नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा ज्वारचन नियुक्त



काठमाडौं ।

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन बिहीबार नियुक्त हुनुभएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गर्नुभएको हो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी अब ज्वारचनले सम्हाल्ने मन्त्रालयले जनाएको छ ।निगमको अप्रेसन निर्देशक रहेका ज्वारचनले वरिष्ठ पाइलटको हैसियतमा न्यूनतम उडान गर्नेगरी जिम्मेवारी पाउनु भएकोबताइएको छ ।

सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई निष्कासन गरिसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारीमाथि छानबिन समिति बनेसँगै निलम्बनमा पर्नुभएको छ ।पछिल्लो समय प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहेका ज्वारचन करिब १३ वर्ष निगमको व्यवस्थापकीय जिम्मेवारीमा समेत रहेकाले उहाँले निगमको अस्तव्यस्त अवस्थामा सुधार ल्याउने अपेक्षा लिइएको छ ।

कोभिड १९ को महामारीका बेला अत्यावश्यक स्वास्थ्य सामग्री ढुवानी गर्ने सन्दर्भमा ज्वारचन अग्रपङक्तिमा रहेको बताइएको छ ।राजनीतिक र आर्थिक विवादमा नपरेका र निगमकै वरिष्ठ पाइलटलाई सरकारले कार्यकारी जिम्मा दिएकोमा आन्तरिकरूपमा कर्मचारीले सन्तुष्टि व्यक्त गरेकोबताइएको छ ।

प्रतिक्रिया दिनुहोस्