सिद्धान्तविनाको राजनीति र हाम्रो खुल्दुली



देशमा दलहरुले सिद्धान्तविनाको राजनीति गरिरहेका छन् । प्रथमतः माओलाई यहाँ क्रान्तिकारीको रुपमा लिइयो र देश १० वर्षसम्म सशस्त्र युद्धमा होमियो, हजारौँ नेपाली मरे र खर्बौं सम्पत्तिको नोक्सान भयो । अहिले युद्धको नेतृत्व गर्नेहरु कोही खुलेर रुखमा भोट हाल्दै छन् भने रुखमा विश्वास गर्नेहरु हँसिया हथौडामा भोट हाल्दै छन् । यसरी समिश्रण हुनु थियो भने किन सशस्त्र युद्ध गरियो ? यक्षप्रश्न छ ।

देशमा अहिलेसम्म सेनाको इमेज केही बाँकी थियो, एसपीपीको केसमा यो पनि अल्झियो अब, खुलेरै पत्र बाहिर आयो, सात वर्षअघिको । अहिले सबैले भन्दै छन्– होइन यो गरेकै होइन । यस्तै ख्यालख्यालमै टिप्पणीको टालो भिरेर उस्तै ३ अक्षरी शब्द एमसीसी संसद्मै छि-यो । नेपालीमा एउटा उखान छ– खान्न खान्न लोकाचार, खान लाग्यो माना चार । भन्ने एउटा गर्ने अर्को हाम्रो लोकतन्त्रको सुन्दर पक्ष । भर्खरैको बजेटले नै देखाइसक्यो, कृषि क्रान्ति गर्ने भनेर तर कृषिप्रधान देशमा न मल छ असारमा, न बीउ, न सिंचाइ, दुई टिप मल त कसोकसो बाटैमा लुछ्न सफल भएछन् किसानहरु । दलहरुले सिट लुछ्न हुने, किसानले मल लुछ्न किन नहुने भन्ने पनि होला ।

३२ वर्षको इतिहासमा देश पहिलोपल्ट उच्च व्यापार घाटा, अत्तालिने खालको आन्तरिक र बाह्य ऋण अनि पदाधिकारीहरुको सुख–सुविधाका लागि राज्य दोहन कति भएको छ, गणतन्त्र र संघीयताका नाममा मातृभूमिलाई चिथोर्न गाउँ–गाउँ पसेको छ सिंहदरबार ठूलो पेट लिएर र निमुखा नेपाली असह्य पीडा भोग्दै खाडी पसेका छन् । यता पस्ने भनेका विदेशी हुन् कि एमसीसी लिएर पस्छन्, कि एसपीपी, त्यसै भनेका रहेनछन् कम्फोर्ट सरकार भनेर । एमसीसीजस्तै एसपीपी छताछुल्ल भएको छ अहिले, बिमादेखि कर, भन्सार दर रेटमा बिचौलियाहरुको रजगज छताछुल्ल भएजस्तै अहिले र यती, ओम्नी, स्वास्थ्य उपकरणहरु छताछुल्ल भएजस्तै पहिले ।

हालको चुनावमा यही देखियो– हँसिया हथौडामा कंग्रेसले भोट हाल्यो, रुखमा भोट हाल्ने ए समाजवादी, राजा र धर्म भन्ने सूर्यमा छाप हान्ने राप्रपा, हलोमा भोट हाल्ने एमालेलाई नकचरो र सिद्धान्तविहीन नभने के भन्ने ? वडामा पराजित देउवा, वडामै पराजित झलनाथ र राजेन्द्र महतोहरुले देशको नेतृत्व लिएका छन्, लोकतन्त्रमा परमादेशीय सरकार छ, यिनै देउवाले लोकतन्त्रलाई दरबारमा बुझाएका थिए पहिले । देशमा चुनाव भइरहँदा र स्थानीय तहको नेतृत्व कांग्रेसले लिइरहँदा पनि अनौठा घटनाहरु भइरहे, मत गणनामा रामेछापमा हवाइफायर, मतदानपूर्व काठमाडाैंमा सिलिन्डर बम विस्फोट, उदयपुरको कटारीमा गोली चली एक व्यक्ति ठहरै भए । चुनावको विजय जुलुस निकाल्दा दार्चुलाको गोकुलेमा गाडी दुर्घटनामा ३ जना मरे ।

विजय जुलुसमै करेन्ट लागेर सर्लाहीमा २ जनाको ज्यान गयो । भोट हाल्न जाँदा स्याङ्जामा १४ जना गाडी दुर्घटनामा मरे । रुपन्देहीमा उम्मेदवारकै घरमा बम विस्फोट भयो । संखुवासभामा मतदान केन्द्रमा बम विस्फोट, तनहुँमा उम्मेदवार चुटिए, त्यो पनि पूर्वगृहमन्त्रीकै आफन्त, दलकै विवादमा गोर्खामा गोली चल्यो, ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध, ६ वटा मतदान केन्द्रको चुनाव रद्द, २ दर्जन त अश्रू ग्यास प्रहार, वैतडीमा मतदाता एक वृद्धको मृत्यु, दोगड केदारमा अर्का वृद्धको मृत्यु, सवारी ठक्करबाट मतदान गर्न जाँदा अर्का एकको मृत्यु, निर्वाचन अवधिभर धेरै घाइते, मतदान स्थल अपांग मैत्री नभएको, खानेपानीको अभाव, लामो लाइन बस्नुपर्ने अनेकौँ समस्या देखिए यसपालिको चुनावमा ।

कतै हवाई फायरले मतदाता त्रसित भए भने ७७ मतदान केन्द्रमा चुनाव नै स्थगित भयो । मानव अधिकार आयोगले निरीक्षणका लागि ४५ वटा टोली पठाएको भन्यो । एमालेले भन्यो, सत्तारुढ गठबन्धनले हिंसा भड्कायो । सरकारका देउवाले भने, चुनाव शान्तिपूर्ण भयो । तर जे भयो अति भयो, अति महँगो भयो चुनाव । भारतमा एक भोट बराबर ५–६ सय सरकारी खर्च हुने गर्छ, यहाँ ५ हजार लगभग सरकारी प्रतिएक भोट खर्च । लोकतन्त्रको उपहार । गठबन्धनका माधवकुमारले रौतहटमा बेइज्जत सहनुपरेको छ भने उनले पनि भित्तो पुग्ने गरी गाली गरे ।

उनले आप्mनै पुख्र्यौली दलका शत्रु ओलीप्रति कटाक्ष पनि गरे । छोरी जिताउन गृहमन्त्रीको चितवन भ्रमण, उमेश श्रेष्ठहरुले पुगेन आप्mनै दलका जगन्नाथ हराउन प्रधानमन्त्री आफैं गए प्रचण्ड–पुत्रीलाई भरतपुर बुझाउन, के भएन ? सबै थरी भयो देशमा । काठमाडौँमा गणेशमान ससुरा र प्रकाशमान पतिको विरासत बचाउन प्रयास भयो, मानौँ लोकतन्त्रमा परिवारवाद हाबी हुनै पर्ने रहेछ, देउवा पत्नीले त बजेट रोक्नेसम्मको कुरा गरेको प्रचारमा आयो ।भारतमा लोकतन्त्र छ, नेतृत्व लिएका मोदीले आमाको पाउ धोएको दृश्य देखिएको छ, श्रीमती घुमाएका छैनन्, तस्वीरमा श्रीमतीको ठाउँ कहीँ देखिन्न, तर श्रीमती सँगै लिएर हिँड्ने देउवाले लुम्बिनीमा हात बाँधेर बसे, मोदीले प्रार्थना गरे, सार्वजनिक समारोह त्यो पनि विशिष्ट स्थानमा हात बाँधेर बस्न नहुने सामान्य नियम पनि श्रीमतीले सिकाएकी रहिनछन्, लाजै मर्दो भयो ।

यहाँ श्रीमती, साला, साली, साँढु, पति, पत्नी, सम्धी, गर्लफ्रेन्ड सबैलाई मान मर्यादा चाहिएको छ, सभासद, राजदूत, एमडी पद खालि नभए नयाँ दरबन्दी सिर्जजा गरेर भए पनि गाडी चढ्ने बजेट भएको कार्यालयमा पदस्थापना हुनै पर्छ । यहाँ विदेशी सामानको बजारलाई विकास भनियो । डोजरे असारे विकासलाई पनि विकास भनियो ।

माओ, लेनिन, गान्धीका फोटाहरु भजाइयो, सजाइयो, तर तिनको आदर्श र अनुशासनलाई लत्याइयो । गरिब झन् गरिब भए, भनियो समाजवाद । कोठामा नून छैन, चामल छैन, धारामा पानी छैन । भकारी खालि छ, रोजगारी छैन, राज्यको ढ्कुटीमा हालिमुहाली गरियो । कर धान्नै नसक्ने गरी बढाइयो, निरोगीलाई विदेश पठाइयो, वृद्ध र रोगीहरुले देशको नेतृत्व लिए । उपचार खर्चको केन्द्र सरकारी ढुकुटी त्यो पनि स्वदेशमा होइन विदेशमा उपचार, एयर एम्बुलेन्स, महँगा गाडी, शौचालय, कार्पेट र आलिसान महल, आफन्त नातागोता सबैलाई समेत ।

राजनीति दुहुनो गाई बन्यो । चुल्ठे, मुन्द्रे, डनहरुलाई आफ्नो हनुमान बनाइयो र सडकमा उतारियो, कोरोनाको ख्याल पनि गरिएन । महँगी, बजारलाई छाडा छोडियो, व्यापारघाटालाई तीव्र बनाइयो । विप्रेषणको गलत प्रयोग गरियो । विकास खर्च भएन, चालू खर्च तीव्र भयो । उत्पादन हुने खेतमा पीच सडक, बारीमा डोजर कुद्यो । उर्बर माटो बगायो । बेरोजगारीको सीमा रहेन । पैसा नतिरी कुनै सेवा पाइएन । सडकमा फोहोर उठेन । धारामा पानी आएन, बिल मात्रै आयो । औषधिमूलो नपाएर मान्छे मरे, यता भने शिक्षा, स्वास्थ्य, रोजगारी, आवास मौलिक हक भनेर संविधानमा दरियो, खोक्रो कुरा ।

दलहरुमा मेलमिलाप छ भागवण्डामा मात्र, विचार सिद्धान्त स्खलित छ । छोरी नआए देशमा संकट आउने रे, सत्ताबाट एकछिन् बाहिर भए आपूm सुरक्षित नहुने भएर होला, सत्ता छोड्नै नहुने, भूपूहरुमा यत्रा विधि सुरक्षा विदेशतिर देखिँदैन, खुल्ला हिँड्छ्न् नेताहरु, परिवार पाल्न समस्या भए जागिर खान्छन् वा अन्य कुनै काम गर्छन्, सरकारी ढुकुटी ताक्दैनन् । स्वार्थमा सबै एक हुने तर देश निर्माणमा कोही एक नहुने भएका छन् यहाँ । प्रधान न्यायाधीशले प्रधानमन्त्रीको कार्यकारी प्रमुख पद पाउने अनि सर्वोच्चले प्रधानमन्त्री तोक्ने उही प्रधान न्यायाधीशलाई ठेगान लाउने लोकतन्त्रको देश शायद यहीँ होला । परिवर्तनलाई क्रान्ति भनियो, शक्तिको स्वामित्व परिवर्तनलाई यहाँ क्रान्ति भनियो, नागरिकमा रुपान्तरण भएन, सम्पत्ति कब्जा गर्नेलाई क्रान्ति भनियो ।

माक्र्स, माओ, लेनिनहरुले नेपाल देखेकै छैनन् होला बरु यो देशलाई देख्ने र पढ्ने पृथ्वीनारायण हुन्, तिनको फोटो राख्न सकिएको छैन । विदेशमा अब्बल छ भनेर कुनै प्रणाली यहाँ ठीक हुन्छ भन्ने होइन, माटो नसुहाउने व्यवस्था, एकातिर हुन्छ जनता अर्कैतिर, काठमाडौँमा लौरो अघि सरेर देखायो तर बन्चरे डाँडोले विगतभै बन्चरो देखाउन भने पछि परेन, अब काठमाडौँ फेरि कहिले गन्हाइहाल्छ, मेलम्ची चुनाव नभई उठ्दैन, पछिल्लो स्थानीय चुनावले धेरैतिर त्यहीे देखाएको छ । यहाँ नेता भन्नेहरुले पहिले दल बनाए, देश बनाएनन् ।

बीपीको कांग्रेस कहाँ छ अहिले ? गणेशमान, कृष्णप्रसादहरु अहिले पनि रोएका होलान् । पुष्पलाल, मनमोहनहरुको आचरण र सिद्धान्त के थियो ? अहिले देशमा कम्युनिस्ट भन्नेहरु नै बढी धनी, विलासी अनि आलिसान महल र उच्च सुविधामा छन् । संसदीय व्यवस्था नमानेर माओवादी आएको अहिले तिनैसँग गला मिलाउनु थियो भने देशमा रणसंग्राम किन गरेको ? सबै काम मिलीभगत भएको देखिँदै छ, देउवालाई प्रचण्ड नभई नहुने, प्रचण्डलाई देउवा । यो कति दिनको नाटक हो ? एक्लै पार्टी चलाउन नसके मर्ज गरेर एउटै झन्डा, कार्यालयको व्यवस्था गरे भइहाल्यो, दलको मान्यता नरहने भएपछि बालुवाटार मात्रै भएर पुग्ने हो ?

गठबन्धन भनेको पतनको अन्तिम विन्दु हुन सक्छ, सात सालमा पनि देशमा यति ठूलो समस्या थिएन, देशलाई दलहरुले गिजोलेर भारी संकटमा धकेलेका छन्, कहाँ छ उत्पादन, खाने के ? विदेशीहरुले आफ्ना सामान खपत गराउने थलो देशलाई बनाएको यिनले बुझेनन्, एमसीसी र एसपीपीको रडाको छरपस्ट भयो, कच्चा पदार्थ बेचेर कुन देश समृद्ध भएको छ, त्यो पनि बिजुली आफैंलाई पुगेको छैन, पेट्रोलियम पदार्थको उत्तम विकल्प बिजुली यहीँ खपत गर्ने प्रयास यहाँ भएन । भूटानभन्दा बिजुली यहीँ बढी छ मूल्य, अब त भूटान पनि नेपालको निर्यातक देश भइसक्यो ।

सात सालदेखि परिवर्तन त भयो देशमा, उत्पादन भने भएन । भएका कलकारखाना चपाइयो । यहाँ बौद्धिकताको कुनै मूल्य छैन । युवाहरुले ईष्या गर्लान् भनेर विदेश त्यो पनि खाडी पठाइयो । कसैले धर्मको नाममा व्यापार गरे । कसैले दरबारको नाममा राजनीति गरे । दूध कता मीठो पाइन्छ भन्दै कोठाचोटा चहारे । देशलाई ठूलो धोका भएको छ । धान्नै नसक्ने भारी विदेशीले बोकाएका छन्, यो भारी नबिसाएसम्म जनता हरिकंगाल भइरहनेछन् ।

प्रतिक्रिया दिनुहोस्