चन्द्र र जीवन पहिलो



काठमाडौं । 

नेपाल माझी उत्थान संघ, सुनसरीका चन्द्रबहादुर माझी र जीवन माझी प्रथम खुला डुंगा प्रतियोगिताको सिंगल्समा पहिलो भएका छन् । उनीहरुले निर्धारित १२० मिटर दूरी १ मिनेट २२ सेकेन्डमा पूरा गरे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा रामेछाप जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रतियोगितामा नेपाल माझी उत्थान संघ, रामेछापका जनक माझी र बुद्धिमान माझी (१ मिनेट ३२ सेकेन्ड) दोश्रो तथा नेपाल माझी उत्थान संघ, सिन्धुलीका दीपक माझी र साजन माझी (१ मिनेट ३३ सेकेन्ड) तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।

रामेछापको मन्थलीस्थित सेलेघाटमा भएको प्रतियोगिताको डबल्समा नेपाल माझी उत्थान संघ, सुनसरीका चन्द्रबहादुर माझी, जीवन माझी, जितेन्द्र माझी र भेषबहादुर माझी पहिलो बने । उनीहरूले निर्धारित १२० मिटर दूरी १ मिनेट ५३ सेकेन्डमा पार गरे । नेपाल माझी उत्थान संघ, रामेछापका रामबाबु माझी, कुश्मान माझी, काले माझी र भरत माझी १ मिनेट ५९ सेकेन्डमा दोश्रो भए ।

तेश्रो स्थानका नेपाल माझी उत्थान संघ, रामेछापका सन्तोष माझी, बलबहादुर माझी, शान्ति माझी र कुमार माझीले २ मिनेट १२ सेकेन्डमा दूरी पूरा गरे । पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाए । डुंगा प्रतियोगिताको सिंगल्समा २ जना र डबल्समा ४ जनाले खेल्न पाउने प्रावधान राखिएको थियो ।मन्थली नगरपालिकाको सहयोग तथा नेपाल माझी उत्थान संघ, रामेछापको समन्वयमा भएको एकदिने प्रतियोगितामा १ सय खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्