सडकभन्दा माथि खेलकुद



हेटौंडा । 

हेटौंडा उपमहानगर उपप्रमुख राजेश बानियाँले सडक र पूर्वाधारका काम भन्दा माथि खेलकुद पर्ने बताएका छन् । शनिबार हेटौंडा–७ को किरणचौक टोलमा भएको खेलाडी सम्मान तथा परिचयात्मक कार्यक्रममा उनले वडा, नगर र राष्ट्रलाई चिनाउन पूर्वाधार भन्दा खेलकुद महत्वपूर्ण भएकाले खेलक्षेत्र माथिल्लो स्थानमा रहने बताएका हुन् ।

राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति मकवानपुरले आयोजना गरेका कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख बानियाँले खेलकुदलाई विशेष प्राथमिकतामा राखेर उपमहानगरले नीति तथा कार्यक्रम तयार पारेका बताए । ‘वडा र जिल्लाको परिचयका लागि नियमित गर्ने विकासका काम भन्दा खेलकुद महत्वपूर्ण छ,’ उनले भने । उनले सबै हिसाबले खेलकुद महत्वपूर्ण रहेकाले वडा तहमा आएको सिलिङको केही प्रतिशत बजेट खेलकुदका लागि छुट्याउन वडा अध्यक्षलाई आग्रह गरे ।

‘बजेट निर्माणको समयमा खेलकुद भन्दा माथि पूर्वाधारसहित अन्य विषयलाई राखेर काम गर्ने गरिन्छ । तर, अन्य शीर्षकझैं खेलकुदलाई पनि उपमहानगरले प्राथमिकतामा राखेको छ,’ उनले भने । उपमहानगरले खेलकुदका लागि आगामी आर्थिक वर्षमा प्राथमिकतासाथ बजेटमा पारेको उनको कथन छ ।

कार्यक्रममा सुनसरी र चितवनमा भएको मेयरकप तेक्वान्दो प्रतियोगितामा प्रथमसहित विभिन्न विधामा पुरस्कार प्राप्त गरेका तेक्वान्दो खेलाडीलाई सम्मानपत्र हस्तान्तर गरिएको थियो । कार्यक्रममा तेक्वान्दोको आन्तरिक परीक्षामा उत्तीर्ण भएकालाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्