बनेपाको बन्द खानी खुलाउन ‘दबाब’



 काभ्रे ।

सुख्खा पहिरो गई मजदुर पुरिएको बनेपा नगरपालिका १४ स्थित आशापुरी रोडा ढुंगा सप्लायर्स प्राली पुनः संचालनका लागि दबाब दिईएको छ । नयाँ जनप्रतिनिधि निर्वाचित भए लगत्तै खानी संचालनका लागि बजेट निर्माणका क्रममा राजश्वको प्रभाव देखाउँदै कर्मचारी, जनप्रतिनिधि र ब्यवसायीहरुको अप्रत्यक्ष दबाब शुरु गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक पटक उक्त खानी संचालन बन्द गर्न निर्देशन दिए पनि मापदण्ड विपरित सञ्चालन भईरहेको खानीमा २०७८ फागुन १५ गते सुख्खा पहिरो गई मजदुर पुरिएका थिए । बनेपा नगरपालिकाले अख्तियारको पत्र अनुसार २०७८ साउन १५ गते खानी बन्द राखी खानीको अवस्थाको अध्ययन गर्ने प्रयोजनका लागि अनुमगन कार्यदल गठन गरिएको थियो ।

तत्कालिन वडा अध्यक्ष गौरी राउतको अध्यक्षतामा गठित कार्यदलले २३ बुँदे मापदण्ड अनुसार अधिकांश बुँदा मापदण्ड विपरित भएको सुझाव पेश गरेको थियो । ‘खानी मुख्य बस्तिदेखी मेशिन उपकरणको प्रयोग गर्ने दुरी १ सय २० मिटर रहेको, सडकबाट ७ सय मिटर रहेको, विद्यालय र खानी बीचको दुरी १ सय मिटर रहेको, खानी र ऐतिहासिक आशापुरेश्वर मन्दिरको दुरी १ सय ७२ मिटर रहेको, खोला र खानी सँगै रहेको निश्र्कष बुझाएको थियो’–तत्कालिन बनेपा नगरपालिका वडा नम्वर १४ का अध्यक्ष गौरी राउतले भन्नुभयो–‘नगरपालिकाले प्रतिवेदन कार्यान्वयनमा आलटाल गरेकै कारण खानी नियमित संचालन गरिरहेकाले दुर्घटना भएको हो । फेरी संचालनका लागि दबाब दिन शुरु गरिएको खवर सुनिएको छ ।’

‘खानी संचालन गरिरहेको स्थलबाट विद्यालय, सडक, वन, मन्दिर, खोला दुई सय मिटर भित्र परेकाले ढुंगा गिट्टी बालुवा उत्खनन विक्री तथा ब्यवस्थापन सम्वन्धी मापदण्ड २०७७ को दफा ११ बमोजिम मापदण्ड पुगेको छैन’– निवर्तमान अध्यक्ष राउतले भन्नुभयो–‘खानीका कारण स्थानीय सडक र अन्य संरचनामा क्षति पुगेको छ ।’ अनुगमन कार्यदलमा तीन जना वडा अध्यक्ष, एक कार्यपालिका सदस्य, उद्योग बाणिज्य संघको प्रतिनिधि, प्रहरी, सर्भेयर, ईन्जिनियर, सब इन्जिनियर, राजश्व अधिकृत गरी ११ जनाको सहभागिता रहेको थियो ।

बनेपा नगरपालिकाले खानी क्षेत्रबाट उत्खनन तथा विक्री हुने ढुंगा तथा गिट्टीको निकासीमा कर उठाउँदै आएको थियो । आर्थिक वर्ष २०७८÷२०७९ मा नगरपालिकाले ठेक्का लगाएन तर पनि खानी निरन्तर सञ्चालन भईरह्यो । खानीले प्रयोग गर्ने क्षेत्र पालना नभएको, संकलन तथा ढुवानीको समय पालना नभएको, निकालिने परिणामको पालना नभएको, दैनिक उत्खनन अभिलेख नभएको, फोहोर पानी प्रशोधन नगरी खोलामा मिसाईएको प्रतिवेदन नगरपालिकामा बुझाईएको थियो । बजेट छलफलका क्रममा खानी संचालनका लागि संचालकहरुका तर्फबाट कर्मचारी र जनप्रतिनिधिले बोर्ड बैठकमा प्रस्ताव राखेका थिए ।

असुरक्षित खानी

२०७८ साल फागुन १५ गते रामेछाप जिल्ला शैलुङ्ग गाउँपालिका ४ घर भई प्रदेश ३००००३ क ५७४८ नम्वरको टिपर चलाउँदै आएका चालक श्याम मगर ढुङ्गा राख्दै गरेको अवस्थामा खानीको ढिस्को खसेका कारण किचिएका थिए । दिउसो ११ बजे पनि उक्त खानीमा ढिस्को खसेको थियो । खानीका प्राविधिक तथा अन्य कर्मचारीहरुले अवस्थाको आंकलन नगरी निरन्तर ढुंङ्गा टिपरमा भरिरहेका कारण श्याम मगरको निधन हुन पुगेको थियो । खानीमा दुईवटा स्काभेटर, पाँचवटा टिपर र दुईवटा निशान पुरिएका थिए । विवादीत जग्गामा खानी

२०६८ साल पुष १८ गते खानी तथा भु–गर्भ विभागको च.न ९१६ मा दर्ता भएको आशापुरी रोडा ढुंगा सप्लार्यस प्रालीलाई जिल्ला विकास समितिले २०६८ पुष २० गते हरेक वर्ष नविकरण गर्ने गरी अनुमति दिएको थियो । अनुमति लिई कार्य शुरु गरे लगत्तै स्थानीयहरुले खानी संचालन हुँदा विद्यालय, मन्दिर, खोला, सडक, वनलाई क्षति पु-याउने भन्दै रोक लगाउन माग गरेका थिए । खानीसँग यि सबै क्षेत्र जोडिएका छन् । स्थानीयको मागलाई सर्वाेच्चले शुरुमा रोक लगाए पनि पछि संचालनको आदेश जारी ग-यो ।

सर्वाेच्चको आदेशका आधारमा बनेपा नगरपालिकाले चार वर्ष अघि खानी संचालनका लागि ठेक्का लगाउने सूचना जारी ग-यो । तर पनि स्थानीयहरुले विवादित जग्गामा खानी संचालन गरेको भन्दै विरोध गर्दै आएका थिए । अहिले पनि जग्गाको विवाद सर्वाेच्च अदालतमा विचाराधिन छ । खानी संचालनको अनुमति विभागले एकै पटक १५ वर्षका लागि दिएको थियो । खानी संचालनका लागि कम्पनीका नाममा ६५ रोपनी जमिन खरिद भएको छ भने स्थानीय टुल्कु लामा, सन्तकुमार लामा, सोनाम लामा, उद्धव लामा र सुरेन्द्र सुवालका नाममा रहेको ७५ रोपनी जमिन मावलीको अपुताली आफ्नो हुनु पर्ने भन्दै साविक भुमेडाँडा गाविसका बलबहादुर तामाङ, संजय तामाङ र विरबहादुर तामाङले दुषित बदरको मुद्दा दर्ता गराएका छन् ।

पाँच जना मिलेर आफ्नो हकभोग खोसी जग्गा दर्ता गरेको उनिहरुको आरोप छ । पाँच जनाले १० वर्षका लागि जग्गा भाडामा लगाएका छन् । जग्गाधनी टुल्कु लामाले चालु वर्षको अन्त्यबाट कम्पनीलाई भाडामा दिएको जग्गाको अवधी सकिने बताउनु भयो । लामा अहिले सोहि वडाको वडाअध्यक्ष हुनुहुन्छ ।

खानी दर्ता, संचालन क्रसर पनि

खानी दर्ताको अनुमति लिएको आशापुरी रोडा ढुंगा सप्लायर्स प्रा.लीले खोलाकै छेउमै क्रसर संचालन गरेको छ । क्रसर र खानीका कारण ऐतिहासिक आशापुरी मन्दिर, विद्यालय, खोला, बन र सडकलाई असर परिरहेको छ । निरज थपलिया, भिम श्रेष्ठ, रवि श्रेष्ठ र रामहरी पाठकका नाममा दर्ता भएको खानी भए पनि निरज थपलियाले जिम्मेवारी लिई संचालन गरिरहेको कर्मचारी रामशरण बस्नेतले जानकारी दिनु भयो । उक्त खानीमा तत्कालिन नगर प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठको समेत लगानी रहेको थियो ।

उक्त खानी र क्रसरबाट उत्पादित सामाग्री अरनिको राजमार्ग स्थित साँगा र भक्तपुरको सिमाना नयाँ बनेको झोलुङ्गे पुल मुनी सडक छेउमा थुपारेर सडकलाई क्षति बनाएको स्थानीयको आरोप छ । २०७२ को भुकम्प पछि देशभरका खानी र क्रसरहरु नविकरण भएका छैनन तर पनि संचालन भएका छन ।

समानान्तर निर्माण सेवाका म्यानेजिङ्ग डाईरेक्टर समेत रहेका निरज थपलियाले उक्त कम्पनी हेर्दै आएको कर्मचारी बस्नेतले बताउनु भयो । उक्त खानीबाट उत्पादित सामाग्री अरनिको राजमार्गको साँगा तल मोडमा झोलुङ्गे पुल नजिकै थुपारेका कारण सडक र मन्दिर समेत संकटमा परेको भन्दै पटक पटक उजुरी परेको थियो । स्थानीय प्रशासनले पनि उक्त खानी बन्द गर्न निर्देशन दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्