भोलिबाट ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाइने



काठमाडौं । भोलिदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा खोप लगाउनका लागि तयारी पूरा भएको जनाएको हो ।

कार्यालयका प्रमुख वसन्त अधिकारीले भोलिदेखि यही असार १५ गतेसम्म काठमाडौँ जिल्लाका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिए । देशभरि ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ ।

उनका अनुसार बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन् । खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा आएको थियो ।

कार्यालयले काठमाडौँका बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र स्थापना गरी खोप लगाउँदै छ । उनले विद्यालयबाहेक बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले खापको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेकाले सबैले खोप लगाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्