भाषा, साहित्यको उन्नयनमा धेरै काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा



 काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले साढे छ दशकमा नेपाली भाषा, साहित्य, संस्कृतिलाई स्वदेश एवं विदेशमा फिँजाउन अग्रणी भूमिका खेलेको बताउनुभएको छ ।

बिहीबार प्रतिष्ठानको ६५औं वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उहाँले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रका क्षेत्रलाई क्रियाशील रूपमा अघि बढाउन अझै महत्वपूर्ण काम गर्नुपर्ने बताउनुभयो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय निर्माण सम्पन्न हुन लागेको र १ लाख ५० शब्द रहेको प्रज्ञा नेपाली बृहत् शब्दकोश तयार भएको प्रधानमन्त्री देउवाले जानकारी गराउनुभयो । रचनात्मक क्रियाकलाप गर्न प्रतिष्ठानलाई आवश्यक बजेट मन्त्रिपरिषद्मा सल्लाह गरेर उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले प्रतिष्ठानले तयार पारेको नेपाली बृहत् शब्दकोशको एपका कारण विश्वभरका नेपाली भाषीले यसको उपयोग गर्न सकेको बताउनुभयो ।

सनातन संस्कृति कोश, लोकवार्ता कोशजस्ता महत्वपूर्ण ग्रन्थ यसै वर्ष प्रकाशन गर्न लागिएको प्रतिष्ठानको संरक्षकसमेत रहनुभएका मन्त्री आलेले जानकारी दिनुभयो । काम बढी भएको प्रतिष्ठानको बजेट अर्थ मन्त्रालयले कटौती गरेकामा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । राष्ट्रिय योजना आयोगका संस्कृति हेर्ने सदस्य डा. रामकुमार फुयाँलले प्रतिष्ठानलाई अध्ययन अनुसन्धानका क्षेत्रमा समय सापेक्ष विशिष्टिकृत संस्थाका रूपमा स्थापित गरिनुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानजस्ता संस्थाको बजेट वृद्धि गर्न आफूले पटकपटक कुरा राखेको उहाँको भनाइ थियो ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले संविधानअनुसार नेपालको बहुलताका विषयमा प्रतिष्ठानले अध्ययन अनुसन्धान गराइरहेको जानकारी गराउनुभयो । छिमेकी देशका प्रज्ञा प्रतिष्ठानसँग पनि सहकार्य गरेर प्राज्ञिक आदानप्रदानका माध्यमबाट काम गरिरहेको जानकारी उहाँले दिनुभयो । पूर्व कुलपति वैरागी काइँलाले ज्ञान विज्ञानका क्षेत्रमा प्रतिष्ठानले गरिरहेका कामलाई अझै तीव्र रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले प्रतिष्ठान राष्ट्रको आवश्यकता पूर्ति गर्ने शिरफूलका रूपमा स्थापित संस्था भएको बताउनुभयो । उहाँले सातै प्रदेशको परिचय दिने नेपाल दर्पण बजेट अभाव र कोरोना महामारीका कारण पूरा हुन नसकेको बताउनुभयो । नेपाललाई विश्वमा चिनाउने यस्ता पुस्तक छिट्टै प्रकाशनमा ल्याउन सरकारको पनि सहयोग आवश्यक परेकोमा उहाँले जोड दिनुभयो ।

मधेश प्रदेशको इतिहास, भाषा, संस्कृति, सङ्गीत, कृषिलगायत विषयको अध्ययन गरी भदौमा पुस्तक प्रकाशनको तयारी गरिएको प्रतिष्ठानले जनाएको छ । अन्य प्रदेशमा भने यस्तो गर्न नसकिएको उहाँले गुनासो गर्नुभयो । प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले चालु आर्थिक वर्षको बजेटमा निवृत्तिभरणमा शून्य गरिएकामा दुःख प्रकट गर्नुभयो ।
प्रकाशनको तयारीमा १५० पुस्तक रहे पनि बजेट नभएकाले समस्या आएको उहाँको भनाइ थियो ।

वाल्मीकि रामायण, प्रज्ञा नेपाली शब्दकोशलगायत देशकै गौरव बढाउने कृति छाप्नसमेत पैसा नभएकाले व्यवस्था गरिदिन माग गर्नुभएको थियो । महोत्सव आयोजक समितिका संयोजक प्राज्ञ हेमनाथ पौडेलले प्रतिष्ठानले कवितालाई विशेष महत्व दिएर विसं २०२२ देखि कविता महोत्सव शुरू गरेको जानकारी गराउनुभयो ।

विसं २०२२ मा शुरू भएको महोत्वस अहिलेसम्म विसं २०४७, २०६३ देखि २०६६ सम्म प्राज्ञ परिषद् गठन नभएका कारण रोकिएको थियो । अहिलेसम्म महोत्सवबाट पहिलो, दोस्रो, तेस्रो गरी २६० स्रष्टा पुरस्कृत भइसकेका छन् । यस वर्ष पनि पहिलो, दोस्रो दुई र तेस्रो तीन जना गरी पाँच जनालाई पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ ।

यस वर्ष महोत्सवका लागि ५८८ कविता देश विदेशबाट प्राप्त भएका थिए । त्यसमध्येबाट ३० कविता वाचनका लागि छनोट गरिएको छ । अप्रतियोगी १५ कविता पनि वाचन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका सञ्चार संयोजक शशी लुमुम्बूले जानकारी दिनुभयो । विदेशमा रहेका कवि एवं कवयित्रीले भिडियोबाट नै कविता वाचन गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्