लिभरपुलले जापानी मिडफिल्डर बेच्ने



एजेन्सी  ।

इंग्लिस क्लब लिभरपुलले जापानिज मिडफिल्डर ताकुमी मिनामिनोलाई बेच्ने भएको छ ।लिभरपुलले जापानिज मिडफिल्डर ताकुमी मिनामिनोलाई फ्रान्सेली क्लब मोनाकोमा बेच्न सहमत भएको हो । लिभरपुलले २७ वर्षीय मिनामिनोलाई १५.५ मिलियन पाउन्डमा मोनाकोमा बेच्न लागेको हो ।

मिनामिनो २०२० मा अस्ट्रियन क्लब रेडबुल साल्जवर्गबाट ७.२५ मिलियन पाउन्डमा लिभरपुलमा भित्रिएका थिए । सम्झौता अनुसार मिनामिनोले १२.९ मिलियन पाउन्ड पारिश्रमिक र २.६ मिलियन युरो एडअनबाट प्राप्त गर्नेछन् ।लिभरपुलका लागि ५५ म्याच खेलेका मिनामिनोले १४ गोल गरेका छन् । गत सिजन इंग्ल्यान्डको घरेलु कपमा उनी सर्वाधिक गोलकर्ता बनेका थिए । लिभरपुलले एफए कप र लिग कप जित्दा मिनामिनोले सात गोल गरेका थिए ।

यद्यपि, लिभरपुल म्यानचेस्टर सिटीभन्दा एक अंक पछाडि पर्दै प्रिमियर लिग जित्नबाट वञ्चित रह्यो । उनले प्रिमियर लिगमा एकपटक पहिलो रोजाइसहित ११ म्याचमा मात्रै मौका पाए । मिनामिनोले केही समय अर्काे इंग्लिस टोली साउथह्याम्टनमा लोनमा खेलेका थिए । लोन अवधि सकाएर उनी लिभरपुलमा फर्किएका थिए । त्यसपछि उनले लिभरपुलका लागि १० खेलमा अवसर पाएका थिए । यसअघि, सेनेगलका फरवार्ड साडियो मानेलाई बेच्ने सहमति जनाइसकेको छ । लिभरपुलले मानेका लागि ३५.१ मिलियन पाउन्डमा बायर्न म्युनिखका लागि सहमति जनाएको हो।

लिभरपुलले माने र मिनामिनोलाई बेच्न सहमति जनाउँदा अन्य तीन खेलाडीलाई भने क्लबमा अनुबन्ध गरिसकेको छ । लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकाबाट उरुग्वेली फरवार्ड डार्विन नुनेजÞलाई ६४ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । त्यस्तै, फरवार्ड फाबियो कार्भाल्होलाई ५ मिलियन पाउन्डमा तथा एबरडीनका १८ वर्षीय फुलब्याक क्याल्भिन रामसेलाई ४.२ मिलियन पाउन्डमा अनुबन्ध गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्