बर्षाले धानको बिऊमा नोक्सानी



वीरगन्ज ।

असार लागेपछि पर्साको ग्रामीण भेगमा दैनिकजसो परेको पानीका कारण वर्षेबाली धानको बीउ उम्रिन नसक्दा किसानहरु  चिन्तामा परेका छन् ।  नेपाल तथा भारतीय बथारबाट महँगो दरमा बीउ खरीद गरी ब्याडमा छरेको भएपनि पानीका कारण बीउ नउम्रिंदा तेस्रोपटकसम्म बीउ छर्नुपरेको किसानहरूले गुनासो गरेका छन् ।

जिल्लाको ठोरी, जीराभवानी, पटेर्वासुगौली गाउँपालिकालगायतका क्षेत्रमा दैनिक एकपटक पानी परेको छ । जीराभवानी गाउँपालिका वडा नम्बर २ सेढवा निवासी जगदीश चौधरीले महँगोमा बीउ खरीद गरी बीउ छरेको तर वर्षाका कारण नउम्रेकाले पुनः बीउ छरेको बताउनुभयो । एक बिघा खेतमा रोपाइँका लागि छरेको बीउ पाँच कट्ठालाई पुग्ने बीउ उम्रेको बताउनुभयो । दोस्रोपटक छरेको बीउ पनि कम हुने शङ्काले फेरि बीउ छरेको चौधरीले बताउनुभयो ।

अहिले नेपाली तथा भारतीय बजारमा बीउ खरीद गर्दा एक सय पचास रुपैयाँ प्रतिकिलोदेखि छ सय रुपैयाँसम्म रहेको छ । बीउ छर्दा पानी परेको कारण जमीनमुनिको बीउ कुहिने तथा जमीनको माथिल्लो सतह कडा भएकोले उम्रिन नसकेको किसानहरूले बताएका छन् । बीउमा ढिलो हुने हँुदा यस वर्षको रोपाइँ पनि ढिलो हुने किसानहरूले बताए ।

जगरनाथपुर गाउँपालिका वडा नं १ पिडारीका किसान रमेश चौधरीका अनुसार अगहनी, भदई तथा अन्य हाइब्रिड जातका धान असारको पहिलो सातादेखि रोपाइँ हुने गरेको बताउनुभयो । तर,यस वर्षको रोपाइँ असारको तेस्रो सातादेखि हुने चौधरीले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्