समाजकी अगुवा विष्णु ६० वर्षमा १ कक्षामा भर्ना



पर्वत ।

पढ्नलाई उमेरले छेक्दैन भन्ने उखान नै छ, यही उखानलाई साँचो बनाउँदै गाउँमा आमा समूहको अध्यक्ष बनेर समाजका मुद्दामा अगुवाइ गर्दै आउनुभएकी विष्णु गुरुङ्ग अहिले एक कक्षामा भर्ना हुनुभएको छ ।

पर्वतको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालयमा १ कक्षामा भर्ना हुनुभएको हो ।
पर्वतको पर्यटकीय गाउँ चित्रेको पञ्चकोसी आमा समुहकी अध्यक्ष गुरुङ्ग स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा भर्ना हुनुभएको विद्यालयका प्रधानाध्यापक एकनारायण तिमिल्सिनाले बताउनुभयो । विष्णु भर्ना भएसँगै विद्यालयमा वातावरण रमाइलो बनेको र अरू साना उमेरका विद्यार्थीहरू पनि सिकाइको लागि उत्प्रेरित भएको विद्यालयका प्रधानाध्यापक तिमिल्सिनाको भनाइ छ ।

‘सामाजिक अगुवा नै विद्यालयमा आएर भर्ना भएपछि त्यसको प्रभाव समुदायमा पनि परेको छ’ प्रअ तिमिल्सिनाले भन्नुभयो – ‘पुराना पुस्ताका व्यक्तिहरूले अझै पनि अध्ययनमा चासो देखाउनुले समाजमा पठन संस्कृतिको विकास हुने र त्यसले हरेक विद्यार्थीलाई अध्ययनशील बनाएको छ ।’गुरुङ्ग आमा समूहको अध्यक्ष भएर समाज सुधारका धेरै अभियानको नेतृत्व गर्नुभएको छ । आमा समूहकै अगुवाइमा शुरू भएको चित्रे होमस्टे गण्डकी प्रदेशकै उत्कृष्टमध्येको एक हो । उहाँले नमुना हामेस्टे रहेको चित्रेमा आएका धेरै पाहुनालाई खुवाउने, बसाउने र गाएर रमाइलो बनाउने कुराको अगुवाई गर्दै आउनुभएको छ । गाउँलाई बालमैत्री गाउँ बनाउने देखि महिला हिंसाका विरुद्धका अभियान पनि उहाँले चलाउनुुहुन्छ ।

तर, औपचारिक शिक्षाको अभावमा आफ्ना सबै कामहरू अधुरो महसुस भएपछि विद्यालयमा गएर पढ्न थालेको गुरुङ्गले सुनाउनुभयो । नाति नातिनाहहरूका बिचमा बसेर पढ्दा र उनीहरूले पनि रमाएर आउँदा छुट्टै अनुभूति भएको उहाँको भनाइ छ । ‘पढ्ने उमेरमा यसको महत्व नबुझेर पाखपाखै दौडियो’, उहाँ भन्नुहुन्छ– ‘अहिले ढिलो भए पनि पढ्न रमाइलो भइरहेको छ ।’

श्रीमती यो उमेरमा विद्यालय जान थालेपछि उहाँका श्रीमान सुकबहादुर गुरुङ पनि छक्क पर्नु भएको छ । मोदी गाउँपालिका–८ मा दोस्रो कार्यकाल वडाध्यक्षमा निर्वाचित गुरुङ्गले वडाबाट आउँदा श्रीमतीले विद्यालयमा भर्ना भएको सुनाएपछि अचम्ममा परेको बताउनुभयो । यस अघि विद्यालय जाने बारेमा पारिवारिक रूपमा सल्लाह भएको थिएन । तर, शिक्षा आर्जन गर्नका लागि उमेरले केही गर्दैन भन्ने कुरा देखाउन यसले सहयोग पुग्ने विश्वास उहाँको छ ।

प्रतिक्रिया दिनुहोस्