पातलेवन भाइनयार्ड वाइनरी विभिन्न चुनौतीको सामना गर्दै अघि बढ्दै



c+u’/ v]tL sf7df8f}F, ( c;f/ M wflbªsf] yfqm] ufpFkflnsf j8f g+ * / j8f g+= !) sf] sfpn]df jfOg pTkfbgsf nflu c+u’/ v]tL ul//x]sf sfpn] legof8{ k|flnsf cWoIf s’df/ sfsL{ . tl:a/ M k|sfz l;njfn÷/f;;

काठमाडौं।

उच्च शिक्षाका लागि डेढ दशकअघि जापान पुगेका व्यवसायी कुमार कार्कीलाई आफ्नै जन्मभूमि नेपालमा रोजगारी विस्तार र कृषि पर्यटन क्षेत्रमा ‘केही गरौैँ’ भन्ने भावना त्यसबेला नै पलाएको थियो ।

निरन्तरको स्वाध्ययन, परीक्षण, मिहिनेत र लगानीबाट कार्कीको त्यो सोचले अहिले साकार रूप लिएको छ । जापानको पर्यटन व्यवसाय छाडेर नेपाल फर्किएका व्यवसायी कार्की अनेक चुनौती मोल्दै स्वदेशकै माटोमा नयाँ उद्योगीका रूपमा उदाउन सफल हुनुभएको छ ।नेपालमा कृषि पर्यटनको विकास र विस्तार गर्ने सोचअनुरूप व्यावसायिक रूपमा अंगुर खेती तथा प्राकृतिक (अग्र्यानिक) वाइन उत्पादन उद्योग खोलेर निर्यातसमेत गर्ने र त्योसँगै जोडिने नयाँ पर्यटनको अवधारणासहित कार्कीले काम गरिरहनुभएको छ ।

नेपालको हावापानी अनुकूल हुने अंगुरका प्रजाति तथा यस खेतीका लागि उपयुक्त स्थानको छनोटदेखि उद्योग स्थापनाका क्रममा कार्की र उहाँको समूहले व्यहोरेका संघर्ष र सफलताका कथाका पानाहरू बढ्दै गएका छन् ।परीक्षणका रूपमा शुरू भएको अंगुर खेती हाल आएर उद्योगसम्म फैलिएर व्यावसायिक सफलतातर्फ उन्मुख भएको छ ।

अंगुर खेतीका लागि जापानबाट विभिन्न प्रजातिका बिरुवाहरू आयात गरी जापानी विशेषज्ञ र अन्य साथीहरूको सहयोग र परामर्शमा व्यवसायी कार्कीले विसं २०६४ मा नेपालको पहिलो भिनयार्ड स्थापना गर्नुभयो । त्यसअघि कार्कीले पर्यटन व्यवसायलाई टेवा दिने र स्थानीय रोजगारी बढाउने लक्ष्य लिएर विसं २०६८ मा थानकोटमा पातलेवन रिसोर्टको स्थापना गर्नुभएको थियो ।

जापानको एक ट्राभल एजेन्सीमा कामसमेत गर्दै विभिन्न कृषि उत्पादन क्षेत्रमा घुमफिरपछि कार्की नेपालमा अंगुर खेतीबारे ओकाइयामा विश्वविद्यालयका प्राध्यापकसँगको सम्पर्कमा पनि पुग्नुभएको थियो ।उहाँले धेरै पानी परिरहने नेपालको एक वर्षसम्मको हावापानीको विवरण जापानी विज्ञलाई दिएर कति उचाइको जमिनमा कुन मौसममा कस्ता प्रजातिका अंगुर खेती गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गराउनुभएको थियो ।

कार्कीले पातलेवनस्थित रिसोर्टकै बारीमा सन् २००७ मा जापानबाट २०० बिरुवा ल्याएर नमुनाका रूपमा अंगुर खेती शुरू गर्नुका साथै यही बिचमा उहाँले फ्रान्स, स्विटजरल्यान्डलगायतका मुलुकमा पनि यसबारे अध्ययन गर्नुभयो । त्यसबाट नेपालमा मनसुनअगाडि टिप्ने गरी अंगुर खेती गर्न सकिन्छ भन्ने पत्ता लाग्यो ।

यी कुराहरू पहिचान भएपछि कार्कीले आफ्नो लगानी विस्तार गर्नुभयो । अहिले यही समूहले व्यावसायिक साझेदार जुटाउँदै धादिङको थाक्रे गाउँपालिका–८ को काउले र वडा नं १० को काउले, धुनीबेंसी नगरपालिका–८ को मछिन्द्रावनमा गरी करिब ४०० रोपनीमा अंगुर खेती गरिरहेको छ ।निकट भविष्यमा तनहुँको घिरिङ गाउँपालिकामा १ सय रोपनी जग्गामा अंगुर खेती शुरू हुँदैछ । त्यहाँ घिरिङ भाइनयार्ड एग्रो रिसर्च सेन्टर प्रालिको स्थापना गरिएको छ ।
अंगुरबाट नेपाली प्राकृतिक स्वादको वाइन बनाउन सकिने र यसलाई विदेशमा समेत निर्यात गर्न सकिने लक्ष्यका साथ कार्कीले विसं २०६८ मा पातलेवन भाइनयार्ड वाइनरी कम्पनी खोल्नुभयो ।

सरकारबाट इजाजत लिएपछि उत्पादनको काम थाल्न तथा इटाली, भारत र जर्मनीबाट मेसिनहरू ल्याउनसम्मका अनेक चुनौती खेप्दै अहिले थाक्रेको काउलेमा उत्पादन केन्द्रको नयाँ भवन निर्माणसहित नियमित काम हुन थालेको छ । उहाँले हालसम्म यस उद्योगमा करिब ५० करोडको लगानी गरिसक्नुभएको छ ।बेर्ना रोपेको तीन वर्षमा फल लाग्ने अंगुरमा हुने किराहरू मार्न आवश्यक पर्ने डरमेक्स केमिकल ल्याउनका लागि उद्योगले चुनौती झेलिरहेको छ ।कम्पनीका अध्यक्ष कार्की युरोपेली मुलुकबाट नेपाल आउने पर्यटकले नेपालमा उत्पादित गोर्खा वियरलाई चाख्न खोजेजस्तै वाइन र जुस उत्पादनमा आफैं अंगुर खेती गरेर त्यसबाट गर्ने पहिलो उद्योग भएकाले यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने विश्वास व्यक्त गर्नुहुन्छ । स्थानीय बजारमा माग बढ्न थालेकाले विदेशी वाइनलाई प्रतिस्थापन गर्न सकिने कार्कीको भनाइ छ ।

नेपालमा वाइन उत्पादन गर्ने कम्पनीहरूले यसअघि भारतबाट समेत अंगुर ल्याउने गर्दथे । रेड र ह्वाइट वाइनको प्रतिबोतल एक हजार २०० पर्छ । यी उत्पादनलाई भारत र पोर्चुगलमा निर्यात गर्न सहज हुने ठानिएको छ ।

विदेशबाट बिरुवा र विशेषज्ञ ल्याएर अध्ययन

यस समूहले व्यवसाय विकास र विस्तार गर्ने सोचले अनुसन्धान गर्ने सिलसिलामा विसं २०७० मा धादिङमा जर्मनी र स्विटजरल्यान्डबाट उन्नत जातका बिरुवा आयात गरी काउले भिनयार्ड शुरू गरेको दुई वर्षपछि धादिङको केवलपुरमा अर्को पातलेवन भिनयार्डको स्थापना गरिएको थियो । यहाँ अहिले ३ सय रोपनीमा २५–३० जातका अंगुर खेती गरिएको छ ।

यी स्थानमा हालसम्म ५० करोडको लगानी भइसकेको छ भने स्थानीय ५० जना स्थानीयवासीले दैनिक ज्यालादारीमा रोजगारी पाउन थालेका छन् । अंगुर खेती र वाइनको गुणस्तरमा विकास गर्नुपर्छ भन्ने सोच लिएर केही रकम तिरेर हामीले स्विटजरल्यान्ड र जर्मनीबाट वाइन विशेषज्ञ झिकाई कामदारहरूलाई अंगुर खेती र वाइनसम्बन्धी तालिम प्रदान गरी गुणस्तरीय उत्पादनमा ध्यान दिएका छौं, व्यावसायी कार्कीले भन्नुभयो ।

रोचक कुरा के छ भने चितवनस्थित कृषि तथा वन विश्वविद्यालयका अध्यापकले नेपालको हावापानीमा व्यावसायिक अंगुर खेती सम्भव नहुने भनेर विद्यार्थी पढाउँदै आएका थिए । धादिङको यो प्रयोग र सफलताले विश्वविद्यालयको त्यो सीमित ज्ञानलाई गलत सावित गरेको छ । अंगुर खेतीसम्बन्धी भारतीय विशेषज्ञ सुनिलकृसन सिन्धेले चार वर्षअघि डोल्पामा आएर यहाँकोे हावापानी, भू–बनोट, माटोसमेत परीक्षण गरेर जम्बो सिडलेक्स नामक कालो अंगुर, सोनाका जातको हरियो अंगुर र ड्रागन नामक फलको खेती उपयुक्त हुने सुझाएका थिए ।

व्यावसायी कार्कीले विदेशमा अंगुर खेती तथा वाइनसम्बन्धी अध्ययनसमेत गरेर नेपालमा मनसुन अगाडि टिप्ने गरी अंगुर खेती गर्नुपर्ने पहिचान गराउनुभयो । यी कुराहरू पहिचान भएपछि उद्योगका भिनियार्ड प्रालिका कार्कीले आफ्नो लगानी र व्यावसायिक साझेदारी जुटाउँदै विसं २०७५ मा ध्रुवकुमार खत्री र जनपाल थापासहितको समूह खडा गरी आधुनिक वाइन सेलरको निर्माण गर्नुभयो ।

नेपालमा उत्पादित एक मात्र आफ्नै बगानबाट फलेको अंगुरले वाइन र जुस उत्पादन गर्ने नेपालको पहिलो उद्योग भएकाले यसले राष्ट्रिय अर्थतन्त्रमा राम्रो योगदान दिनेमा कार्की विश्वास व्यक्त गर्नुहुन्छ । स्थानीय बजारमा माग बढ्न थालेकाले विदेशी रेड र ह्वाइट वाइनलाई प्रतिस्थापन गर्न आफूहरूको उत्पादन समर्थ हुने कार्कीको भनाइ छ । यी उत्पादनलाई छिमेकी मुलुक भारत, चीन तथा अन्य देशहरूमा निर्यात गर्न सहज हुने ठानिएको छ ।

आगामी पाँच वर्षभित्र वार्षिक तीन लाख बोतल उत्पादन लक्ष्य लिएको सो उद्योगले हाल वार्षिक एक लाख बोतल वाइन उत्पादन गर्छ । उद्योगका साझेदार खत्रीले अंगुर खेतीको विस्तारसँगै वाइनको उत्पादन क्रमशः बढ्ने बताउनुभयो । संयुक्त राज्य बेलायतमा काम गरेर स्वदेशमै आर्थिक समृद्धिमा सामेल हुन खत्री र थापा चार वर्षअघि सो उद्योगमा जोडिनुभएको हो ।

व्यवसायका कठिनाइ र सम्भावना

आफ्नो युवावस्थाको लामो समय बलिदान गरी सधैं स्थलमा खटिनुभएका कार्कीले कतिपय सरकारी नीति अवैज्ञानिक र अव्यावहारिक तथा व्यवहार भएकाप्रति दुःखेसो पोख्नुभयो । नेपाल सरकार, अर्थ मन्त्रालयको अन्तःशुल्क नियमावली, २०७६ ले निर्धारित गरेको नयाँ प्रतिलब्धि दर ताजा फलफुल तथा अंगुरबाट वाइन उत्पादन गर्दा प्रतिकेजी फलफुलबाट १२ प्रतिशत अल्कोहलको मात्रा भएको १ दशमलव ६ लिटरका दरले उत्पादन गर्नुपर्ने व्यवस्था गरेको छ । यसले आफ्नो उद्योगलाई प्रत्यक्ष असर परेको भनाइ कार्कीको छ । यस खेतीलाई आवश्यक पर्ने बेर्ना तथा सिफा, छरिसजस्ता सामान विदेशबाट झिकाउँदा कठिनाइ हुने गरेको छ ।

आवश्यक प्ल्याटिक तथा हेलनेट आयातमा महँगो भन्सार शुल्क लगाइएको छ । समयमा मल उपलब्ध नहुनुजस्ता समस्या पनि देखिएको छ ।कृषिमा सरकारी अनुदानको चर्चा धेरै भए पनि त्यो त्यति व्यावहारिकरूपमा लागु नभएका उद्योगका सञ्चालकको अनुभव छ । बैंकबाट लिइने कृषि सहुलियत कर्जाको अवधि पाँच वर्ष कायम गरिएको छ, जुन फलफुल खेतीका सन्दर्भमा लागु हुन कठिन हुन्छ । फलफुल रोपिएको तीन–चार वर्षपछि मात्र उत्पादन शुरू हुने र त्यसको आम्दानी त्यतिबेला मात्र प्राप्त हुने हुँदा दोस्रो वर्षदेखि ऋण फिर्ता गर्न असम्भव हुने कार्कीले बताउनुभयो ।

उद्योगले नेपालको हावापानी सुहाउँदो वाइन तथा टेबल अंगुर (फ्रेस खान सकिने) को प्रजातिको पहिचान गरी उपयुक्त बाँझो जमिनमा खेतीको विस्तार गर्ने र हावापानी अनुकूल प्रजातिका बेर्ना नर्सरी स्थापना गरी बेर्ना उत्पादन गरेर कृषक तथा व्यवसायीलाई बिक्री वितरण गर्ने योजना लिएको छ ।अन्तर्राष्ट्रिय बजारका लागि उच्चस्तरीय तथा अर्गानिक वाइन उत्पादन गरी पर्यटकीय होटल तथा रेस्टुरेन्टका साथै स्थानीय बजारमा बिक्री वितरण र विदेशी वाइन आयात प्रतिस्थापन गर्ने साथै भविष्यमा नेपाली ब्राडिङसहित निर्यात गर्नेसमेत लक्ष्य यो उद्योगले लिएको छ ।

यस्तै वाइनटुर तथा भाइनयार्ड टुर सञ्चालन गरी रिसोर्टको स्थापनासहित अन्तराष्ट्रिय पर्यटक नेपाल भित्र्याई ग्रामीण क्षेत्रमा रोजगारी वृद्धि गर्ने लक्ष्य त छँदैछ ।कृषिप्रधान नेपालमा कृषिका साथै उद्योग, पर्यटन र व्यवसायमा प्रत्यक्ष रोजगारी सिर्जना गरी युवाहरूको विदेश पलायनमा न्यूनीकरण, देशको आर्थिक तथा सामाजिकस्तर उन्नतिमा टेवा दिन आफूहरू सक्रिय रहने कार्कीको भनाइ छ । उहाँले नेपाल सरकार, प्रदेश र स्थानीय सरकारलाई विद्यमान समस्याहरू कृषि बेर्ना झिकाउन, कृषि औजार र औषधि आयातमा सहजीकरण गरिदिन तथा उद्योगतर्फ वैज्ञानिक तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नीति निर्माण र ब्रान्डिङ दर्ता प्रक्रियामा सहजीकरणका लागि आग्रह गर्नुभयो ।

बृहत् कृषिका लागि जग्गा खरिदमा हदबन्दीको सीमा पनि व्यवसायका लागि अर्काे चुनौती बन्ने गरेको छ । हदबन्दी फुकुवा भएर बाँझो सरकारी जग्गा भाडामा उपलब्ध गराउने तथा कृषिको प्रकृतिअनुरूप कृषि ऋणको निर्धारण हुनुपर्ने देखिन्छ । सो समूहले भविष्यमा धादिङमा व्यावसायिक पशुपालन र रिसोर्ट सञ्चालन गर्ने लक्ष्य लिएको छ । सञ्चालक खत्रीले स्थानीय किसानलाई व्यावसायिक अंगुर खेतीमा प्रोत्साहन र सीप तथा प्रविधि सहयोगमा पनि आफूहरूले काम गर्ने बताउनुभयो ।

हालसम्मको अध्ययनबाट नेपालमा ४ सयदेखि एक हजार मिटरसम्मको उचाइमा अंगुर खेती उपयुक्त हुने देखिएको छ । विश्वमा १० हजार प्रजातिका अंगुर रहेकामा नेपालमा सेतो अंगुरतर्फ जर्मनीको सोलासिज र मस्कारिज, ओरिबोन, फ्रान्सको स्याडोनी, रातोतर्फ फ्रान्सको क्याबेनिर, मेर्लोट आदि बढी उपयुुक्त हुने पाइएको छ । सो उद्योगले हाल ४० प्रजातिका अंगुर लगाएको छ । पानी वा असिना पर्दा अंगुरको बोट र फललाई झार्न सक्ने भएकाले माथिबाट कडा खालको जालीले छोप्नुपर्ने यहाँको सिकाइ देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्