हजयात्रीलाई गृहमन्त्री खाणद्वारा बिदाइ



काठमाडौं । 

गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाणले शुक्रबार बिहान ११३ हजयात्रीलाई बिदाइ गर्नुभयो ।

यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५५५ जनाको कोटामध्य शुक्रबार बिहान अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ गएको हो । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताउनुभयो ।उहाँले हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार हुने बताउनुभयो ।

हजयात्रीलाई बिदाइ गर्न नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ सहितको उपस्थिति थियो ।असार ६ गतेदेखि दैनिक एयर अरेबियाको हवाइजहाजबाट एक टोली हज गर्न गइरहेको थियो । नेपालबाट हजयात्रामा जाने टोलीको साउदीमा जेब्दास्थित महावाणिज्य दूतावासले समन्वयको काम गर्छ ।

महावाणिज्य दूतावासबाट १० जनाको स्वयमसेवकको टोली हजयात्रीको व्यवस्थापनका लागि खटिएको छ । टोलीमा ८ जना डेलिकेट्स् र ३ जना मेडिकल सपोर्ट टीम सहभागी छ । हज यात्रा गरेर प्रत्येक टोली ३४ दिनपछि नेपाल फर्कनेछ ।
मुस्लिम समुदायको पवित्र तिर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्