सरकारको सहयोग, नयाँ मेयरहरुको प्रयास र चुनौती



कुनै पनि बाजी चाहे त्यो मनोरञ्जन, स्पोर्टस्, जुवा, राजनीति नै किन नहोस्, सबैमा हारजित भइरहन्छ । यसमा जित्ने पक्ष धेरै खुशी हुनुहुँदैन । साथै हार्ने पक्षलाई पनि होच्याउनुहुँदैन ।

त्यसै गरी हार्ने पक्ष पनि रिस, डाह, मानसिक तनावमा जानुहुँदैन । कारण यी कुराहरु क्षणिक हुन् र आ–आफ्नो भाग्य सम्झेर बिस्तारै बिसर्नुपर्दछ । देशमा स्थानीय चुनाव सकिएको छ । राजधानी काठमाडौंमा बालेन शाहको जित भएको छ । उहाँलाई धेरै–धेरै बधाई छ । साथै अरु जित्ने मेयरहरुप्रति पनि आशा छ– अब उहाँहरुले केही गरेर दखाउनु हुनेछ । हामी नागरिकलाई पार्टीको मान्छे र जातभात कुनै सरोकार छैन, राम्रा मानिस आएर यो ठाउँलाई बनाऔं र महानगरपालिकामा भएको रकमलाई सही सदुपयोग गरौं ।

१) सर्वप्रथम यहाँका नदीनालाहरु बनाउनु एकदम जरुरी छ । नियममा कडाइ गर्ने, सफाइ गर्ने, म्यानपावर लगाउने, शौचालय, विद्युतीय शवदाह राख्ने आदि कुराहरुलाई सुधार्नु काठमाडौं महानगरपालिकाको दायित्व हो । तर हामीले सधैँ आफूलाई मात्र सही र ठूलो सम्झने होइन, अरुको मुख ताक्ने पनि होइन, अरुहरुलाई सहयोग पनि गर्ने हो । अनि मात्र सिङ्गो मुलुक र नगर दुवै बन्नेछ ।
२) नगरको ठूलो समस्या पार्किङ हो । यो समस्या सुल्झन धेरै गाह्रो छ । कारण यो संसारकै समस्या हो । त्यसमाथि सानो ठाउँ, साँघुरो बाटो, अल्लारे र स्वार्थी मानिसहरुले गर्दा यो समस्या दिन–प्रतिदिन बढ्दै जानेछ । त्यसकारण यसको लागि नगरपालिका र ट्राफिक कार्यालयको समन्वयमा नयाँ–नयाँ भिजन ल्याउनु जरुरी छ । प्रयास गरौं, केही समस्या कसरी नसुल्झेला त ।
३) अहिले मुलुकको समस्या फोहोर नै हो । बढी जनसंख्याले गर्दा राजधानीको फोहोर समस्या झन्–झन् विकराल बनेको छ । अब यो समस्याको हल भनेकै डम्पिङ साइटका लागि अरु ठाउँको खोजी गर्ने, डोजर लगाउने, रिसाइक्लिङ गर्ने तथा मल उत्पादन गर्ने नै हो । यदि यो काम नगरपालिकाले गर्न सक्दैन भने यसको जिम्मा प्राइभेट कम्पनीहरुलाई टेन्डरमार्फत दिनुपर्दछ । प्रयास गर्ने हो, आशा गर्ने हो, संसारमा असम्भव भन्ने कुनै कुरा छैन ।
४) अहिले नगरहरुमा मासु बेच्ने तरिका सही छैन । सर्वप्रथम ठाउँ–ठाउँमा वधशाला बन्नु जरुरी छ । मासु विक्रेताहरुलाई बोसो र चाम्रो मासु बेच्नमा बन्देज लगाउनुपर्दछ । छाला, हाड र अन्य भागको मासुको भाउ अलग–अलग हुनुपर्छ । यसरी मासु बेचबिखनको सिस्टम बसाउनुपर्दछ । यसो गर्दा शुरुमा राम्रो मासुको भाउ बढे पनि सिस्टम बस्छ । यसबाहेक फोहोर गरी मासु बेचबिखन गर्नेहरुलाई नगरपालिकाले कडा कारबाही गर्न सक्नुपर्दछ । यसो गरेको खण्डमा मासु बेच्ने प्रणाली राम्रो हुन सक्छ ।
५) नगरपालिकाले बिहान एक समयका लागि मदिरा बेचबिखन बन्द गर्नुपर्दछ भने रातिको समयमा प्रहरी तथा नगरपालिकाको समन्वयमा पेट्रोलिङ गर्नु आवश्यक छ, जुन अहिलेसम्म कमी देखिएको छ ।
६) बेसहारा, अपांग, गरिब, असहायका लागि स्थानको व्यवस्था गर्ने हो । यो ठाउँमा काम, माम, शिक्षा, स्वास्थ्य तथा सफाइ अभियान नगरपालिकाले प्रयास गरेर देखाउने हो ।
७) फुटपाथ समस्या, तरकारी बजार, भुस्याहा कुकुर समस्याको लागि भिजन बनाउनु जरुरी छ । जसले गर्दा सर्वसाधारणका लागि बजार तथा फुटपाथमा आवतजावत गर्दा सुविधा हुनेछ । यसबाहेक पाल्तु कुकुरहरुले पनि प्रायः सडकहरु फोहोर गरिराखेका हुन्छन् । यसलाई कन्ट्रोल गर्नु पनि जरुरी छ ।
८) प्रायः बजारहरुमा मूल्य नियन्त्रण छैन । पसलैपिच्छे भाउ फरक हुन्छ । यसलाई कन्ट्रोल गर्नु पनि महानगरपालिका र सरकारको दायित्व हो ।
९) राजधानीजस्तो ठाउँमा सार्वजनिक शौचालय र फ्री पार्कहरुको कमी छ । कडिकडाउ गरेर पार्क तथा शौचालयहरुको निर्माण हुनु आवश्यक छ ।
१०) नगरपालिकाले जानचेतना जगाउन सर्वसाधारणलाई निरन्तर फोहोरसम्बन्धी शिक्षा दिइराख्नुपर्दछ । परेको खण्डमा कडाइ गरेर पनि देखाउने हो । अहिले राजधानीको समस्यामा सडकका खाल्डाहरु, बिजुलीका तार, भुस्याहा कुकुर, पार्किङ तथा सवारी जामजस्ता कुराहरु अगाडि देखिएका छन् । नवनियुक्त मेयरलाई यी कुराहरुको व्यवस्थापन चुनौती बन्नेछ ।

अन्त्यमा एउटा के कुरा भन्न सकिन्छ भने, कुर्सीमा बस्नेहरु चाहे मन्त्री हुन् वा प्रधानमन्त्री, सचिव हुन् वा मेयर हुन्, उनले कुर्सीमा बस्नासाथ अनावश्यक भाषण, झुटो आश्वासन र घमण्ड गर्नुहुँदैन । कामको मूल्यांकन गर्ने अधिकार जनता, समाज, सर्वसाधारणलाई मात्र छ । मुख्य कुरा माथि बस्ने देश चलाउनेहरु सच्चिनु जरुरी छ । सधैँ मिडिया, अखबार, हनुमानहरुलाई मात्र नच्यापी आफू परिवर्तन हुनुपर्दछ र राम्रो काम गर्नेहरुलाई हौसला दिनुपर्दछ । अर्को कुरा, कडा कानुनले नै मानिसको सोच राम्रो हुन्छ र मुलुक राम्रो हुन्छ । महत्वपूर्ण कुरा, सफलता हासिल गर्न राम्रो टिमवर्कको आवश्यकता पर्छ भन्ने कुरा पनि कहिल्यै बिर्सनुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्