भानुभक्त जयन्तीमा राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता



तनहुँ  ।

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती तीन दिनसम्म मनाइने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले बिहीबार दमौलीमा पत्रकार सम्मेलन गरी राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०९औं जन्मजयन्तीमा राष्ट्रिय स्तरको खुल्ला कविता प्रतियोगिता गर्ने जनाएको छ ।

आदिकवि भानुभक्तको जन्मस्थल प्रचारप्रसारको अभावमा ओझेलमा परेकोले राष्ट्रियस्तरको खुल्ला कविता प्रतियोगितामार्फत् प्रचारप्रसार गर्ने उद्देश्यले असार २८ गते प्रतियोगिता आयोजना गर्ने निर्णय भएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार देशभरका १०० कविले प्रतियोगितामा सहभागिता जनाउने अपेक्षा गरिएको छ । नेपाली भाषामा लेखिएको प्रकाशित नभएको कविता २०० शब्दमा नबढाई युनिकोडमा टाइप गरेकोे हुनुपर्ने उहाँले बताउनुभयो ।

‘कवितामा कसैको व्यक्तिगत चरित्र, राष्ट्र, धर्म, जातजाति र राजनैतिक आक्षेप लगाउने किसिमको हुन हुँदैन, कविता पठाउँदा प्रतियोगीको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर र इमेल स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ, कविता यही असार २० गतेभित्र पठाइसक्नुपर्नेछ र छनौटमा परेका कविले असार २८ गते स्वयम् उपस्थित भई कविता वाचन गर्नुपर्नेछ,’ रानाभाटले भन्नुभयोे– ‘हुलाकबाट आदिकवि भानुभक्त जन्मस्थल विकास समिति भानु नगरपालिका–४, चुँदी रम्घा तनहुँको ठेगानामा पठाउनुपर्नेछ ।’

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुने दुई जनालाई पाँच-पाँच हजार रूपियाँका दरले पुरस्कार प्रदान गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष ऋषिराम पन्थले जानकारी दिनुभयो । यससँगै तीन दिन मनाइने भानुभक्त जन्मजयन्तीमा विद्यालय स्तरीय कविता प्रतियोगिता र भानुभक्तीय रचना वाचन प्रतियोगिता पनि गर्ने उहाँले बताउनुभयो ।विद्यालय स्तरीय कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र सान्त्वना दुई जनालाई एक÷एक हजार रूपियाँका दरले पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।

त्यस्तै, भानुभक्तीय रचना वाचन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वाना हुने दुई जनालाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र सान्त्वना दुई जनालाई एक÷एक हजार रूपियाँका दरले पुरस्कार प्रदान गरिने जनाएको छ ।
दिवसको अवसरमा असार २७ गते स्थानीय मठमन्दिरमा पूजाअर्चना र साँझ दिपावली, २८ गते राष्ट्रिय स्तरको खुल्ला कविता प्रतियोगिता, भानुभक्तीय रामायण वाचन प्रतियोगिता र विद्यालय स्तरीय खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने अध्यक्ष पन्थले बताउनुभयो । असार २९ गते प्रभातफेरि, भानुभक्तको शालिकमा माल्यार्पण, श्रद्धाञ्जली सभा, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम गरिनेछ ।

भानु जयन्तीको अवसरमा भानु नगरपालिकाले प्रत्येक वर्ष असार २९ गते सार्वजनिक बिदा दिँदै आएको छ । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदीरम्घामा आचार्यको जन्म भएको थियो । गण्डकी प्रदेशले पनि राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीमा सार्वजनिक बिदा दिएको छ ।

नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रूपमा परिचित भानुभक्त बाल्मिकी रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । मोतीराम भट्टले भानुभक्तलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, वधुशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपिलाई संग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्