राम्रा कामले निरन्तरता नपाएमा सडकमा उत्रिने पूर्वमेयरको चेतावनी



काठमाडौं । 

काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा नेपाल भाषा, संस्कृति, सम्पदालगायत विविध क्षेत्रमा भएका राम्रा कामहरूलाई निरन्तरता नपाएमा सडकमा उत्रिने उद्घोष गर्नुभएको छ ।

लहना मिडियाले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । महानगरपालिकाको मेयरको पाँच वर्षको पदावधि गत जेठ ५ गते सकिएपछि पूर्व मेयरको हिसाबले सार्वजनिक रूपमा शाक्यले बोल्नुभएको यो नै पहिलोपटक हो ।यसअघिको कार्यकालमा स्थानीय पाठयक्रम स्थानीय भाषामा पढाउने नीतिअन्तर्गत झिगु येँ देय् म्हसिके (काठमाडौं चिनौं) पाठयक्रम नेपाल भाषामा कक्षा १ देखि ८ सम्म सामुदायिक र संस्थागत विद्यालयमा पढाउन शुरू गरिएको थियो ।

त्यसका लागि शिक्षकशिक्षिका पनि महानगरपालिकाले व्यवस्था गरेको थियो । त्यस्तै, परम्परागत बाजागाजाका गुरुलाई वार्षिक ३० हजार रूपियाँ प्रदान गर्ने, मातृभाषाको पत्रकारिताको विकास, मूर्त र अमूर्त संस्कृति र सम्पदा जोगाउने जस्ता कामलाई निरन्तरता दिनुपर्ने बताउँदै मेयर शाक्यले भन्नुभयो ‘मेरो कार्यकालमा नीतिगत रूपमा लागु गरिएका राम्रा विषयहरूलाई खारेज गरेर नभई भएगरेका राम्रा कामहरूलाई टेकेर अहिलेको जनप्रतिनिधिले अझ धेरै राम्रा काम गर्न सकोस् ।’

आफू पनि सानैदेखि भाषिक समानता, सांस्कृतिक समानताको लागि सडकमा आवाज उठाउने कार्यकता रहेको बताउँदै उहाँले भन्नुभयो – ‘पदमा पुग्नेबितिक्कै आफूले राज्यसँग जुन जुन कुरा माग गर्दै आएको थिएँ, त्यही विषयलाई नीतिगत रूपमा सम्बोधन गर्न आफूले कुनै कसर बाँकी राखिनँ ।’

स्थानीय पाठयक्रम स्थानीय भाषामा पढाउने बन्दोबस्ता उपत्यकावासीले दशकौंदेखि संघर्ष र आन्दोलनमार्फत् अभिव्यक्ति गर्दै आएको भावनालाई उच्च सम्मान गर्दै लागु गरिएको बताउँदै पूर्व मेयर शाक्यले भन्नुभयो ‘त्यसलाई सकिन्छ भने अझ समृद्ध गरेर निरन्तरता दिइयोस् । त्यस्ता धेरै कामहरू छन् । जसले निरन्तरता पाउनै पर्दछ ।’

आफ्नो कार्यकालमा जनताका भावना, माग र एजेन्डालाई सम्बोधन गर्न आफ्नो बलबुत्ताले भ्याएसम्म अधिकत्तम प्रयास गरेको उल्लेख गर्दै अहिले पनि जनताको हितका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’ जनताको सेवा गर्न पद हुनु र नहुने तात्विक अन्तर राख्दैन । पद भनेको अस्थायी हो । हिजो निर्णय गर्ने ठाउँमा थिएँ । अहिले निर्णय कार्यान्वयनका लागि सहजीकरण गर्ने, परिआएमा रचनात्मक दबाब दिन सक्छु ।’

प्रतिक्रिया दिनुहोस्