खेल मन्त्री र आईसीसी प्रतिनिधिबीच भेट



काठमाडौं । 

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा मन्त्री गहतराजले नेपाल सरकारले क्रिकेटको विकासमा ध्यान केन्द्रीत गरी क्रिकेट रंगशाला निर्माणमा लगानी गरेको बताउदै झापा, चितवन, लुम्बिनी, मूलपानीलगायतका स्थानमा पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको अवगत गराए ।

नेपालमा क्रिकेटले पनि फुटबल सरहनै लोकप्रियता हासिल गरेको बताउदै आईसीसीले नेपाली क्रिकेटको विकासमा गरेको लगानीका लागि मन्त्रीले धन्यवाद दिए ।सदस्य–सचिव टंक घिसिङले आईसीसी र परिषद्को दीर्घकालीन सम्बन्धको विकास गर्न क्रिकेट एकेडेमी र टेक्निकल हबको विकास र निर्माणमा सहकार्य गर्नुपर्नेमा जोड दिदै नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न इच्छुक रहेकाले त्यसमा आईसीसीको सहयोग आवश्यक रहेको बताए ।

आईसीसी प्रतिनिधिले नेपालमा क्रिकेटको ठूलो सम्भावना रहेको बताउदै विद्यालयमा क्रिकेटको विकास गर्न सके सरकारको मात्र भर परिरहनु अवस्थाको अन्त्य हुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्