जनकपुर आयो रामायण सर्किट जोड्ने रेल

नयाँ दिल्लीबाट आएका पाँच सय यात्रुलाई भव्य स्वागत



काठमाडौं । 

आठ हजार किलोमिटरको रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ ।भारतको नयाँदिल्लीबाट मंगलबार साँझ ७ बजे छुटेको रेल बिहीबार दिउँसो १ः४५ बजे जनकपुरधाम आइपुगेको हो । धार्मिक–सांस्कृतिक प्रवद्र्धधनका लागि पाँच सय यात्रुसहित आएको रेललाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।

जनकपुर रेल्वे स्टेसनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोलगायतले यात्रुको स्वागत गर्नुभयो । यस प्रकारका गतिविधिले नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने मुख्यमन्त्री राउतको भनाइ थियो । नेपालको भूभागलाई रामायण सर्किटमा जोड्नुपर्ने विषयमा आफू पहिलेदेखि नै लागिरहेको जानकारी गराउँदै राउतले यसले उत्साह थपेको टिप्पणी गर्नुभयो ।

जनकपुरधाम आएका यात्रुले रामजानकी मन्दिर, गंगा सागरमा हुने गंगा आरती अवलोकनलगायत विभिन्न ठाउँ घुमफिर गर्ने कार्यक्रम छ । यात्रुहरू आज जनकपुरधामबाट सीतामढी प्रस्थान गर्नेछन् ।रामायण सर्किटको आठ हजार किलोमिटर लामो यात्रा गर्न १८ दिनको समय निर्धारण गरिएको छ । यसमा जनकपुरधाम र अयोध्यालाई महत्वका साथ लिइएको छ । यात्रुहरू सीतामढी, वाराणसी, नासिक, रामेश्वरमको भ्रमण गरेर फेरि दिल्ली फर्किनेछन् ।

दिल्लीबाट छुटेको रेल अयोध्यामा रोकिएको थियो । त्यहाँ राम जन्मभूमि मन्दिर, हनुमान मन्दिर, भरत मन्दिर, नन्दीग्रामलगायतको भ्रमण गराइएको यात्रुहरूले जानकारी गराएका छन् । उनीहरूले रेल विहारको बक्सरमा रोकिएको र त्यहाँ विश्वामित्र ऋषिको विश्रामस्थल, गंगाको रामरेखा घाटको भ्रमण भएको बताए ।

जनकपुरधाम आएका यात्रुका लागि होटलमा वासको व्यवस्था गरिएको छ । रेल वाराणसी हुँदै नयाँदिल्ली पुग्ने बताइएको छ । वाराणसीमा सीता समाहित भएको स्थलको भ्रमणपछि प्रयागराज, श्रीगंवरपुर र चित्रकूटको भ्रमण हुने, नासिक, त्रयंम्बकेश्वर मन्दिर र पञ्चवटी पुग्ने कार्यक्रम छ । यो १८ दिने तीर्थयात्रा हो ।रामायण सर्किटका लागि एक जना यात्रुबाट करिब एक लाख रुपियाँ लिइएको छ । यसमा रेलको भाडा, बस यात्रा, भोजन, रात्रि विश्राम वा आवास, बिमालगायत सुविधा समावेश गरिएको छ ।

यसैबीच नेपालस्थित भारतीय दूतावासले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतका रेल मन्त्री तथा पर्यटन मन्त्रीद्वारा संयुक्त रूपमा झण्डा देखाई प्रस्थान गराएको जानकारी दिएको छ ।यो भारत र नेपालमा रामायण सर्किट समेट्ने पहिलो पर्यटक ट्रेन हो । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले गत चैत्र १९ मा भारतको जयनगरदेखि नेपालको कुर्था जोड्ने रेललाई संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्