कामपाको बजेट करिब २५ अर्ब हुने



काठमाडौं । 

काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब हुने भएको छ । गत वर्षको तुलनामा करिब ७ अर्ब बढी हुने अनुमान गरिएको छ ।देशैभरका स्थानीय तहमध्ये जेठो र पहिलो महानगरले सबैभन्दा धेरै बजेट ल्याउन लागेको हो । कानुनमा व्यवस्था भएअनुसार आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दै छन् ।

उपमेयर सुनिता डंगोलले महानगपालिकाको परिषद्को बैठकमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । कुल २५ अर्बमध्ये २३ अर्ब रुपियाँ कामपाको सञ्चित कोषमार्फत् खर्च हुनेछ । ‘कुल बजेटमध्ये सामाजिक सुरक्षाभत्ता नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमहरू र आयोजनाको खर्च महानगरको बजेटमा सार्वजनिक भए पनि तोकिएको शीर्षकमा मात्र खर्च हुनेछ । त्यसैले कामपाले खर्च गर्न पाउने रकम करिब २३ अर्ब रहनेछ’ – कामपा स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।

मेयर बालेन्द्र साह, उपमेयर डंगोल, राजस्व विभागमा निर्देशक डा. शिवराज अधिकारी, लेखा विभागका निर्देशक बुद्ध मानन्धरलगायतको टिमले बजेट तयार गरिरहेको छ । ‘बजेट कसरी बन्दै छ भन्ने विषयमा गोप्य राखिएको छ’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।महानगरपालिकाले नै दिएको जानकारीअनुसार नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त शिक्षक तलब, स्वास्थ्य, कृषिलगायत, पशुपालन, सामाजिक सुरक्षा भत्तामा तोकेको रकम खर्च गर्नुपर्ने व्यवस्था छ । सरकारबाट प्राप्त रकम अन्य कुनै पनि शीर्षकमा खर्च गर्न पाइँदैन ।

कामपाको कार्यपालिकाको बैठकले बुधबार नीति पारित गरेसँगै बजेट तयार गरेको हो । नीतिमा उल्लेख भएको विषय बजेटमा समेटिएको कामपाले जनाएको छ । मेयर साहले सूचना प्रविधि, शिक्षा, फोहोर व्यवस्थापन, कर प्रणाली सुधार, सीसीटिभी जडान, शहरी सौन्दर्य, जात्रा पर्व वागदरबार को सबलीकरणलगायतका शीर्षकमा बजेट खर्च गरिने भएको छ ।त्यस्तै, दरबार हाइस्कुललाई अन्तर्राष्ट्रियस्तरको बनाउने बजेट विनियोजन गरिनेछ । दमकल स्टेसन, प्रकोप व्यवस्थापन, फोहोरमैला व्यवस्थापनलगायतका महत्वांकाक्षी शीर्षकको लागि बजेट राख्ने तयारी भइरहेको छ । विशेष गरी सार्वजनिक निजी साझेदारी कार्यक्रम, शहरी योजनालगायत शीर्षकमा बजेट राखिएको छ ।

मेयरमा निर्वाचित भएको करिब एक महिनापछि महानगरको बजेट सार्बजनिक भएको हो । उपमेयर डंगोलले सार्वजनिक गर्ने बजेटमा स्थानीय चाडपर्व, नेपाल भाषा संरक्षण, होमस्टे सञ्चालन गर्न अनुदान, तीनकुने क्षेत्रमा पुर्वाधार निर्माण र मुआब्जा, पार्किङ व्यवस्थापन, भूमिगत पार्किङलगायत शीर्षकमा बजेट व्यवस्था गरिएको छ ।सिसडोलमा बगैंचा र हरियाली प्रवद्र्धन, जेष्ठ नागरिक सम्मान, पूर्वाधार एम्बुलेन्स खरिद र सञ्चालन, कमलपोखरीको दोस्रो चरणको काम शुरू गर्न बजेट व्यवस्थापन गर्न लागिएको हो । आन्तरिक आम्दानी गर्ने सामुदायिक विद्यालयहरूको आम्दानीको निश्चित प्रतिशत महानगर शिक्षा कोषमा जम्मा गर्ने व्यवस्था गरिएएको छ ।

बसस्टपहरूमा यात्रीहरूको विश्रामका लागि परम्परागत शैलीको फल्चा निर्माण गर्न इच्छुक संघसंस्थाहरूलाई प्राविधिक सहयोग उपलब्ध गराइने, पुराना हिटी तथा पोखरीको पुनःस्थापना, संरक्षण तथा संवद्र्धन गरिने, महानगर उज्यालो कार्यक्रमलाई निरन्तरता दिन बजेट छुट्टयाइएको छ । नीति तथा कार्यक्रममा उल्लेख भएका विषयलाई चरणबद्ध विश्लेषण गरी बजेट तयार गरिएको कामपाको भनाइ छ ।यसअघि मेयर साहले निर्वाचनको मतगणनालगत्तै आफ्नो विजय सुनिश्चित हुने जानकारी पाएपछि कामपाका कर्मचारीसँग बजेट पुस्तक लगेर नयाँ बजेटको बारेमा छलफल लिनुभएको थियो । सोही आधारमा गरेरै देखाउने उद्देश्यका साथ चालु आबको तुलानमा झण्डै ५ अर्ब रुपियाँको बजेट वृद्धि गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्