विप्लव नेतृत्वको नेकपा परित्याग गरेका ४ जना केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश गर्दै



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव‘ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका चार जना केन्द्रीय सदस्य नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्ने तयारी गरेका छन् । नेकपाका केन्द्रीय सदस्यहरु ओमप्रकाश पुनसहित चार जना केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका हुन् ।

जना केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश गर्न लागेको प्रचण्डनिकट एक नेताले बताए । उनले भने, ‘नेकपा परित्याग गरेका ओमप्रकाश पुनसहित चार केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश गर्ने कुरा निश्चित भइसेको छ । यद्यपि हामीले उहाँहरुसँग संवाद जारी राखेका छौँ । ढिलो चाँडो उहाँहरु प्रवेश गरेको खबर पाउनु हुनेछ ।’

यसअघि पार्टीको एक सार्वजनिक कार्यक्रममा प्रचण्डले माओवादी धारहरु एकीकृत र ध्रुवीकृत हुने संकेत देखिँदै गएको बताएका थिए । उनले यो कुरा बताएको हप्ता दिन नबित्दै पुनसहित चार केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन् ।

पुनसहित माओवादी केन्द्रमा प्रवेश गर्नेमा केन्द्रीय सदस्य शंकरबहादुर खड्का, दलबहादुर धामी, रमेश परियार रहेका छन् । खड्का पूर्व संविधानसभा सदस्य एवं सेती ब्यूरो इन्चार्जको जिम्मेवारीमा छन् । धामी महाकाली इन्चार्ज हुन् भने परियार कञ्चनपुर जिल्ला इन्चार्जको जिम्मेवारी समाल्दै आएका छन् ।

नेकपाका यी चार जना केन्द्रीय सदस्यले आज (बिहीबार) बिहान एक विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपा परित्याग गरेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्