समय र छालले कसैलाई पर्खंदैन



  • पेशल आचार्य

स्थानीय चुनावका केही झुर्काझुर्की रमाइला कुराहरू र रहलपहल फेन्टासी अझै बाँकी रहेका छन् । कुल स्थानीय तहहरूमा जितेका सिट संख्याका आधारमा अहिले विश्लेषण भैरहेका छन्– पहिलो पार्टी नेपाली कांग्रेस, दोस्रो नेकपा एमाले, तेस्रो माओवादी केन्द्र, चौथो जसपा, पाँचौं लोसपा, छैटौँ राप्रपा, सातौं राप्रपा नेपाल अनि क्रमशः विवेकशील साझा, जनमोर्चा र नेमकिपा आदि ।

रमाइलो कुरा त के छ भने, सिटका आधारमा पहिलो पार्टी कांग्रेस बने पनि पपुलर भोटका आधारमा एमालेले कांग्रेसलाई ७ लाख मतले उछिनेर पहिलो पार्टी भएको छ । त्यसै आधारमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टीलाई फाइदा हुने खालका दिनहुँ केही न केही राजनीतिक फन्डाहरू बोलिरहेका छन् । यद्यपि उनको पार्टीभित्र पुनः वैचारिक नेता घनश्याम भुसाललगायत अन्य दश भैयालाई कारबाहीका गृहकार्यसमेत भएका गाइँगुइँ हल्लाहरू समाचारहरूमा बाहिर आइरहेका छन् ।

यसरी राष्ट्रिय राजनीतिका केन्द्रीय नेताहरू केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालहरूले नै समाचार स्कुप पुग्ने खालका बेढङ्गका कुराहरू बोलिरहेकाले सत्तारुढ दलका नेता, सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले छुट्टै केही भाषण गरिरहनुपरेको छैन । उनी नेकपा समाजवादीले मन्त्री फेरबदलबारे गरेको निर्णयलाई नयाँ बजेट पास गराएर मात्र लागू गर्ने पक्षमा छन् । सो बेला विदेशी दातृ राष्ट्रले दिएको सल्लाह मानेर उनले अर्थमा जनार्दन शर्माका ठाउँमा वर्तमान सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र गृहमा माओवादीका नारायणकाजी श्रेष्ठलाई लैजाने आन्तरिक तयारी गरेको समेत बुझिएको छ ।

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले काठमाडौंको हात्तीगौँडामा नील डेभिड सैलुनको १६ औं वर्षगाँठका अवरसरमा गत शुक्रबार एक भव्य समारोहबीच नील डेभिड सैलुनको १६ औं शाखाको उद्घाटन गरे । सो उद्घाटन कार्यक्रममा नेपाली चलचित्रका सदाबहार अभिनेता भुवन केसी, अभिनेत्री सञ्चिता लुइँटेल, अन्तर्राष्ट्रिय हेयर स्टाइलिस नील डेभिड कटुवाल र सांसद गगन थापाले संयुक्तरूपमा सो उद्घाटन गरेका हुन् ।सामाजिक सञ्जालमा उनले गरेको सो उद्घाटनलाई लिएर निकै रोमाञ्चक गसिपहरूसमेत भएका छन् ।

महामन्त्री गगन थापाले मल कारखानाको उद्घाटन गरेको समाचार सानदाररूपमा सञ्चारमाध्यममा आएको हुन्थ्यो भने सोको सकारात्मक फ्लेभर देशैभरि जान्थ्यो भन्ने खालका कुराहरू गरिए । देशभरि खेतीपातीका बेला युरिया र डीएपीजस्ता रासायनिक मलहरू नपाएर किसानहरू हाहाकार हुँदा भोलिका प्रधानमन्त्रीसमेत हुने ल्याकत राख्ने र आजका लाखौं युवाहरूका धुकधुकी सांसद गगन थापाले संसद् बैठकमा किसानका हकहित र मल अभावबारे बोल्छन् अनि सरकारलाई मल किन्न दह्रो पाराले घचघच्याउँछन् भन्ने किसानहरूको आशामा यसपटक नराम्रोसँग पानी फ्याँकियो ।

उनले केही बोलेनन् बरू बोले यातायात व्यवस्था विभागले सबै खाले सवारीसाधनलाई आगामी साउन १ गतेदेखि अनिवार्यरूपमा लागू गर्न खोजेको ‘इम्बोस्ड नम्बर प्लेट’का बारे । सो नम्बर प्लेटका बारेमा बोलेर यस बेला मल नपाएर हैरानी खेपिरहेका किसानहरूलाई केही राहत दिँदैन ।उनले त अहिले मलका बारेमा धेरै कुरा बोल्न सक्थे । निर्णय गर्ने पार्टीको आधिकारिक बडी र संसद्मा उनी प्रभावकारी स्थानमा छन् तर पनि बोलेनन् । किन बोलेनन्, यसका धेरै अर्थहरू लगाउन सकिएला तर सोझो र सरल अर्थ लगाउने हो भने उनले किसान र कृषि कार्यलाई प्राथमिकतामा राख्न चाहेनन् । प्राथमिकतामा राख्न नचाहनु उनको र उनी सम्बद्ध पार्टीको रूचिको विषय होला । जनतालाई त्यता पनि लिनुदिनु केही छैन तर उनी सम्बद्ध पार्टीको नेतृत्वमा यतिखेर मुलुकमा गठबन्धनको सरकार छ ।

यो बेलामा किसानहरूलाई राहत नदिनु भनेको सोझै खेतबारीहरू बाँझो राख भन्नु हो तर सरकारले आउँदो आर्थिक वर्षको बजेटमा किटेरै ‘खेतबारी बाँझो राख्ने किसानहरूलाई १ लाख रूपियाँ जरिबाना गर्ने भनेर आदेश फर्मान गरेको छ । यसरी विवादास्पद कुराहरू गरेर जनतालाई अलमल्याउन खोजिएको हो भने नजिकिँदै गरेको आगामी संघीय र प्रादेशिक चुनावमा सरकारमा सहभागी अझ खासगरी नेतृत्व लिने पार्टी नेपाली कांग्रेसलाई अहिलेका मौनता र विवादास्पद नीतिहरू महँगा नपर्लान् भनेर भन्न सकिन्न ।

अहिले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका बालेन शाह र हर्क साम्पाङ राईहरूलाई पहिलो स्टेपमै असफल बनाउन पार्टीका आधिकारिक निर्वाचित व्यक्तिहरू नै लागिपरेका समेत देखिए । काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमै बालेन शाहले जब बैठकलाई लाइभ प्रसारण गरेर त्यहाँभित्र भएका सबै अभिव्यक्ति बाहिर ल्याउन खाजे तब महानगरका पुराना र खल्ली पाराका केही वडा अध्यक्षहरू बालेनका पछि हात धोएरै समेत लागे । राजधानीको फोहोरलाई बन्चरेमा व्यवस्थित गर्न र रिफाइन गरी मल बनाउन लागिपरेका बालेनलाई असफल बनाउन पार्टीका वडा अध्यक्षहरूले एकसूत्रीय रणनीति नै बनाएको देखियो ।

जसले आगामी दिनमा अझ उच्च मनोबलका साथ संघीय र प्रादेशिक चुनावमा स्वतन्त्र उम्मेदवारहरू जताततैबाट उठ्ने र जित्ने सम्भावनाको विकास हुँदै जाने देखिन्छ ।पोखरा महानगरपालिकामा स्वतन्त्र उम्मेदवार भएर मेयरमा उठेका अटेरी अभियानका संयोजक तथा लेखक गनेस पौडेल स्वतन्त्र जनप्रतिनिधिहरूलाई हेर्ने अहिलेका नेताहरूको पुरातन मानसिकताबारे आफ्नो स्पष्ट अभिमत यसरी पोख्छन्– ‘हिजो स्वतन्त्र उम्मेदवारी दिने हामी सबैलाई होच्याउनेहरू बालेन, हर्क र गोपीलगायत ३ सय ८७ जना स्वतन्त्र उम्मेदवारले चुनाव जितेर देखाइदिएपछि एकछिन् रनाहामा परे । कतिजना अझै रनाहा परिरहेका छन् ।

उनीहरूको पूरापूर ध्यान आफ्नो राजनीतिको दोकान बन्द नहोस् भन्नेमा केन्द्रित हुन थालेको छ । ‘फोहोर’ को राजनीति यसैको सङ्केत हो । अहिले संघीय र प्रादेशिक चुनावमा उम्मेदवारी दिन खोज्ने युवाहरूलाई होच्याउन दलका दलाल बुद्धिजीवीहरूले ‘मःमः’ पसलको उपमा उन्दै छन् । हाम्रो उम्मेदवारी कुनै मःमः पसल थिएनन् । पेडा पसल थिएनन् । यो सामाजिक आन्दोलन थियो । राजनीतिक परिवर्तनको सङ्केत थियो । स्वतन्त्र रहँदारहँदै उनिएको सामूहिक आवाजको गुञ्जन थियो । के बालेन, हर्क र गोपीलगायत चर्चित वा गुमनाम स्वतन्त्र जनप्रतिनिधिहरुले मःमः पसल खोलेका हुन् ? किन गर्न खोजिँदै छ स्वतन्त्र जनमतलाई बदनाम ? कसले दबाउन खोज्दै छ युवाहरूको आवाज ? कसले रोक्न खोज्दै छ एउटा अवश्यम्भावी आँधी ? याद गर्ने छौं । हेक्का राख्ने छौं । आँधीले सबैको जवाफ दिनेछ ।’

यतिखेर भाव, अभाव र प्रभाव जेमा परे पनि नेपाली जनता स्वस्फूर्तरूपमा जागेका छन् । चेतनाको लेभल हाई भएको छ । उनीहरू कुनै पनि कुरालाई फरक र आधुनिक शैलीमा सोच्न, विचार्न र आइपरेको खण्डमा प्रयोगसमेत गर्न थालेका छन् । उनीहरू भन्छन्– ‘बीपी, पुष्पलाल र मदन भण्डारीका औतारी हुन् आजका स्वतन्त्र उम्मेदवारहरू ! उनीहरूले नै पठाएका दूत हुन्– बालेन, हर्क साम्पाङ र गोपी हमालहरू । राजनीतिक दल एक–अर्कामा खूब लड्छन् । पार्टी र नेताकै कारण आफ्नै दाजुभाइ पनि टाउको फोराफोर गर्छन् तर जब बालेन र बालेनहरूलाई फेल बनाउनुपर्ने हुन्छ, तिनीहरू बीचैमा मिल्छन् ।

सरसल्लाहविना नै उनीहरूको आन्तरिक गठबन्धन बनिसक्छ । ‘काले–काले मिलेर खाऊँ भाले’ भनेजस्तै हो यो प्रवृत्ति । तिमी साँच्चिकै कांग्रेस हौ भने बालेनमा बीपी खोज, तिमी साँच्चिकै कम्युनिस्ट हौ भने बालेनमै पुष्पलाल खोज ! तिम्रा पार्टीले आदर्श चरित्रको दर्शन छोडिसके ! अब उनीहरूका दर्शन बोकेर बालेनहरू, हर्कहरू र गोपीहरू एकसाथ चारैतिरबाट आउँदै छन् । हो, कार्ययोजना लिएर अनि समस्याको वस्तुगत वर्गीकरण र योजनाबद्ध समाधान लिएर अनेक नाम र विचारमा नूतन स्वतन्त्रहरू आउँदै छन् !’यो त कास्टिङ मात्र हो । पूरा सिनेमा त अब हुने प्रादेशिक र संघीय चुनावमा हुनेछन् ।

जब देशैभरिबाट चिन्तन, कार्यशीली, ऊर्जा, सीप, मेनेजमेन्ट र कार्यदक्षता भएका नौजवान युवाहरू भरर्र चारै दिशाबाट चुनाव लडेर जिती संसद्मा संसद्को लोगो लगाएर रोस्टममा प्रस्तुुत हुनेछन् अनि त्यस बेला पुरातन ठालु पार्टीका सच्चिन नसकेका नेताहरूका मुटुमा एकसाथ हजारौं ढ्याङ्ग्राहरू ठोक्किने छन् । जनतालाई अलमल्याएर, सपनामा झुत्ती खेल्न मात्र लगाएर र कुनै पनि काममा सिस्टम डेलिभरीका आउटपुट नल्याई हुन्छ–हुन्छ मात्र भनेर अबका दिनमा कसैले राजनीति गर्छ भने यसको कामै छैन । यो अन्तर्य सबै मतदाताले बुझिसकेको स्थिति छ । ठूला पार्टीहरूले चुनाव जित्नै गठबन्धन बनाए । अहिले चारैतिर यी र यस्ता आवाजहरू उठिरहेका छन् । जुन व्यवहारका कसीमा घोटिएका र सर्वथा साँचा हुन् । समयले तिनीहरू क्रमशः सत्य साबित गर्दै जानेछ ।

शनिबार नुवाकोटको त्रिशूली जलविद्युत् आयोजनाको एघार हजार भोल्टको र राष्ट्रिय प्रसारण लाइनबाट बाहिर लगिएको बिजुलीको लठ्ठामा एकजना मानसिक सन्तुलन गुमाएका व्यक्ति चढ्नाले दिनैभरि हङ्गामा भयो । नेपाल विद्युत् प्राधिकरणको नुवाकोट प्रसारण केन्द्रले करिब ८ घन्टा विद्युत् लाइन काट्नुप-यो । अन्त्यमा नेपाली सेना र नेपाल प्रहरीको जिम्मेवार टोलीले उक्त व्यक्तिको सकुशल उद्धार गरी परिवारलाई जिम्मा लगाएकाले ती व्यक्ति ठूलो दुर्घटना हुनबाट जोगिए ।सो घटनाले देशैभरि होहल्ला मच्चायो । उपभोक्ताहरूले विरोधस्वरूप फेसबुकमा लेखे– ‘मानसिक सन्तुलन ठीक नभएको एउटा व्यक्ति बिजुलीको तारमा ८ घन्टा झुन्डिदा हामीलाई यत्रो छट्पटी भएको छ ।

यस्ता मानसिक सन्तुलन ठीक नभएका कैयौं व्यक्तिहरू वर्षौंवर्ष ठूल्ठूला पदमा झुन्डिएर विकास र समृद्धि रोकिरहेका छन् ! के त्यसमा हामीलाई छट्पटी हुनुपर्दैन ?’ जनआवाजहरू यसरी हरेक घटनाहरूमा बाहिर आउनु भनेको जनता जागरूक भएको दह्रो प्रमाण हो । यस्तो लाग्छ, समय निकै अघि गैसक्यो तर हाम्रा नेता र तिनका कार्यकर्ताहरू पछि नै छुटेका छन् ।

राजनीतिक विश्लेषक अरुण बराल भन्छन्– ‘चुम्बक जति चोइटियो, दुई ध्रुव बन्छ । अमिबा जति टुक्रियो उति स्वतन्त्र बन्छ । पार्टी (स्वतन्त्र) जति फुट्यो उति दुई लाइन संघर्ष हुन्छ । शुद्धतावादी एङ्गेल्स भन्छन्– ‘एकनिष्टता’लाई नै पवित्र मान्ने भए फित्ते जुकालाई मान्नुपर्छ, जसको शरीरमा दुईवटा यौनाङ्ग हुन्छन् र आफैँसँग मैथुन गर्दैमा उसको जुनी बित्छ ।’ वर्तमान समयको योभन्दा सटिक चित्रण शायद अरू हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्