राजधानीमा बंगलादेशी फेसनको स्वाद



काठमाडाैं ।

राजधानी सहरको प्रदशर्नीमार्गस्थित प्रदशर्नी कक्षमा सञ्चालित नेपाल चेम्बर एक्स्पो २०२२ अन्तर्गत बंगलादेश फेसन शोमा बंगलादेशी फेसनका विभिन्न आयाम प्रस्तुत गरिएको छ। फेसन शोमा बंगलादेशी फेसनअन्तर्गतका विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमुना -याम्पमाथि देख्न पाइयो।

सात चरणमा प्रस्तुत फेसन प्रस्तुतिमा साडी, सलवार कमिज, कुर्ती, सर्ट, पन्जाबी स्टाइल, टि-सर्टलगायतका पहिरनसँगै लेदर तथा फ्याब्रिकमा तयार पारिएका विभिन्न एक्सेसरिज पनि प्रदर्शन गरिएको थियो। कार्यक्रममा प्रस्तुत गरिएका फेसनका विविध नमुना मूलतः मस्लिन, सिल्क, कटन फ्याब्रिकमा तयार पारिएका थिए।

फेसन शोको अन्तिम प्रस्तुति भने खाडी वेयर थियो। काठमाडाैंस्थित बंगलादेशी राजदूतावासको पहलमा प्रस्तुत फेसन कार्यक्रमको संयोजन तथा कोरियोग्राफी फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने मोडलको मेकअप तथा हेयरस्टालिङ ब्युटी गार्डेन, द ग्रुमिङ स्टेसनले गरेको थियो।

बंगलादेश फेसन शोअन्तर्गत प्रस्तुत भएका फेसनशैलीमध्ये केही भने बंगलादेशी फेसन डिजाइनरका सिर्जना थिए। केही भने रेडी टू वेयर शैलीका थिए। आठ युवती तथा चार युवा मोडलको फेसन प्रस्तुति पूर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा नेपालका लागि बंगालादेशी महामहिम राजदूत सलाउद्दिन नोमान चौधरीलगायत बंगालादेशी राजदूतावास तथा नेपाल चेम्बर अफ कमर्सका आमन्त्रितको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्