अस्पतालका कर्मचारीले नवजात शिशुको टाउको काटेर महिलाको गर्भमा छोडेपछि…



एजेन्सी ।

पाकिस्तानको सिन्ध प्रान्तको ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले एक नवजात शिशुको टाउको काटेर आमाको पेटभित्रै छोडिदिएपछि ३२ वर्षीया महिलाको ज्यान जोखिममा परेको छ ।

उक्त दुखद घटनाबारे छानविन गरी दोषी पत्ता लगाउन सिन्ध सरकारले मेडिकल जाँच बोर्ड गठन गरेको छ । ‘थरपार्कर जिल्लाको दूर गाउँकी हिन्दू महिला पहिले आफ्नो क्षेत्रको ग्रामीण स्वास्थ्य केन्द्र (आरएचसी) गएकी थिइन् । तर, महिला रोग विशेषज्ञ उपलब्ध नभएकोले अनुभवहीन कर्मचारीले उनलाई ठूलो आघात पुर्यायो’, जामशोरोको लियाकत विश्वविद्यालय चिकित्सा तथा स्वास्थ्य विज्ञान (एलयूएमएचएस)का स्त्री रोग एकाईका प्राध्यापक राहिल सिकन्दरले भने ।

अप्ठ्यारो शल्यक्रियामा आरएचसीका कर्मचारीले आमाको पेटमा रहेको नवजात शिशुको टाउको काटेर भित्रै छोडिदिएको उनले बताए । ती महिलाले ज्यान जोखिममा परेपछि उनलाई परिवारले नजिकैको मिठी अस्पतालमा लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि अन्ततः उनलाई एलयूएमएचएस लगिएको थियो, जहाँ नवजात शिशुको बाँकी शव आमाको कोखबाट निकालेर उनको जीवन बचाइएको थियो ।

सिकन्दरले बच्चाको टाउको भित्रै फसेको, आमाको पाठेघर च्यातिएको र ज्यान जोगाउन उनको पेट खोलेर शल्यक्रिया गरेर टाउको निकाल्नु परेको बताए ।

प्रतिक्रिया दिनुहोस्