गणेशमान सिंहका कान्छा भाइ भोगेन्द्रमान पुलिसको गोलीले शहीद बने

(महेन्द्रमान सिंहद्वारा लिखित ‘फरइभर इन्कम्प्लिट– दी स्टोरी अफ नेपाल’ पुस्तकको च्याप्टर ५ मा पर्ने ‘विक्रम संवत् २००७ साल’ शीर्षकको शिवलाल श्रेष्ठद्वारा अनुदित नेपाली अंश– १२)



राणा प्रधानमन्त्री मोहन शमशेरका लागि महत्वपूर्ण कुरा बालक राजकुमार ज्ञानेन्द्रलाई बृटिस र अमेरिकनले राजा स्वीकारिदिऊन् भन्ने थियो ।

एकपटक उनीहरुले त्यस्तो मान्यता प्रदान गरेको खण्डमा काठमाडौंबाहिरका जिल्लामा जस्तोसुकै प्रतिकुल परिस्थिति रहेको भए तापनि काठमाडौंभित्रको विद्रोहलाई निमिट्यान्न पार्न सकिने उनको विश्वास थियो । त्यसलाई मूर्तरुप दिन उनले बृटिस एम्बेसडरमार्फत कार्य अगाडि बढाएका थिए । स्थिति मूल्यांकन गर्न बृटेनले दुईजनाको निरीक्षण टोली, जसमा दिल्लीको डेपुटी हाई कमिसनर फ्रयाङ्क रोबर्टस तथा सुदूर पश्चिमतर्फमध्येका प्रमुख एम्बेसडर एवं काठमाडौंका लागि परराष्ट्र मामिला विशेषज्ञ एस्टर डेन्निङ्सलाई काठमाडौं पठाउने निर्णय ग-यो । उनीहरु डिसेम्बर ३ मा काठमाडौं जाने कार्यक्रम तय भयो ।

काठमाडौंका लागि भारतीय राजदूत सी.पी.एन. सिन्हालाई काठमाडौं आउन लागेको बृटिस टोलीको अभियानको मुख्य उद्देश्यको भनक लागेको थियो । यदि उक्त टोलीले राणा शासनको हकमा रिपोर्ट तयार गरी पठायो भने पछिल्लो केही महिनादेखि राजा त्रिभुवनसँग मिलेर जुन प्रयास गरेको थियो सबै खेर जाने र सम्भवतः भविष्यमा भारतको नेपालप्रतिको रणनीतिमाथि पनि प्रतिकुल प्रभाव पर्न सक्ने थियो । उनले प्रथम सचिव एस.के. सिन्हालाई आफ्नो कार्यकक्षमा बोलाए र तत्सम्बन्धमा गम्भीर विचार विमर्ष गरेपश्चात् निज प्रथम सचिवलाई एउटा अभियानमा खटाए ।

एस.के. सिन्हा दूतावासबाट गाडी लिएर शहरतिर निस्के । उनी सबैभन्दा पहिला नयाँ सडकस्थित पेट्रोल पम्पनिर आएर रोकिए, जहाँ गणेशलाल मानन्धर, भीमवरसिंह प्रधान र उनका साथीहरु गफ गरिरहेका थिए । सिन्हाले उनीहरुलाई बृटिस टोली आउन लागेको खास उद्देश्यबारे सूचित गरेर आफ्ना समर्थक साथीहरु जम्मा भई राजा त्रिभुवनको समर्थनमा नारा–जुलुस निकाल्न सल्लाह दिए । त्यहाँबाट उनी इन्द्रचोकस्थित बी.एल. शर्माको मिठाई पसलमा पुगे । शर्माले विशिष्ट व्यक्तिलाई माथिल्लो तल्लाको बैठक कोठामा लगे ।

सिन्हा शहरतिर आएको सुनेर उनका साथीहरु मक्बुल शाह, इकरामुद्दिन र केही अन्य व्यक्ति तरङ्गित बनेका थिए । इन्द्रचोक आइपुगेका मानन्धर र प्रधान समूहले काठमाडौं शहरका घरघर पुगेर होहल्ला मचाउन थाले भने पाटनमा समेत खबर पैmलाए । मानन्धर साइकलमा भक्तपुर गएर उक्त खबर पैmलाउँदै त्यहाँका जनताको समर्थनका लागि आह्वान गरे ।

शान्ता श्रेष्ठ र प्रभा नेपाली, भर्खरका दुई किशोरीहरु एअरपोर्टमा भेला भइरहेका जनसमूहको भीडभन्दा केही वरतिर उभिइरहेका थिए । शान्ति निकुञ्ज विद्यालयका विद्यार्थी उनीहरु आफ्नै विद्यालयका साथीहरु र शिक्षकहरुसँग एअरपोर्टमा आएका थिए । नेपाल महिला संघका महिलाहरुले भरेको लरी त्यस क्षेत्रमा प्रवेश गरेसँगै त्यहाँको वातवरणमा धूलोको पातलो बादल उठेको थियो । उपत्यकाका तीनै शहरबाट र त्यसका आसपासका क्षेत्रहरुबाट समेत गरी हजारौं हजारको संख्यामा जनसाधारणको ओइरो लागेको थियो र मानिसहरु आउने क्रम जारी रहेकै थियो । जाडो यामको घमाइलो दिन भएकाले भेलामा जम्मा भएका मानिसहरु घाम ताप्दै धैर्यताका साथ दिल्लीबाट आउने उडान पर्खी बसेका थिए ।

दह्रो निश्चयता जनसाधारणमा व्याप्त थियो । झन्डै दिउँसोको २ः३० बजेतिर दूरदराजको पहाडमाथिबाट एउटा हवाईजहाज उड्दै उपत्यकाभित्र छिरिरहँदा मसिनो भुनभुनाहट सुनिएको थियो । जसै हवाईजहाज अवतरणपूर्व उपत्यकाको दुई चक्कर लगाइरहेको थियो, भेला भएका जनसमूह आ–आफ्ना ठाउँमा ज-याकजुरुक उठेर त्यसलाई हेर्न थालेका थिए । हवाईजहाज अवतरणपछि पूर्णरुपमा रोकिनुअगावै हजारौं जनसमूहले उक्त हवाईजहाज र त्यसमा सवार बृटिस प्रतिष्ठित व्यक्तिहरु लैजानका लागि ल्याइराखेका कारलाई चारैतिरबाट घेराबन्दी गरे । प्रहरीहरुले एअरपोर्टको सुरक्षा जाँच गरी भीडलाई अधीर भावले हेरे ।

जसै रोबर्टस् र डेन्निङस् हवाईजहाजबाट ओर्लिन थालेका थिए, कसैले चिच्याएर ‘बृटिस आयोग (बृटिस मिसन) फर्केर जाऊ (गो ब्याक) ! त्रिभुवन हाम्रा राजा हुन् (त्रिभुवन इज आवर किंग) ! राणा शासन मुर्दावाद !’ को नारा लगाए । पहिलाका दुईवटा नारा अंग्रेजीमा लगाएको हुँदा उनीहरुले बुझे तर तेस्रो भने नेपालीमा प्रचलित भइसकेको नारा भएकोले नेपालीमा नै लगाएका थिए । नेपालीमा लगाइएको नारासँगै भेला भएका जनसमुदायले त्यस नारालाई लिएर बेसरी आवाज निकाल्दै ‘राणा शासन मुर्दावाद ! श्री ५ त्रिभुवन जिन्दावाद ! इन्कलाब जिन्दावाद !’ को नारा चर्कोसँग लगाए ।

शान्ति निकुञ्ज विद्यालयका शिक्षकहरु अग्रपङ्क्तिमा सम्मिलित रहेका र तुलनात्मक रुपमा एउटा सानो समूहले ती विदेशीहरुको नजिकै ‘बृटिस आयोग फिर्ता जाऊ ! त्रिभुवन हाम्रा राजा हुन् !’ भन्ने ठूलो स्वरमा लयबद्ध तरिकाले लगातार नारा लगाइरहेको थियो । उनीहरुका शिक्षकहरुले उनीहरुलाई प्रशिक्षण दिएका थिए र उनीहरुले त्यस नाराको अनेक पटक अभ्यास पनि गरेका थिए । शान्ता श्रेष्ठ, प्रभा नेपाली र उनीहरुका स्कूले साथीहरुले पनि आ–आफ्नो ठूलो किशोर आवाजमा ‘हामी राजा त्रिभुवनलाई चाहन्छौं ! राणा पतन होस् ! राजा त्रिभुवन अमर रहुन् !’ भनिरहेका थिए । टसमस गर्ने अवस्था नभएका् र कारभित्रै बस्न बाध्य आयोग टोली पनि चौतर्फी त्यत्रो हल्लापूर्ण अवस्थामा समेत आपूmहरुलाई सक्दो अप्ठ्यारो नभएको देखाउन प्रयासरत थियो ।

प्रहरीले कार्यवाही शुरु ग¥यो । शुरुमा लाठी प्रहार ग¥यो तर त्यसको प्रभाव पर्याप्त नभएपछि गोली दाग्यो । साधारणतया यस्ता मुठभेडमा मोटो लाठीको प्रहारले टाउको फुट्छ वा हड्डी भाँचिन्छ रिस र पीडाको चित्कार सुनिन्छ । शान्ता श्रेष्ठ सक्दो बेस्सरी चिच्याउँदै बन्दुक बोकेको प्रहरीमाथि जाइ लागिन् । तिनको उद्धारार्थ अरु व्यक्ति आइपुगुन्जेलसम्म तिनीमाथि प्रहार गरिएको लाठीको टुप्पाले तिनको टाउकोमा बज्रन भ्याइसकेको थियो । टाउकोबाट निधारमा रगत बग्दै गरेको र रन्थनिएकी तिनलाई बृटिस आयोग टोली बसिरहेको कारछेउमा लगियो ।

के भइरहेको छ भन्ने कुरा बिर्संदै उनले चिच्याउँदै र दृढताका साथ राजा त्रिभुवनको फोटो र हस्तलिखित याचिका पत्र कारमा बसिरहेका मिसन टोलीमध्ये एकको हातमा थमाइदिइन् । तिनको हात युवारक्तले अनुरञ्जित थियो । ती बृटिसले त्यहाँको घटना र जनताको माग प्रत्यक्ष एवं मनग्य देखिरहेका थिए ।बृटिस टोलीबाट आफ्नो पक्षमा रिपोर्ट तयार गराउने राणाहरुको योजना जनताले गरेको उक्त प्रदर्शनले फुस्सा भएको थियो । सरकारले जनताविरुद्ध चरम एवं अमानवीय तवरले आफ्नो रिस र द्वेष पोख्यो । राणाको त्यस कार्यले उनीहरुविरुद्ध जनतालाई थप प्रदर्शनमा उतार्न उक्साउने काम मात्र भएको थियो ।

२६ डिसेम्बरमा भएको त्यस्तै एउटा प्रदर्शनको नेतृत्व एक २० वर्षीय युवा विद्यार्थी भोगेन्द्रमान सिंहले गरेका थिए । भावनात्मक तवरमा चरम उत्तेजना र आन्दोलित अवस्थाका झन्डै ५० हजार जतिको जनसाधारण राणा शासकविरुद्ध नारा लगाउँदै कदममा कदम मिलाएर शहरको वरिपरि गइरहेका थिए । झ्यालखाना तोडेर राजबन्दीहरुलाई आजाद गराउने दृढताका साथ भोगेन्द्रमान सिंहले नेतृत्व गरिरहेको टोली भद्रगोल जेलतर्पm लाग्यो । भोगेन्द्रमानको लागि त्यस जेलबाट आफ्नो ठूलो दाजु गणेशमान सिंहलाई मुक्ति दिलाउनु पनि रहेको थियो । पहरेदारहरुले आगाडि बढिरहेको हुलमाथि अन्धाधुन्ध गोली चलायो ।

धेरैजनालाई गोली लाग्यो र घायल भए । उक्त टोलीको नेतृत्व गरिरहेका भोगेन्द्रमानलाई गोलीको फोहराले भेट्टायो भने अन्य दुईजना देवमान शाक्य र तिलकमान मास्केलाई सीधै टाउको र छातीमा गोली लाग्यो । उनीहरु ढलेपछि भीड पछि हट्यो । पुलिसले गोली लागेर ढलेका ती तीनजनालाई निर्ममताका साथ बोरामा कोचेर घिसार्दै उपचारको लागि सैनिक अस्पतालतिर लगे । मास्के बाँचे तर केही दिनपछि शाक्यको लास नदीछेउमा फ्याँकिएको अवस्थामा फेला प-यो ।

अस्पताल गएकी भोगेन्द्रकी आमा, काकी र भीनाजुले मृतप्रायः भोगेन्द्रलाई अझै पनि एउटा झुत्रो बोरामा राखेर लापर्वाहीसँग भ-याङमुनि फ्याली राखेको अवस्थामा फेला पारे । उनीहरुले अचेत भोगेन्द्रलाई घरमा लगे, दुई दिनपछि उनी शहीद भए । घरमा १३ दिनको जुठो चोख्याउने रीतिरिवाजको लागि तयार भइरहँदा गणेशमानले जेलमा असीमित बिस्मात्को साथ त्यस दुःखद् घटनाबारे सुने । उनका कान्छा भाइ बच्न सक्थे तर उनले ठूलो बलिदान दिएका थिए । झन्डै तीन वर्ष जेल बसेका गणेशमान सिंह र उनका अर्का भाइ, शंकरमान सिंह (मोती काजी) दुखित मन लिएर उक्त जुठो चोख्याउने प्रथामा उपस्थित थिए ।

शंकरमान बनारस हिन्दू विश्वविद्यालयमा माइनिङ इन्जिनियरिङका विद्यार्थी थिए । उनी बिदामा घर आएको बेलामा भोगेन्द्रलाई पढाउँथे । उनका सम्झनामा भोगेन्द्र एक तेजिला र होनहार ठिटो थिए ।

(यसभन्दा अगाडि जेठ २४ गते मंगलबार प्रकाशित लेखमा नेपाली अंश–११ हुनुपर्नेमा अन्यथा भएकाले भूलसुधार गरिएको छ । क्रमशः अर्को मंगलबार)

प्रतिक्रिया दिनुहोस्