तातो मनको चिसो मान्छे



विदुर गिरी

फिल्मप्रेमीले यो साता तातो मनको चिसो मान्छे हेर्न पाएका छन्। यो चिसो मान्छे तातो मन भएका चिसा मान्छेहरुको कथाका रुपमा अगाडि आएको छ। पशुपतिप्रसाद, आमाजस्ता सामाजिक फिल्मका लेखक तथा निर्देशक दीपेन्द्र के खनालले चिसो मान्छे फिल्ममा देखाउन त चिसा मान्छेका कथा देखाएका छन्। तर, फिल्मभरि तातो मनका चिसा मान्छे भेटिन्छन्।

फिल्ममा कतै सुखद् भविष्यको खोजीमा तातो मन बोकेर वैदेशिक रोजगारमा पुगेर अचानक चिसिएको मान्छे छ भने कतै सुखी जीवनको कल्पनामा तातो मन बोकेर कलिलो उमेरमै सिन्दुर पुछिन पुगी चिसिएकी चिसो युवती छे।

कतै शोक र भोकले रन्किएर तातिएका मनका चिसा मान्छे छन् भने कतै कोरोनाजस्तो प्राणघातक भाइरसको जोखिमका कारण तातिएको मनका निर्दयी चिसा मान्छे छन्। अनि कतै उच्च शिक्षा हासिल गरेर पनि रोजगारको अभावमा तातो मन बोकेर त्यस्तै सवारीको चालक बनेर आर्थिक तथा सामाजिक समस्या जुध्दै संघर्ष गरिरहेको चिसो युवकको कथा छ भने कतै सन्तानको आय आर्जनबाट बाँकी जीवन सुमधुर बनाउने आशासतिको तातो मनको वृद्ध अचानक बुढेसकालको सहारा गुमाउनु पर्दा चिसिएको मान्छे बन्नुपरेको कथा यसमा छ।

फिल्मभरि जीवनका विभिन्न आरोह अवरोहका कल्पना, परिकल्पना तथा आवेद, रोग, शोक, भोक र द्वन्द्वले तातिएका मन र तीनै कुरा पूरा हुन नपाएका चिसिएका मान्छेका कथा छन्। अनि परिस्थितिले चिसिएकी युवतीको सम्भावित नयाँ जीवनको परिकल्पनाले तातिएको मनको कथा छ। फिल्मका लेखकले एक मूलकथासँग एकपछि अर्को गर्दै लगातार सहायक कथामाथि कथा जोडेर संयोजन गरी फिल्मलाई बाँधेका छन् भने फिल्मको फस्ट हाफमा अनावश्यकरुपमा पटकथा तन्क्याइदिएका छन्।

सेकेन्ड हाफलाई भने रुचिकर बनाउँदै लगेर फिल्म टुंग्याएका छन्। संवाद थोरै प्रयोग गरेका छन्। तर, यथेष्ट महशुस गराउन लेखक सफल छन्। आफैले लेखेको कथा र पटकथा भएकाले फिल्मका निर्देशक कतिपय कुरा आप्mना पात्रलाई नबोलिकनै भनाउन सफल छन्। यसका लागि निर्देशकले विभिन्न पात्रका रुपमा खडा गरिएका कलाकारलाई प्रचुर मात्रामा आई कन्टयाक्ट र बडी ल्याङवेज प्रयोग गर्न लगाएका छन्।

फिल्ममा प्रयोग गरिएका कतिपय बाजुरेली भाषा बुझिँदैन, तर कलाकारको बडी ल्याङवेजलाई त्यसलाई पनि बुझाइदिन्छ। निर्देशकले पात्रहरुको मनोविज्ञानलाई पनि दर्शकले सजिलै बुभ्ने भाषामा प्रस्तुत गरेका छन् भने कमेडी नभए पनि मनोवैज्ञानिक भाषाको प्रयोग गरेर सिचुएसनल कमेडीमार्फत दर्शकको अधरमा मुस्कान छर्ने काम गरेका छन्। उनले पात्रहरुलाई रोमान्स नै नगराई आई कन्टयाक्ट, बडी ल्याङवेज र मनोवैज्ञानिक भाषाबाट रोमान्ससमेत गराइदिएका छन्।

निर्देशकले छायांकनको समेत अभिभारा बोकेको फिल्ममा उनले कतिपय ठाउँमा भने छायांकन पक्षमा सम्झौता गरेको प्रतित हुन्छ। तर, समग्रमा एउटै मानिसले छायांकन, लेखन र निर्देशन पक्षजस्ता गहन जिम्मेवारी सम्हालेर पनि फिल्मलाई रुचिकरसँगै सम्झनलायक बनाउन सफल भएका छन् निर्देशक । अब के होला भन्ने कौतुहलता जन्माइरहने फिल्मको कथाका कतिपय पक्षलाई भने उनले अनुत्तरित नै छोडेका छन् भने कोरियोग्राफर नराख्नु कमजोरी भएको महशुस फिल्म हेर्नेले गर्न सक्छन्।

गीत, संगीत फिल्मको कथा सुहाउँदा छन् भने फिल्म सम्पादकले फस्ट हाफमा निर्देशकलाई हावी हुन दिएका छन्। अभिनय पक्षको कुरा गर्दा फिल्मबाट सबैभन्दा बढी फाइदा स्वस्तिमा खड्काले लिएकी छन्। बाजुराको स्थानीय भाषा र भेषसँगै उनले हाउभाउ तथा फेसियल एक्सप्रेसन र बडी ल्याङवेजले फिल्मभरि दर्शकलाई बाँधिरहन्छिन्। अर्पण थापा र देशभक्त खनालले पनि यस्तै प्रीतभाका साथ दर्शकलाई आकर्षित गरको छन् भने अन्य कलाकारको काम पनि प्रशंसनीय छ। समग्रमा, बजारमा चलिरहेको व्यावसायिक टझेन्डभन्दा बाहिर गएर भिन्न स्वाद मन पराउने दर्शकका लागि फिल्म निकै मन पर्नेछ।

चिसो मान्छेभित्र
निर्माण संस्था: डीएस डिजिटल
निर्मात्री: शर्मिला पाण्डे
लेखन, निर्देशन तथा छायांकन: दीपेन्द्र के. खनाल
सम्पादन: दीर्घ खड्का
बाजुरेली संवाद अनुवाद: डिबी खड्का
बाजुरेली संवाद संयोजन:शोभा थापा
संगीत: सुभाष भुसाल
गायन: निकिता थापा
देउडा गायन: रेखा जोशी
गीत रचना: सहदेव अर्याल
देउडा रचना: हर्क साउद
कलाकारहरु: अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बिसी, संजोग रसाइली, पुष्पा अवस्ती, सृष्टी आचार्य, विकास खनाल आदि।

प्रतिक्रिया दिनुहोस्