रवि लामिछानेद्वारा नयाँ दल दर्ता : पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ र चुनाव चिन्ह ‘घण्टा’



काठमाडौं ।

सञ्चारकर्मी रवि लामिछानले नयाँ दलको घोषणा गर्दै मंगलबार दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ र चुनाव चिन्ह ‘घण्टा’ प्रस्ताव गर्दै आयोगमा निवेदन परेको हो । राजनीतिक दलसम्बन्धी ऐन–२०७३ परिच्छेद –२ मा राजनीतिक दलको दर्ता, गठन र सञ्चालनसम्बन्धी प्रावधान रहेको छ ।

सो प्रावधानअनुरूप दल दर्ता गर्दा दलको घोषणापत्र र कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ । सोहीअनुरूप मंगलबार राष्ट्रियसभा गृहमा पार्टीको नाम घोषणा गरेर कान्तिपथस्थित निर्वाचन आयोग पुगेका लामिछानेले दल दर्ताका लागि निवेदन दर्ता गराउनुभएको थियो । लामिछाने सभापति रहेको सो दलमा २१ पदाधिकारी रहेको भने पनि लामिछानले अरू पदाधिकारीको नाम भने खुलाउन चाहनुभएन ।

आयोगबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले आफ्नो दलको सिद्धान्त संवैधानिक समाजवाद रहेको जनाउँदै अन्य दलभन्दा आफ्नो दललाई पृथक् बनाउने र सिद्धान्त बारेमा थप छलफल गरी अघि बढ्ने बताउनुभयो । यसअघि घोषणा सभामा लामिछानेले आफ्नो पार्टीमा सात विशेषता रहने बताउनुभयो ।आफ्नो पार्टीमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृ संगठन र कार्यकर्तारहित रहने बताउनुभयो । उहाँले कुनै पनि व्यापारिक र व्यावसायिक घरानाबाट चन्दा संकलन नगर्ने घोषणा गर्दै पार्टीका सदस्यबाट उठ्ने रकमबाट पार्टी चलाउने जानकारी दिनुभयो । लामिछानेले उद्यमी व्यवसायीले ढुक्क भएर व्यापार गरी सरकारलाई नियमअनुसार कर तिरे मात्र पुग्ने पनि बताउनुभयो ।

स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने लामिछानेको भनाइ रहेको छ । प्रस्तावित पार्टीका साता विशेषताहरूमा प्राथमिक निर्वाचन हुने, युवालाई ५० प्रतिशतको व्यवस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था, डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने, परिवारवादलाई पूर्ण रूपमा निषेध र भ्रातृ संगठन र कार्यकर्तारहित रहेका छन् । आध्यात्मिक मात्र नभई सचेतनाको प्रतीकका रूपमा चुनाव चिन्ह घण्टा रोजेको पनि लामिछानेको तर्क रहेको छ । उहाँले आफूले अब हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिनका निर्वाचन क्षेत्र निश्चित गरिनसकेको उल्लेख गर्दै देशका विभिन्न स्थानमा भ्रमण गरेर आवश्यक सल्लाह सुझावका आधारमा पछि निर्णय गर्ने बताउनुभयो ।

उहाँले आगामी चुनावमा स्वतन्त्र उम्मेदवार हुन खोज्नेहरूका लागि आफ्नो पार्टी राम्रो प्लेटफर्म रहेको बताउनुभयो । लामिछानले दल दर्ताका लागि निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । नयाँ दल दर्ताका लागि दिएको निवेदन ऐनले तोकेबमोजिम कागजात र विवरण संलग्न छ कि छैन भनेर हेरेर दर्ताको लागि प्रक्रिया अघि बढाइने आयोगका प्रवक्ता पौडेलले बताउनुभयो । प्रमुख पदाधिकारीले केन्द्रीय समितिको निर्णयसहित दलको विधान, घोषणापत्र, झण्डा, चिन्हको नमुना, कम्तीमा पाँच सय मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता र निजहरूको नागरिकता र मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहित हस्ताक्षरलगायत कागजात संलग्न गराउनुपर्ने छ ।

जाँचबुझबाट प्रस्तावित संविधान र ऐनबमोजिम दर्ता हुन सक्ने देखिएमा आयोगले दफा ५ को उपदफा (१) बमोजिम निवेदन परेको ४५ दिनभित्र त्यस्तो दल दर्ता गरी दल दर्ता प्रमाणपत्र र दर्ता हुन नसक्ने भए त्यसको कारण खुलाई निवेदकलाई जानकारी दिनुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्