चुकुले बजेटको भुमरीमा देशको अर्थ व्यवस्था



देशको आर्थिक विकासको मेरुदण्ड मानिने बजेटलाई कुनै व्यक्ति वा व्यापारीको स्वार्थपूर्तिको निमित्त छलकपट वा कुनै वहानामा तोडमरोड गरी देशको आर्थिक मेरुदण्डलाई धक्का पु-याउने कार्य गरिन्छ र हुन जान्छ भने त्योभन्दा विडम्बना अरू के हुन सक्ला ?
संसद्मा बजेटसम्बन्धी छलफल जारी छ ।

सबैलाई ज्ञात भएको विषय हो प्रत्येक वर्ष देशको बजेट संसद्मा पस्किनै पर्छ । पस्किने काम देशको अर्थमन्त्रीको हो । अर्थमन्त्री कुन दलको हो त्यसले कुनै सरोकार राख्दैन । देशको पछिल्लो आर्थिक अवस्थालाई विहंगम अध्ययन गरी आर्थिक समस्या समाधानको लागि बजेट पस्किनु अर्थमन्त्रीको दायित्व हो । कुनै पनि देशको आर्थिक समस्या समाधानको निमित्त त्यो देशले वार्षिकरूपमा लिने अर्थनीतिले ठूलो महत्व राख्दछ । उत्पादन वृद्धिदेखि लिएर आयात निर्यात, रोजगारीसम्बन्धी, उत्पादनसम्बन्धी, र उद्योग धन्दालगायत सबै क्षेत्रको अर्थपूर्ण विकासको निमित्त बजेटको नीतिभित्र पर्न आउँदछ ।

अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा जनजनले विश्वास गर्ने यथेष्ट प्रमाणसहित बजेट प्रस्तुत गरिनु पर्दछ, अन्यथा प्रस्तुत बजेट जतिसुकै महत्वाकांक्षी भए पनि जनजनले विश्वास गर्देनन र बजेटको सकारात्मक पक्षभन्दा नकारात्मक पक्षले घर गर्न जान्छ । देशमा भर्खरै प्रस्तुत गरिएको बजेटले यस्तै घर गरेको छ र बजेट संदेहको घेरामा पर्न पुगेको छ ।गएको हप्ता एउटा दैनिकीमा भर्खरै अर्थात् गएको जेठ पन्ध्रगते प्रस्तुत गरिएको राज्यको बजेट सम्बन्धमा एउटा सनसनी समाचार सार्वजनिक भएको छ । सार्वजनिक भएको समाचारअनुसार बजेटलाई अन्तिम रूप दिने प्रक्रियामा लागिपरेका समूहमा अर्थमन्त्री र उनीसँगै रहेका अहिलेसम्म नाम नखुलाइएका एक व्यक्ति, सचिव मधुकुमार मरासिनी, सचिव कृष्णहरि पुष्कर, सहसचिव चक्रबहादुर बुढा र सहसचिव भूपाल बराल रहेको समूह कसैको प्रतीक्षामा रहेछ ।

यसै बिचमा अर्थमन्त्रीले नै कुनै व्यक्तिलाई आउने बेला भएन भनेर फोनबाट बोलाएछन् । बोलाएपश्चात् बोलाइएको व्यक्ति हस्याङफस्याङ गर्दै कोठाभित्र छिरेछन् । कोठाभित्र छिरेपछि अर्थमन्त्रीले ढोकाको चुकुल लगाउन आदेश दिएछन् र अहिलेसम्म नाम नखुलेका व्यक्तिसँगै बस्न निर्देशन दिएछन् । तिनी थिए २०७५ साल फल्गुण १ गते अर्थमन्त्रालयकै भन्सार विभागबाट राजीनामा दिएका नायब सुब्बा रघुनाथ घिमिरे । उपस्थित दुवै सचिवहरू तथा दुवै उपसचिवहरू सबैले चिनेका ।

अर्थमन्त्रीले तिनीहरूलाई परिचय गराउने क्रममा सँगै बस्नेलाई सिए साप भन्दै रघुनाथ घिमिरेलाई चाहिँ त्यहाँ उपस्थित रहेका सचिव सहसचिव सबैले चिनेको भन्दै परिचय गराए । परिचय गराए पश्चात् अर्थमन्त्रीले सीएसाव र पूर्व नायबसुब्बा घिमिरेलाई राजश्व विज्ञको रूपमा निमत्याइएको भन्दै विभिन्न राजश्वका दरहरूबारे ती दुईजनाले जे जे भन्नु हुन्छ त्यसमा कुनै संशोधन नगरी सही गरेर आपूmकहाँ बजेटको अन्तिम खाका ल्याउन आदेश जारी गरे । त्यस समाचारमा अन्य कुराहरू पनि समावेश भएका छन् ।

जे भए पनि बजेट प्रस्तुतपश्चात् यो खबर सार्वजनिक भएको छ । तथापि अर्थमन्त्रालयले यो कुराको खण्डन गर्दै उल्लेख गरिएका दुईजना व्यक्तिहरू उक्त दिन उपस्थित नभएको भन्दै विज्ञप्तिसमेत जारी गरेको छ र साथसाथै संसद्मा समेत अर्थमन्त्रीले त्यसको खण्डन गरेको अवस्था पनि विद्यमान छ तर खण्डन र अर्थमन्त्रीको भनाइलाई जनजनले र स्वयम प्रतिनिधिसभाका संसद्हरूले विश्वास गरिरहेका छैनन् । यो आलेख तयार पार्दासम्म संसद्मा यो विषयबारे चर्काचर्की बहस जारी छ ।

देशको आर्थिक विकासको मेरुदण्ड मानिने बजेटलाई कुनै व्यक्ति वा व्यापारीको स्वार्थपूर्तिको निमित्त छलकपट वा कुनै वहानामा तोडमरोड गरी देशको आर्थिक मेरुदण्डलाई धक्का पु-याउने कार्य गरिन्छ र हुन जान्छ भने त्योभन्दा विडम्बना अरू के हुन सक्ला ? संघीय लोकतान्त्रिक पद्दतिमा लागिपरेको देशमा प्रस्तुत गरिने देशको बजेटमा यसरी स्वार्थ बझाउने कार्य गरिन्छ भने त्यस किसिमको संघीय लोकतान्त्रिक व्यवस्था जनजनलाई आवश्यक छैन भन्ने आवाज उठेको छ । कैले के तन्त्र त, कहिले के तन्त्रको नाम भजाएर आफनो स्वार्थ साधनमा लिप्त रहने कथित संघीय लोकतान्त्रिक नेताहरूको अव आवश्यकता छैन ।

हुन त यस्ता किसिमका परिघटनाहरू संघीय लोकतान्त्रिक नेताहरू र मन्त्रीहरूका लागि सामान्य विषय वनिसकेको छ । यि त सार्वजनिक भएका एक दुई उदाहरणहरूमात्र हुन् । यस्ता र यो भन्दा पनि सार्वजनिक हुन नसकेका डरलाग्दा घातहरू कति होलान कति । प्रायः राजनीतिक अंशियारहरूकोे जमात (एकदुईजना अंशियारहरू अपवादको रूपमा बाहेक) यो वा त्यो नाउमा देशको भविष्यमाथि गम्भीर खेलवाड गरिराखेका छन् । राजनीतिक अंशियारहरूको क्रियाकलापहरूलाई नियाल्दा तिनिहरूले वर्तमानका युवापुस्ताहरूलाई पनि अध्याँरोतिर धकेलिरहेको प्रतीत हुँदैछ ।

प्रत्येक पिँडीहरूमा उदाउँदै गरेका युवाहरूका जोश जाँगरलाई राजनैतिक अंशियारहरूले या त आफनो स्वार्थमा भरमग्दुर उपयोग गर्ने या त निस्तेज बनाइ छाड्ने आफ्नो कार्यलाई निरन्तरता दिइराखेका छन् । विविध अश्वासन बाँडेर आफनो अनुकूल जिन्दावाद र मुर्दावादको नारा लगाउने कार्यमा युवाहरूलाई प्रयोग गरिराखेका छन् । यतिसम्म की युवाहरूलाई नारामामात्र सीमित राखेनन् उनीहरूको कुरामा विश्वास गरी जोसमा कैयौंले राजनैतिक अंशियारहरूका निमित्तआफ्नो जीवनको आहुती नै दिए । त्यतिबेला आन्दोलनलाई उर्वर बनाउने अभियानमा लागिपरेका मुकेसजस्ता युवा अहिले कुन अवस्थामा छन् राजनीति अंशियाहरूलाई कुनै चासो छैन । बेपत्ता पारिएका कतिपयको इतिहास नै हराइसक्यो ।

होनहार युवाहरूलाई देशको विषयमा सार्थक सम्बोधन गर्ने अवसरबाट सधै वञ्चित नै तुल्याउने काम भयो । चिप्लो र आशारूपी अश्वासनको पोकोमात्र वितरण गरी युवाहरूलाई आप्mनो स्वार्थको जालमा फसाउने अजिवोगरिबको धन्दाको निरन्तरता वर्तमानमा पनि जारी नै छ । यिनीहरूको जनविरोधी कार्यले गर्दा नै मतदाताहरू र नयाँ युवापुस्ता जागरुक भएका छन् । त्यही कारणले यसपालिको स्थानीय निर्वाचनमा गलत पद्दतिलाई तोड्ने कार्यको सुरुवात भएको छ । अब यस्तो प्रयासलाई निरन्तरता दिइरहनु आजको आवश्यकता भइसकेको छ । आगामी प्रतिनिधिसभाको निर्वाचनमा पनि यस्तै किसिमको कडा धक्का राजनीतिक अंशियारहरूलाई दिनैपर्ने भएको छ ।

विभिन्न कालखण्डमा भएका आन्दोलनहरूलाई विश्लेषण गर्दा जेसुकै नाम राखेर देशमा जति पनि आन्दोलन भए, गरिए वा गराइए ती सबै आन्दोलन फगत राजनैतिक परिवर्तनको नाउमा व्यक्तिगत स्वार्थ पे्ररित आन्दोलनमात्र हो भन्ने कुरामा अब कुनै सन्देह रहेन । समाजिक कुसंस्कार र गलत प्रवृत्तिको परिवर्तनविरुद्ध आन्दोलन गरिएको भनिए तापनि व्यक्तिगत र स्वार्थपे्ररित विषयवस्तुहरू हाबी भइदिँदा आन्दोलनले बोकेको मर्म धराशयी हुनपुग्यो ।

जनजनका चाहना र आवश्यकताका विषयहरूमा सार्थक सम्बोधन हुनै सकेन । काँचा निर्दोष युवाहरूलाई भ्रममा पार्दै अश्वासनको पोकोमार्पmत् जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाएर आपूm सत्तामा पुगेपछि ती कलिला काँचा निर्दोष युवाहरूको समस्यालाई सम्बोधन गर्नुभन्दा उल्टो उनीहरूलाई यो वा त्यो नाउमा बलिको बोको बनाउने कार्यमात्र गरियो । त्यसको निरन्तरता अभैm जारी छ । अव यसबाट प्रत्येक जनजनले मुक्ति पाउनै पर्दछ । आगामी प्रतिनिधिसभाको निर्वाचन माध्यमबाट यो अठोटलाई पूरा गर्नै पर्दछ ।

सत्तामा आसीन प्रत्येक शासकले देशले विकासको गति समात्यो भन्ने खालको भाषण सुनाउने धन्दा कहिल्यै रोकिएन । यदाकदा राजनीतिक अंशियारहरूले देशमा देखापरिरहेको संक्रमणकालीन अवस्थालाई सम्बोधन ग¥यांै भन्नु राजनीतिक अंशियारहरूको बेइमानीपन हो भन्ने कुरामा पीडित र स्वयं जनजन पनि स्पष्ट छन् । राजनीतिक अंशियारहरूले विगतदेखि देखिँदै आएको आप्mनै आन्तरिक राजनीतिक संक्रमणकालको त अन्त्य गराउन सकेका छैनन् भने जनजनलाई बेला कुबेला यो वा त्यो नामबाट थपिँदै गइरहेको पीडारूपी संक्रमणकालीन अवस्थाको अन्त्य भयो भन्नु हास्यापदबाहेक केही हुँदै होइन ।

कतिपय संक्रमणकालीन न्यायिक विषयहरू टुंग्याउन बाँकी नै छ । त्यसलाई सार्थक सम्बोधनको प्रयास गर्नु कता हो कता बरु उल्टो एकथरी राजनीतिक अंशियार उस्तै परे थप संकटकाल लगाउन उद्यत भएर तम्तयार अवस्थामा बसिरहेका छन् । यही अवस्थाको निरन्तरता रहिरहे देशमा कुनै पनि बेला जे पनि हुनसक्छ भन्ने मान्यतामा जनजनहरू पुगिसकेका छन् । कानुनी शासनको अवमूल्यन, भ्रष्टाचारको चरणवद्ध श्रृंखला, दोषीहरूलाई उन्मुक्तिमा व्यापकता, हरेक नियुक्तिमा क्षमता भएकोलाई भन्दा पनि भागबन्डालाई प्रश्रय, हरेक निकायहरू कर्मचारी प्रशासनदेखि न्यायपालिकासम्ममा भएको बेथिति र त्याहाँभित्र छिराइएको राजनीतिकरण राजनैतिक अंशियारहरूका लागि संघीयताका उपलब्धि ठहरिन पुगेका छन् ।

थरीथरीका राजनीतिक अंशियारहरूले अब कुनै पनि नाउमा आपूm सफल पात्र भएको भन्ने कुरा राख्ने हैसियत गुमाइसकेका छन् । यो विषयलाई कुनै राजनीतिक अंशियारहरूले जनजनलाई जति प्रष्टयाउन खोजे पनि जनजनमा त्यसको औचित्य स्थापित गर्न सक्ने अवस्था रहेको देखिँदैन । मौसमीरूपमा देखापर्न थालेका नागरिक अगुवाहरू पनि विलयको बाटोतिर लम्किरहेका देखिन्छन् । मौसमअनुसार जसरी राजनीतिक अंशियारहरूले आफ्नो रूप वदल्ने गर्छन् त्यसको रोग नागरिक अगुवाहरूमा पनि सरिसकेछ भन्ने कुराको बोध पनि जनजनलाई हुनथालिसकेको छ ।

राजनीतिक अंशियारहरूको स्वार्थकेन्द्रित घम्साघम्सीमा आफनो अनुकूल देखिनेबित्तिकै आफैंले सत्तोसराप गरेको राजनीति अंशियारलाई यो अंशियार ठिक छ भन्न नागरिक अगुवा भनाउँदाहरू प्नि लागिपरिरहेका छन् । अव आउने संघीय निर्वाचनमा गलत पात्रहरूलाई पाखा लगाउँदै तिनीहरूलाई कसरी सजायको भागिदार बनाउने भन्नेदेखिबाहेक जनजनमा अव विकल्प देखिँदैन । अब ती कथित पुराना मै हुँ भन्ने पात्रहरूले देश लथाालिङ्ग पारिसकेको तथ्य कसैबाट छिपेको छैन । राजनीति प्रवेश नभएको कुनै ठाउँ छैन ।

विकृतिले प्रवेश नपाएको कुनै क्षेत्र छैन र भष्ट्रचारले प्रश्रय नपाएको कुनै स्थान छैन । यस्तो अवस्था जसलाई ती पात्रहरूले जरो गाडेर राखेका छन् ती विकृतका खम्बाहरूलाई उखेलेर नफालेसम्म देश सुधारात्मक दिशातिर लम्किन त परै जाओस् सुधारको प्रवेशद्वारसम्म पनि पुग्न पाउँदैन । अब निकट भविष्यमा हुने निर्वाचनमा यही कुरालाई मनन गरी आफनो प्रतिनिधि छान्न सके देखिएको विकृतिविरुद्ध दरिलो खम्बाको रापमा उभिएको ठहरिने छ ।

प्रतिक्रिया दिनुहोस्