एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाको दाबी : ‘मन्त्रिपरिषद् केही घण्टामा फेरबदल हुन्छ’



कठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्रिपरिषद् केही घण्टामा फेरबदल हुने दाबी गरेका छन् ।

एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने र ती ठाउँमा नयाँ मन्त्री पठाइने खतिवडाले बताए । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज (बिहीबार) पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टीले मन्त्री फेर्ने मन्त्री फेरबदल गर्ने निर्णय गरेकोले अब तत्काल कार्यान्वयन हुने बताएका छन् ।

प्रवक्ता खतिवडाले भने, ‘मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ । दिनमा होइन घन्टामा मन्त्री हेरफेर हुन्छ, कसले कहाँ कोसँग छलफल गर्यो भन्ने व्यक्तिगत कुरा हुन्, पार्टीले मन्त्री फेर्ने निर्णय गरेकोले त्यसअनुसार मन्त्री परिवर्तन हुने हो ।’

पार्टीका नेताहरूलाई ६ महिनाका लागि मन्त्री पदमा पठाइएको हो । ६ महिनाका लागि भनिए पनि ९ महिना बितिसकेको छ । यसर्थ अब उहाँहरुलाई छिट्टै पार्टीले फिर्ता बोलाउँछ, उनले भने ।

‘मन्त्री भन्ने चिज चीरस्थायी होइन । स्थायी सरकार भए पाँच वर्ष हो,’ उनले भने, ‘९ महिना भयो उहाँहरू मन्त्री भएको । बिदा गर्नुपर्ने स्थिति आयो । कसैले विद्रोह गर्छु भनेको छैन ।’

एकीकृत समाजवादीको बैठक आज पनि बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्