स्थानीय निर्वाचनको नाटकीय परिणाम



अन्ततोगत्वा, अनेकन् शङ्का, उपशङ्का, डरत्रास र धम्कीका बीच स्थानीय तहको निर्वाचन सम्पन्न भएको पनि धेरै दिन बितिसक्यो । देशभर एकै चरणमा अपेक्षाकृत निर्वाचन शान्तिपूर्ण तरिकाबाट सम्पन्न हुनुलाई सकारात्मक मान्न सकिन्छ, तर यसपटकको निर्वाचनमा काठमाडौंमा बालेन्द्र साह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपी हमालजस्ता स्वतन्त्र प्रतिस्पर्धी मात्र उदाएनन् बल्की २०४८ सालको निर्वाचनदेखि एकलौटीरुपमा कव्जा गरेका एमाले र काङ्ग्रेसका किल्लाहरु पनि एक–आपसमा नराम्रोसँग ढलेका छन् ।

नेपाली काङ्ग्रेसबाहेक एमाले, माओवादी, राप्रपा, जसपाजस्ता दलहरुसमेत विभाजन रहेको अवस्थामा निर्वाचन परिणाम नाटकीय रुपमा फरक आएको छ । विगतमा निर्वाचित जनप्रतिनिधि आफ्ना मतदाताप्रति जवाफदेही नहुँदा नागरिकले विकल्प रोजे र स्वतन्त्र उम्मेदवारलाई विजयी बनाए । केही ठाउँमा भएको झडपको कारण ७७ वटा मतदान केन्द्रमा पुनः निर्वाचन गर्नुपरेको थियो ।देशका १४ वटा पालिकासहित एक महानगर र तीनवटा उपमहानगरको जिम्मेवारी मतदाताले स्वतन्त्र उम्मेदवारको काँधमा राखिदिए । देशभर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यसहित लगभग चार सयको हाराहारीमा स्वतन्त्र उम्मेवार निर्वाचित भएका छन् । नागरिकले परिवर्तन खोजेका छन्, जनताका अपेक्षा धेरै थिए र पनि छन् ।

स्थानीय तहको सरकारबाट छिटोछरितो सेवा खोजेका छन्, तर नपाएपछि नतिजा यसरी फरक स्वरुपमा आएको छ । धेरैजसो निवर्तमान जनप्रतिनिधिहरु पराजित भएका छन् । जनताबीच राम्रो काम गर्ने जनप्रतिनिधि दोस्रोपटक पनि पुनः निर्वाचित भएर आए । काम र सेवा सबैभन्दा बलवान् औजार हुन् भन्ने तथ्यलाई मतदाताले राम्रैसँग बुझेका छन् । यसको कारण जनताले उनीहरुको काम र सेवा देखिसकेका थिए । मतदाताले नयाँ–नयाँ मान्छे रोजे र परिवर्तन खोजे । देशका जिम्मेवार दल र तिनका जनप्रतिनिधिहरु जनताप्रति जवाफदेही हुनुपर्ने हो, तर त्यसो भएन । त्यसैले एमाले र कांङ्ग्रेसका प्रत्याशीलाई पछार्दै धरान, काठमाडौं र धनगढीमा स्वतन्त्रहरु यसरी उदाए । देश र समाजको लागि यो अत्यन्त सकारात्मक कदम हो ।

पुराना सडेगलेका राजनीतिक दलका तिनै भ्रष्ट, मनोमानी दासप्रवृत्ति र त्यसको विकल्पमा उदाएका उही पुरातन विचार र चरित्रका दलबाट समेत आजित हु्नुको निर्वाचन परिणाम हो स्वतन्त्रहरुको उदय र विजय । स्वतन्त्रहरुको उदय केवल दलगत विकृति, मुलुकमारा प्रवृत्ति र भ्रष्टीकरणको विरुद्ध नेपाली युवापुस्ताको गर्विलो हुँकार हो ।स्थानीय तह निर्वाचन २०७४ मा जस्तै यसपटकको निर्वाचनमा पनि दलगतरुपमा लोकप्रिय मत नेकपा एमालेले प्राप्त गरेर सबैभन्दा ठूलो राजनीतिक दल वनेको छ । सरकारमा रहेको पाँच दलीय सत्ता गठबन्धनले एमालेलाई किनारै लगाउने योजना बनाए पनि जनताको अभिमतसमक्ष गठबन्धन कमजोर साबित भएको छ ।

पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष एवम् सबै वडाध्यक्ष र सदस्यहरुले प्राप्त मतको अवलोकन गर्दा एमालेको २ करोड ५८ लाख ७३ हजार ९१३ अर्थात ३४.१३ प्रतिशत मत रहेको छ । यस्तै दोस्रो ठूलो दलको रुपमा काङ्ग्रेसले ३३.०१ प्रतिशत अर्थात् २ करोड ५० लाख २५ हजार ९१९ मत प्राप्त गरेको छ । यस हिसाबले नेकाले एमालेभन्दा ८ लाख ४७ हजार ९९४ मत कम पाएको छ । एमालेले पालिका प्रमुख र अध्यक्षमा सबैभन्दा बढी ३८ लाख ९ हजार ६९१ मत पाएको छ ।

यस्तै माओवादीले १ करोड १ लाख ३२ हजार ३१५ अर्थात् १३.६५ प्रतिशत मत प्राप्त गरेको छ । माओवादीले २०७४ सालको निर्वाचनमा भन्दा यसपटक १० लाख ८१ हजार मत कम पाएको छ । यस्तै जसपाले ५.१, एकीकृत समाजवादी ३.९३, राप्रपा ३.५२, लोसपा २.१७ र अन्य समूहले ४.७५ प्रतिशत मत प्राप्त गरेका छन् । यसपालि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदातामध्ये ६८.७ प्रतिशतले आफ्नो मताधिकारको प्रयोग गरेका थिए ।

मतदाता शिक्षाको प्रयोग राम्रो नहुँदा यस निर्वाचनमा लाखौंको सङ्ख्यामा मतबदर भएको छ । विकट गाउँमा भन्दा ठूला शहरहरुमा धेरै मत बदर भएको छ, जस्तै वीरगञ्ज र विराटनगर महानगरपालिकाको उपमेयरमा क्रमशः ५६.४१ र ४४.१२ प्रतिशत मत बदर भएको छ । बाजुराको बुढीगङ्गा नगरपालिकाको निर्वाचन हुन सकेको छैन भने ७५२ स्थानीय तहमा ३४ हजार ९५३ जनप्रतिनिधि निर्वाचित भएकामध्ये महिला जनप्रतिनिधिको सङ्ख्या १४ हजार ४०२ अर्थात् १४.२ प्रतिशत रहेको छ । यसपटक २५ वटा पालिका प्रमुखमा महिला जनप्रतिनिधि निर्वाचित भएका छन् । पालिका प्रमुखहरुको निर्वाचित सङ्ख्यालाई हेर्दा नेका ३२९, एमाले २०५ माओवादी १२१, जसपा ३०, एकीकृत समाजवादी २० लोसपा १६ र अन्य दल तथा स्वतन्त्रहरु ३१ स्थानमा विजयी भएका छन् ।

स्थानीय तहको निर्वाचनलाई लिएर पाँच दलीय सत्ता गठबन्धन बनेको हो, जसको उद्देश्य केवल एमालेलाई चुनावी मैदानबाटै खालि गराउने रहेको थियो, तर त्यसो हुन सकेन । एमालेसँग निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सकिँदैन भन्ने आधार गठबन्धनलाई राम्रोसँग थाहा थियो । यति ठूलो घेराबन्दी हुँदाहुँदै पनि देशभर एमालेले प्राप्त गरेको लोकप्रिय मत र विजयी स्थान सम्मानजनक रहेको छ । यस निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादी अलग भएर चुनाव लडेको भए नराम्रो पराजय हुने रहेछ ।

गठबन्धनको कारण अलिकति भए पनि उनीहरुको इज्जत बचेको छ । गठबन्धनको फाइदा अरु तीन दललाई भन्दा काङ्ग्रेस र माओवादीलाई बढी भएको छ । नेकपा एमाले विभाजन हुँदा यसको सामान्य असर एमालेलाई पर्न गए पनि अबको प्रतिस्पर्धा पनि नेका र एमालेबीच नै हुने निश्चित छ । यस निर्वाचनमा एमालेले नेकाले भन्दा १.१२ प्रतिशत मत बढी प्राप्त गरेको छ भने कुल पदमा एमाले ३४.५ र नेका ३९ प्रतिशतमा विजयी भएका छन् । माओवादी केन्द्र १४ प्रतिशत स्थानमा मात्र विजयी भएको छ ।

स्थानीय तह निर्वाचनको एउटा उल्लेख्य विशेषता के देखियो भने, २१ वर्ष उमेर समूहदेखि ५० वर्षसम्मका ५० प्रतिशतभन्दा बढी उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा रहेका थिए । प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहित सदस्य पदमा ठूलो सङ्ख्यामा युवावर्गले निर्वाचित हुने अवसर प्राप्त गरेका छन् । उम्मेदवारीमा धेरै र सङ्ख्यामा केही कम भए पनि युवावर्गको दह्रो उपस्थितिले नयाँ पुस्तालाई राजनीतिप्रति आकर्षित मात्र गरेको छैन, परन्तु दलका आजीवन मुखियाहरुलाई नयाँ ढङ्गले सोच्न र विश्लेषण गर्न बाध्य बनाएको छ । यस निर्वाचनमा प्रतिस्पर्धी रहेका उम्मेदवारमध्ये झन्डै ७० हजार मतदाता ५० वर्षभन्दा मुनिका युवा उमेर समूहको प्रतिनिधित्व हुनु उत्साहजनक सहभागिता हो । अबका कुनै पनि स्थानीय सरकारले कार्यशैली र क्षमतामा आफूलाई जनमुखी एवं लोकतान्त्रिक नवनाउने हो भने उनीहरुको पराजय निश्चित छ ।

त्यसैले निर्वाचित बहुसङ्ख्यक युवा जनप्रतिनिधिको राजनीतिक जीवन लामो छ र उनीहरुका निमित्त अबको पाँच वर्ष परीक्षाको अवधि रहनेछ । आफ्ना नीति र कार्यक्रमहरुको प्राथमिकतामा आमूल परिवर्तन नगरीकन धरै छैन । आजका सचेत र विवेकशील मतदाताहरु कसैको दास र एकलौटी पेवा बन्न सक्दैनन् । यस निर्वाचनको एउटा सकारात्मक विशेषता वा सन्देश के रह्यो भने, काठमाडौंमा मधेसी मूलका बालेन्द्र साह एवम् वीरगञ्जमा पहाडी मूलका राजेशमान सिंहलाई महानगरपालिका प्रमुख पदमा निर्वाचित गरेर दुवै ठाउँका मतदाताले देशको सामाजिक सद्भाव र एकता प्रदर्शन गरेका छन् ।

यस घटनाबाट नेपाली जनताले राजनीतिक दल र तिनका नेतृत्वदेखि स्थानीय तहसम्मलाई सुध्रिने अवसरका साथै खरो नैतिक दबाब र चेतावनीसमेत दिएका छन् । यसकारण मतदानको माध्यमबाट प्रकट भएको युवा भावना दलहरुप्रतिको आक्रोश र उत्तेजना मात्र हैन परन्तु युवाहरु देशको मुहार फेर्ने अनिवार्य आवश्यकता पनि हो ।

देशको राजधानी रहेको काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचनद्वारा इन्जिनियर बालेन्द्र साहको उदय भएको छ, तर कतिपय दलीय दास मनोवृत्तिका मानिसले साहको चमत्कारी नतिजालाई लिएर २०३८ सालमा रापसमा निर्वाचित नानीमैया दाहालको निर्वाचनसँग तुलना गरेको देखिन्छ । आफ्नो पराजय भएपछि काठमाडौंका मतदाता यस्तै हुन् भनेर अरुलाई दोष दिने गरिएको छ, तर दाहाल र साह यी दुवै निर्वाचित जनप्रतिनिधिको कालखण्ड फरक छ । नानीमैया एकैपटक रापसमा निर्वाचित भएकी हैनन्, त्यसअघि उनी आफ्नै स्थानीय गाउँपञ्चायतको उपप्रधानपञ्चमा निर्वाचित भएर राजनीतिमा सुझबुझ कमाएकी एक सचेत महिला हुन् । उनलाई काठमाडौंका जनताले ६५ हजार ७७७ मत त्यसै दिएका होइनन् । आजभन्दा ४० वर्षअघि काठमाडौंका मतदाताले नानीमैयाजस्ती ३२ वर्षीया एक युवतीलाई राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित गरेर पठाएका थिए ।

जहाँसम्म महानगरमा नवनिर्वाचित मेयर बालेन्द्र साहको सवाल छ– उनी एउटा सचेत शिक्षित युवक हुन्, उनलाई महानगरका मतदाताले लहडको भरमा निर्वाचित गराएका हैनन् । काठमाडौं उपत्यकामा जनमतको प्रसङ्ग उठाउँदा २०४८ सालपछिका सबैजसो निर्वाचनमा कम्युनिस्ट र काङ्ग्रेसले नै एकछत्ररुपमा शासन गर्दै आए तर उपत्यका भनेको कम्युनिस्टहरुकै गढ हो, जसलाई विगतमा सम्पन्न निर्वाचनले पनि पुष्टि गरेको छ । यसपटकको निर्वाचनमा एउटा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले महानगरको मेयर पदमा ६१ हजार ७६७ मतले निर्वाचित हुँदै गर्दा सम्बन्धित दलका उम्मेदवारलाई कम पीडा र छटपटी भएन । काठमाडौंको फोहोरलाई सामान्य व्यवस्थापन गर्न नसक्ने यसअघिका जनप्रतिनिधिप्रति काठमाडौंका मतदाता रतिभर सन्तुष्ट थिएनन् ।

त्यसैले उनीहरुले धेरै बालेन्द्र साहहरु खोजेका थिए । कारण के भने एमालेले २०५४ सालका मेयर केशव स्थापितलाई दलको उम्मेदवार एवम् नेकाले एउटी गृहिणी महिला सिर्जना सिंहलाई प्रत्यासी बनायो तर स्थापित र सिंह दुवै असफल उम्मेदवार साबित भए । सिर्जना सिंहको उम्मेदवारी प्रकाशमानले शेरबहादुर देउवालाई नेकाको सभापतिमा विराजमान गराएबापत पाएको उपहार थियो भने केशव स्थापित उनीभन्दा अलिकति योग्य हुँदाहुँदै पनि आफ्नो मनोनयन दर्ता गरेपछि गम्भीर भएर मतदातासमक्ष प्रस्तुत हुनुपर्ने एउटा उम्मेदवार जथाभावी बोल्न थालेपछि उनले आफैंले मत घटाएका हुन, हैन भने उपमेयरमा प्रत्यासी एमालेकी सुनिता डंगोलले ६८ हजार ६१२ मत ल्याउने, तर त्यही दलका मेयरले ३८ हजार ११७ मत प्राप्त गर्नुलाई महानगरका मतदाताले उम्मेदवार मन नपराएको प्रस्ट हुन्छ ।

यति हुँदाहुँदै पनि स्थापितलाई हराउन एमाले दलकै नेता रामवीर मानन्धरहरुको अन्र्तघातले समेत सहयोग ग¥यो भने सिर्जना सिंह गठबन्धनको साझा उम्मेदवार भएर पनि कलम र हँसिया हथौडाले रुख चिन्हमा मतदान गरेनन् ।कुनै पनि निर्वाचनमा एउटा विवेकशील उम्मेदवारले मतदाता र आफ्नो प्रत्यासीलाई कहिल्यै गालीगलोज एवम् अपमानजनक शब्दवाण गर्ने काम गर्दैन । त्यस प्रकारको चरित्रबाट आफ्नै मत घटाउनुभन्दा अर्को विकल्प रहँदैन । कैयाैं मध्येको एउटा ताजा उदाहरण हो– २०४८ सालको आमनिर्वाचनमा काठमाडौं जिल्लामा ५ वटा संसदीय निर्वाचन क्षेत्र कायम गरिएका थिए । निर्वाचनको क्रममा १ र ५ क्षेत्रबाट नेकपा एमालेका प्रतिभाशाली महासचिव एवम् जननेता मदनकुमार भण्डारी चुनावी मैदानमा रहेका थिए भने उता नेकाका प्रत्यासी हरिबोल भट्टराईले चुनाव प्रसारप्रचारको क्रममा यस क्षेत्रमा आफ्नो प्रतिद्वन्द्वी उम्मेदवार छैन भनेका थिए, जबकि त्यस क्षेत्रमा मदन भण्डारीजस्तो ऊर्जावान् व्यक्तित्व चुनावी मैदानमा थिए । मदन भण्डारीप्रति हरिबोलको प्रहार कीर्तिपुरे मतदातालाई अलिकति पनि मन परेको थिएन, जसको फलस्वरुप हरिबोल झन्डै १३ हजारको मतान्तरमा पराजित हुनुप-यो ।

यसको आशय के रह्यो भने, बरु उनले मदन भण्डारीलाई सम्मान गर्दा उनको पक्षमा केही मत बढ्ने थियो, तर विजयचाहिँ सम्भव थिएन । यस्तै महानगरको निर्वाचनमा पनि केशव स्थापितले मेरो प्रतिस्पर्धा सिर्जना सिंहसँग हुन्छ बालेन्द्र साहसँग हुँदैन भनेका थिए, तर निर्वाचन परिणाम के भयो सबैलाई अवगत नै छ । अहिले यिनै हरुवाहरुको दल महानगरमा बालेन्द्र साहलाई काम गर्न नदिएर कसरी असफल बनाउन सकिन्छ भन्ने पक्षमा तानाबाना बुनिरहेकै छन्, तर बालेन्द्रको पछाडि राजधानी मात्र हैन देशभर नै ठूलो जनमत छ । यसपटक काठमाडौं महानगरपालिकासहित १४ वटा पालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

दलगत राजनीतिमा स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुले दलका उम्मेदवार अयोग्य छन् भन्ने बुझ्न कठिन छैन । नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साहलाई महानगरमा काम गर्न त्यति सजिलो छैन । सरकार पक्ष र राजनीतिक दलहरु साहलाई असफल बनाउने पक्षमा भए पनि उनको पछाडि उनलाई मतदान गर्ने राजधानीका विवेकशील मतदाता रहेका छन् । विगतका जनप्रतिनिधिको असफलता आज राजधानी महानगरको फोहोर सभ्य समाजको लाज बनेर उभिएको छ र यसले नगरप्रमुखलाई चुनौती दिएको छ ।

प्रतिक्रिया दिनुहोस्