हैजाको हीनता



हैजा प्रदूषण र पछौटे पनको परिचायक हो । कुनै शहर वा बस्तीमा हैजा छ भन्नुको अर्थ त्यहाँ फोहोर छ भन्ने अर्थलाग्छ । फोहोर र रोग भएका ठाउँमा पाहुना वा पर्यटक आउँदैनन् । व्यापार–व्यवसाय हुँदैन ।

एकपछि अर्को समस्या थपिन्छन्, गरिबी बढ्छ । काठमाडौं अहिले हैजा फैलिएका कारण पर्यटकको अनाकर्षणको ठाउँ बन्नपुगेको छ । उपत्यकामा बुधबार थप तीन जनामा हैजाको संक्रमण पुष्टि भएपछि प्रभावितको कुल संख्या पाँच पुगेको छ । काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, कपन, बागबजार र सानेपाका बासिन्दामा हैजा पुष्टि भएको छ ।

महाशाखाले अनुसन्धानका लागि टोली खटाइसकेको, टोलीले रोगको कारण पत्ता लगाउन दूषित पानी र खाना लगायतको गुणस्तरको मापन गरिरहेको, थप हैजा फैलन नदिन सचेत गराउने काम भइरहेको बताएको छ । पहिला काठमाडौंको बागबजारमा बसोबास गर्ने एकै परिवारका दुई जनामा हैजाको संक्रमण पुष्टि भएको थियो । हाल उनीहरू आईसीयूमा रहेको र स्वास्थ्यमा सुधार भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञहरुले बताएका छन् ।

हैजा कोलेरा नामक ब्याक्टेरियाका कारण लाग्नेगर्छ । यो ब्याक्टेरिया रहेको दूषित खानेकुरा खाँदा वा पानी पिउँदा संक्रमण हुन्छ । हैजा लाग्दा चौलानी पानीजस्तो दिसा आउने, लगातार बान्ता हुने, थकाइ लाग्ने, मांसपेशी दुख्ने जस्ता लक्षण देखिन्छन् । यस्तो लक्षण देखिनासाथ वा कडा खालको हैजा देखिए तुरुन्तै अस्पताल जानुपर्ने अस्पतालको सल्लाह छ । बान्ता हुने, सामान्य लक्षण देखिए घरमै जीवनजल पानी खाइराख्ने, झोलिलो खानेकुरा खाने गर्नुपर्छ, सामान्य लक्षणमै हतार–हतार अस्पताल नदौडिन विज्ञहरुको सुझाव छ ।

नेपालमा महामारीको इतिहास भयावह छ । महामारीबाट सुरक्षित रहन संक्रमित व्यक्तिप्रति गरिने व्यवहार अझ डरलाग्दो देखिन्छ । संक्रमितलाई बस्तीबाट अलग्गै राख्ने र घृणा गर्नेगरेको देखिन्छ । बाटाघाटामा भाँजो हालेर बाहिरका मानिसलाई गाउँ अथवा सहर छिर्न दिइँदैन थियो । संसारका हरेक समाज महामारीको त्रासदीबाट गुज्रिएर आएको देखिन्छ । घुमन्ते–फिरन्ते जीवनशैलीबाट मानव समाज कृषि अर्थतन्त्रतर्फ फड्किएपछि महामारी अस्तित्वमा आएको हो । कृषि अर्थतन्त्रमा सबैभन्दा पहिले अग्रसर हुने चीन, पश्चिम एसिया, युरोप आदि मुलुकमा ठूला महामारीका अधिकांश घटना घटेको पाइन्छ । कृषि अर्थतन्त्र र महामारीबीच साइनो रहेको विज्ञहरुको विश्लेषण छ । नेपालमा हैजा र बिफरको महामारी सबैभन्दा बढ्ता फैलिएको पाइन्छ ।

तुलनात्मक रुपमा कम प्रदूषित क्षेत्र मानिएको बुढानीलकण्ठ नगरपालिकामा समेत हैजाका बिरामी भेटिएपछि राजधानीवासीमा त्रास बढेको छ । गत साता दुई जनामा देखिएको यस रोगलाई लिएर आम व्यक्तिमा ‘अपवाद हो, अन्यत्र देखिन्न’ भन्ने मनोभाव काठमाडौंको दक्षिणी क्षेत्र सानेपामा पनि देखिएपछि सम्पूर्ण उपत्यका नै प्रभावित हुनसक्ने त्रास बढ्यो । यद्यपि विगत चार दिन यताको अवस्था हेर्दा यसले महामारीकै रुप चाहिं नलेला कि भन्ने आश गर्नसकिन्छ । तर, हरेक नागरिक स्वयं सजग भएर व्यवहार गर्नुभने आवश्यक छ । स्वस्थकर भोजन र उमालेको पानी सेवन राजधानीवासीका लागि आधारभूत हुनपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्