गरेको फोटो र भिडियो समेत प्राप्त गर्ने कम्पनीले बताएको छ ।

एडभेन्चरका पारखी आन्तरिक पर्यटकलाई नयाँ अनुभव दिने उदेश्यले स्काई ग्लाइडिङ सञ्चालनमा ल्याएको द क्लिफ प्रालिका अध्यक्ष राजु कार्की बताए ।

बन्जीको र स्विङका लागि प्रख्यात द क्लिफमा अहिले ११ वटा साहसिक खेलहरू सञ्चालनमा छन् । स्काई क्याफे, हर्स राईडिङ, स्काई चियर, फ्यामिली पिङ, वसिङ ह्याण्ड, क्रेवी ब्रिज, जाइन्ट पिङ निकै लोकप्रिय छन् ।

स्काइ ग्लाइडिङ सञ्चालनमा आएपछि कुल १२ वटा साहसिक खेल सञ्चालनमा रहने कार्की बताउँछन् । उक्त क्षेत्रलाई एडभेन्चर हबका रूपमा विकास गरिएको र भविष्यमा अन्य गतिविधि समेत थपिने उनले बताए।

 

 

प्रतिक्रिया दिनुहोस्