संस्कृत विश्वविद्यालयमा लागेको ताला अझै खुलेन



काठमाडौं ।

नेपाल संस्कृत विश्वविद्यालयको ताला खोल्न प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा अनिच्छुक देखिनुभएको छ । विश्वविद्यालयमा ताला लागेको झण्डै दुई महिना बितिसक्दा पनि ताला खोल्न पहल गर्नुभएको छैन ।

नेपाल विद्यार्थी संघले ११ बँुदे माग राखी गएको वैशाख १९ गते दाङको वेलझुण्डीस्थित विश्वविद्यालयको मुख्यालयमा तालाबन्दी गरेको थिए । तालाबन्दी गर्नुअघि नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघले विभिन्न चार सूत्रीय माग राखी आन्दोलन गर्ने चेतावनी दिएको थियो । प्रपासंघले पुस ९ गते कुलपति एवं प्रधानमन्त्री देउवालाई सम्बोधन गरी सेवा आयोगमा प्रजातन्त्रवादी प्राध्यापक संघको प्रतिनिधित्व नभएसम्म शिक्षक र कर्मचारीको खुला विज्ञापन रोख्नुपर्ने, प्रा. धु्रवचन्द्र ज्ञवालीको संयोजकत्वमा बनेको समितिले गरेको सिफारिसबमोजिम तत्काल बढुवाको विज्ञापन गर्नुपर्ने उल्लेल गर्दै पत्र पठाएको थियो ।

पत्रमा विश्वविद्यालय सभाको रिक्त पदहरूमध्ये प्रप्रासंघको तर्फबाट प्राचार्यमध्येबाट एक र सम्बन्धन प्राप्त विद्यापीठको प्राचार्यमध्येबाट एकजना गरी दुईजना नियुक्त गर्नुुपर्ने र विश्वविद्यालयका तीन पदाधिकारीसहित पाँच जनाको कार्यकारी परिषद्मा दुईजना संघबाट सिफारिस गरी आगामी सभामा पेस गर्ने गरी पत्रचार गर्नुुपर्ने पनि उल्लेख थियो ।प्रप्रासंघका महासचिव राजेन्द्र गौतमद्वारा हस्ताक्षरित पत्रमा लेखिएको थियो– ‘निम्न विषयमा पदाधिकारीलाई निर्देशन दिन माग गर्दै त्यसो नगरिए विश्वविद्यालय सभाको ऐनबमोजिम वर्तमान पदाधिकारीलाई बिदा गरी नयाँ नेतृत्व चयनका लागि सादर अनुरोध गर्दछौं ।’ संघले पत्रमा आयोगमा तीनै जना पदाधिकारी एमाले सरकारले नियुक्ति गरेको उल्लेख गरेको छ ।

विश्वविद्यालयका कुलपति एवं प्रधानन्त्रीको निजी सचिवालयलले गत माघ २३ गते वेलझुण्डीस्थित उपकुलपति कार्यालयलाई उक्त पत्रको जवाफ पठाएको थियो । प्रमको निजी सचिवालयका अधिकृत श्यामप्रसाद ओझाद्वारा हस्ताक्षर पत्रमा भनिएको छ– ‘प्रधानमन्त्रीलाई सम्बोधन गरी पठाइएको निवेदन, मागपत्र र ज्ञापनपत्रको सुझावबमोजिम कारबाही हुन निर्देशनअनुसार आवश्यक कार्यार्थ पठाइएको व्यहोरा अनुरोध गर्दछु ।’ पत्रमा निजी सचिवालयले प्रप्रासंघका महासचिव गौतमको नाम किटान गरी आवश्यक कारबाही गर्न निर्देशन दिएको छ ।
त्यसैलाई आधार मानेर प्रप्रासंघले आन्दोलन थालेको थियो । विश्वविद्यालयका उपकुलपति यादवप्रकाश लामिछानेले पदाधिकारीलाई हटाउन माग गर्दै कुलपतिले पत्र पठाएको जानकारी दिँदै भन्नुभयो – ‘त्यति बेलादेखि आन्दोलन भएको थियो, वैशाखमा ताला लाग्यो ।’ उहाँले प्राध्यापकले आफू निकट विद्यार्थी संघलाई उचालेर ताला लगाएको आरोप पनि लगाउनुभयो ।

नेविसंघले तीन महिनाभित्र दीक्षान्त समारोह गर्नुपर्ने, छात्रवृतिको रकम बढाउनुपर्ने, पदाधिकारीहरू भ्रष्टाचारमा संलग्न रहेको, पाठ्यक्रम परिमार्जन गर्नुपर्ने लगायतका ११ बँुदे माग राखेर वैशाख १९ देखि उपकुलपति लगायतको कार्यालयमा ताला लगाइदिएको हो ।उनीहरूले छात्राबासको भाडावापत प्राप्त रकमको ३० प्रतिशत छात्रावास विकासमा खर्च गर्नुपर्ने, कार्यकारी परिषद् र पदाधिकारीमा लोकतान्त्रिक समूहको उपस्थिति गराउनुपर्ने, आंशिक शिक्षकलाई करारमा नियुक्ति गर्नुपर्ने, विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने, अवैज्ञानिक तवरले गरिएको उपप्राध्यापक विज्ञापन खारेज गरी पुनः विज्ञापन गर्नुपर्ने लगायतका माग पनि राखेका छन् ।

कुलपतिकै आड र भरोसा पाएपछि तालाबन्दी गरेको आरोप लगाउँदै उपकुलपति लामिछानेले भन्नुभयो– ‘वार्ता गरेर समस्या समाधान गर्ने तयारीमा थियौं, नेविसंघले ताला खोल्छु भनेको पनि थियो । तर, हालसम्म ताला खोलेका छैनन् ।’ उहाँले विश्वविद्यालयको साख जोगाउन र नियमित पठनपाठन चालु गराउन ताला खोल्नुको विकल्प नभएको बताउनुभयो । गरिरहेको र माग पूरा भए ताला खोल्न तयार रहेको बताउनुभयो । उहाँले जायज मागको सम्बोधन गर्न विश्वविद्यालय प्रशासनले तयार रहेको बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालय नेपाल विद्यार्थीसंघ संघर्ष समितिका संयोजक चोलेन्द्र रिजालले भने माग पूरा गर्ने विषयमा रजिस्ट्रार माधव अधिकारीको संयोजकत्वमा गठित वार्ता समिति र संघर्ष समितिबीच वार्ता जारी रहेको जानकारी दिनुभयो ।

पदाधिकारीले मनपरी गरेको कारण समस्या आएको टिप्पणी गर्दै उहाँले भन्नुभयो–‘एमाले निकटका शिक्षकलाई नियुक्ति गर्न विज्ञापन खोलिएको हो, यसलाई तत्काल खारेज गर्नुपर्छ ।’ उहाँले नेविसंघले शुरू गरेको आन्दोलनमा गठबन्धनका विद्यार्थी संगठनले समर्थन गरेको पनि बताउनुभयो ।नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटी संयोजक एवं अनेरास्ववियुका केन्द्रीय सदस्य तीर्थराज ढकालले प्राध्यापकको आडमा नेविसंघले तालाबन्दी गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘पदाधिकारीले सम्बोधन गर्न नसक्ने विषयलाई नेविसंघले मुद्दा बनाएका छन् । सकभर वार्ताको माध्यमबाट समस्या समाधान गर्न खोज्नेछांै, नभए संगठनले थप कार्यक्रम सार्वजनिक गरी आन्दोलन अघि बढाउनेछ ।’

उपप्राध्यापकको विज्ञापन खारेज गरी अवकाश हुन लागेको उपप्राध्यकलाई सह र सह प्राध्यापकलाई उपप्राध्यापक बनाउने चलखेल भइरहेको दाबी गर्दै उहाँले भन्नुभयो– ‘नियमसँग नियुक्ति भएका तीनजना पदाधिकारीलाई राजीनामा गराउन दबाब दिन आन्दोलन गरेका हुन् ।’ उहाँका अनुसार आज सोमबार अनेरास्ववियुले पत्रकार सम्मेलन गरी ताला खोल्न दबाब दिने थप जानकारी दिनुभयो । आन्दोलनको कारण सो विश्वविद्यालयको पठनपाठनमा समस्या आएको छ ।

प्रतिक्रिया दिनुहोस्