‘प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य र संस्कृतिका उन्नयनमा अझै धेरै काम गर्नुपर्छ ’



काठमाडौँ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले साढे छ दशकमा नेपाली भाषा, साहित्य, संस्कृतिलाई स्वदेश एवं विदेशमा फिँजाउन अग्रणी भूमिका खेलेको बताएका छन् ।

प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित राष्ट्रिय कविता महोत्सव शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रका क्षेत्रलाई क्रियाशील रुपमा अघि बढाउन अझै महत्वपूर्ण काम गर्नुपर्ने भनाइ राखे । महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण सम्पन्न हुन लागेको र एक लाख ५० शब्द रहेको प्रज्ञा नेपाली बृहत् शब्दकोश तयार भएको प्रधानमन्त्री देउवाले जानकारी गराए । रचनात्मक क्रियाकलाप गर्न प्रतिष्ठानलाई आवश्यक बजेट मन्त्रिपरिषद्मा सल्लाह गरेर उपलब्ध गराउने उनले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले प्रतिष्ठानले तयार पारेको नेपाली बृहत् शब्दकोशको एपका कारण विश्वभरका नेपाली भाषीले यसको उपयोग गर्न सकेको बताए ।

सनातन संस्कृति कोश, लोकवार्ता कोश जस्ता महत्वपूर्ण ग्रन्थ यसैवर्ष प्रकाशन गर्न लागिएको प्रतिष्ठानको संरक्षकसमेत रहेका मन्त्री आलेले जानकारी दिए । काम बढी भएको प्रतिष्ठानको बजेट अर्थ मन्त्रालयले कटौती गरेकामा उनले असन्तुष्टि व्यक्त गरे । राष्ट्रिय योजना आयोगका संस्कृति हेर्ने सदस्य डा रामकुमार फुयाँलले प्रतिष्ठानलाई अध्ययन अनुसन्धानका क्षेत्रमा समय सापेक्ष विशिष्टिकृत संस्थाका रुपमा स्थापित गरिनुपर्नेमा जोड दिए । प्रतिष्ठान जस्ता संस्थाको बजेट वृद्धि गर्न आफूले पटकपटक कुरा राखेको उनको भनाइ थियो ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले संविधान अनुसार नेपालको बहुलताका विषयमा प्रतिष्ठानले अध्ययन अनुसन्धान गराइरहेको जानकारी गराउनुभयो । छिमेकी देशका प्रज्ञा प्रतिष्ठानसँग पनि सहकार्य गरेर प्राज्ञिक आदानप्रदानका माध्यमबाट काम गरिरहेको जानकारी उहाँले दिनुभयो । पूर्व कूलपति वैरागी काइँलाले ज्ञान विज्ञानका क्षेत्रमा प्रतिष्ठानले गरिरहेका कामलाई अझै तीव्र रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले प्रतिष्ठान राष्ट्रको आवश्यकता पूर्ति गर्ने शिरफूलका रुपमा स्थापित संस्था भएको बताए । सातै प्रदेशको परिचय दिने नेपाल दर्पण बजेट अभाव र कोरोना महामारीका कारण पूरा हुन नसकेको बताए । नेपाललाई विश्वमा चिनाउने यस्ता पुस्तक छिट्टै प्रकाशनमा ल्याउन सरकारको पनि सहयोग आवश्यक परेको उनले सुनाए ।

मधेश प्रदेशको इतिहास, भाषा, संस्कृति, सङ्गीत, कृषिलगायत विषयको अध्ययन गरी भदौमा पुस्तक प्रकाशनको तयारी गरिएको प्रतिष्ठानले जनाएको छ । अन्य प्रदेशमा भने यस्तो गर्न नसकिएको उनले गुनासो गरे । प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले चालु आर्थिक वर्षको बजेटमा निवृत्तिभरणमा शून्य गरिएकामा दुःख प्रकट गरे ।

प्रकाशनको तयारीमा १५० पुस्तक रहेपनि बजेट नभएकाले समस्या आएको उनको भनाइ थियो । वाल्मीकि रामायण, प्रज्ञा नेपाली शब्दकोशलगायत देशकै गौरव बढाउने कृति छाप्नसमेत पैसा नभएकाले व्यवस्था गरिदिन माग गरेका थिए ।

महोत्सव आयोजक समितिका संयोजक प्राज्ञ हेमनाथ पौडेलले प्रतिष्ठानले कवितालाई विशेष महत्व दिएर विसं २०२२ देखि कविता महोत्सव सुरु गरेको जानकारी गराए ।

विसं २०२२ मा सुरु भएको महोत्वस अहिलेसम्म विसं २०४७, २०६३ देखि २०६६ सम्म प्राज्ञ परिषद् गठन नभएका कारण रोकिएको थियो । अहिलेसम्म महोत्सवबाट पहिलो, दोस्रो, तेस्रो गरी २६० जना स्रष्टा पुरस्कृत भइसकेका छन् । यसवर्ष पनि पहिलो, दोस्रो दुई र तेस्रो तीन जना गरी पाँच जनालाई पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ ।

यसवर्ष महोत्सवका लागि ५८८ कविता देश विदेशबाट प्राप्त भएका थिए । त्यसमध्येबाट ३० कविता आज वाचनका लागि छनोट गरिएको छ । अप्रतियोगी १५ कविता पनि वाचन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका सञ्चार संयोजक शशी लुमुम्बूले जानकारी दिए । विदेशमा रहेका कवि एवं कवयित्रीले भिडियोबाट नै कविता वाचन गर्न सक्ने व्यवस्था गरिएको छ । कविता वाचन सकिएपछि आजै साँझ प्रतिष्ठानको प्राज्ञ परिषद्ले परिणाम सार्वजनिक गर्ने जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्