कान्समा सहभागी हुँदा आफ्नो पेशाप्रति गर्व लाग्यो : सुरक्षा पन्त



अभिनेत्री सुरक्षा पन्त हालै फ्रान्समा सम्पन्न ७५औं सस्करणको कान्स फिल्म फेस्टिभलमा नेपालको तर्फबाट पहिलोपटक सहभागी भएर नेपाल फर्किएकी छन्। इटालियन लेखक पाओली कगनेको उपन्यासमा फेलिक्स भान ग्रोनिन्जेन र चार्लोटे भान्डरमसर्शको निर्देशनमा फ्रेन्च र अंग्रेजी भाषामा निर्मित फिल्म द एट माउन्टेनमा अभिनय गरेकी सुरक्षाले नेपालमा छायाँकन गरिएको केही अंशमा अभिनय गरेकी थिइन्। उक्त फिल्म कान्समा छानिएपछि सुरक्षाले त्यसै फिल्ममार्फत कान्समा सहभागी हुने अवसर पाएकी हुन्। डिजाइनर तेन्जिङ छेतेन भुटियाले डिजाइन गरेको रातो रङको आकर्षक गाउनमा सजिएर नेपालको प्रतिनिधित्व गर्दै कान्सको रेड कार्पेट नापेकी उनले धेरैको ध्यान आफूतिर केन्द्रित गरिन्। रेड कार्पेटमा क्याटवाक गरेसँगै ब्युटी एन्ड फेसन नामक म्यागेजिनले संसारभरका सेलिब्रेटीले रेड कार्पेटमा पहिरेको उत्कृष्ट १५ पहिरनमा सुरक्षाको पहिरन पनि समावेश गरेपछि उनको चर्चा थप चुलिएको छ। कान्स फिल्म फेस्टिभलमा सहभागिताको अनुभवबारे सुरक्षासँग गरिएको कुराकानी यहाँप्रस्तुत छ:

कान्स फिल्म फेस्टिभलमा सहभागी हँदाको अनुभव कस्तो रह्यो?

पहिलोपटक आधिकारिक रुपमा नेपालको प्रतिनिधित्व गरेर जान पाउँदा अनौठो ठाउँमा पुगेको जस्तो महशुस अनुभव भयो। आफू कता-कता भाग्यमानी जस्तो महसुस भयो। आफूले त्यहाँ देखेको कुरा नेपालमा आएर सेयर गर्न पाउँछु भन्ने लाग्यो। फिल्मको दुनियाँ यति ठूलो हुँदो रहेछ, फिल्मको लागि संसारमा यति ठूलो प्लेटफर्म हुने रहेछ भनेर आफ्नो पेसाप्रति गर्व लाग्यो। कान्समा सहभागिताका लागि दुई हप्ता अघि खबर अँएको थियो। दुई हप्ताभित्रमा प्रोसेसिङदेखि लिएर भिजा, टिकेटिङको सम्पूर्ण काम हतार-हतारमा सक्नु परेको थियो।

कान्समा नेपालको तर्फबाट पहिलोपटक सहभागी हुँदा अन्य देशका सेलिब्रेटीबाट क(कस्तो प्रतिक्रिया पाउनुभयो?

हुन त म नेपाली फिल्ममार्फत कान्समा सहभागी भएको होइन। तर, पनि अन्य देशको फिल्ममार्फत नेपालको प्रतिनिधित्व गर्न पाउनु गौरवको कुरा हो। उक्त फिल्ममार्फत नै नेपालको बारेमा धेरै कुरा थाहा हुन्थ्यो। फिल्म हेरिसकेपछि नेपाल कस्तो देश हो भन्ने खालका प्रश्नहरु आउँदा नेपाल सगरमाथा र बुद्धको देश हो भन्ने खालका कुरा राख्दै मौका पाएको बेला नेपालको बारे बताइहाल्थे।

फिल्म एट माउन्टेनमा काम गर्ने अवसर चाहिँ कसरी मिल्यो?

कास्टिङ डाइरेक्टर शान्ति गिरी दिदीले उक्त फिल्मबारे मलाई खबर गर्नुभएको थियो। त्यसपछि जुममार्फत फिल्मको टिमलाई ५-६ पटकको अडिसन दिएपछि सेलेक्ट भएर काम गर्ने मौका पाएँ।

एट माउन्टेनमा काम गर्दा कान्समा सहभागी हुन पाउँछु भन्ने सोच्नुभएको थियो?

कान्समै सहभागी हुन पाउँला भन्ने त लागेको थिएन। तर, उक्त फिल्मको निर्देशकमध्ये एक फेलिक्सले निर्देशन गरेको एक फिल्म एकेडेमी अवार्डमा नोमिनेसनमा परेको थियोे भन्ने थाहा थियो। एकेडेमी अवार्डजस्तो प्रतिष्ठित अवार्डमा स्थान पाएको निर्देशकको सेरोफेरोमा रहेर काम गर्दा केही न केही सिक्ने मौका पाउँछु भन्नेचाहिँ थियो। तर, मैले काम गरेको फिल्म पनि कान्समा छानिएर सहभागिताको लागि निमन्त्रणा पाउँदाचाहिँ सरप्राइज्ड नै भएँ।

रेड कार्पेटमा तपाईंले पहिरिनु भएको पहिरनले पनि निकै चर्चा पायो उक्त पहिरन कसरी तयार भएको थियो?

कान्समा जानुभन्दा केही दिनअघि एकजना साथीमार्फत डिजाइनर तेन्जिङ छेतेन भुटियासँग पहिरनको बारे छलफल गरेको थिएँ। जुन बेला भिषा आएको थिएन र आउँछ आउँदैन स्योर पनि थिएन। सबै अवस्था तेन्जिङजीलाई बताएको थिएँ। यदि, कान्समा जान पाइएन भने पनि कान्सको लागि तयार गरिएको थियो भनेर फोटोसुट गरौँला भनेर एक रातमा नै तेन्जिङजीले उक्त ड्रेस तयार गरिदिनु भएको थियो। पहिलोचोटी जान लागेको कारण कस्तो खालको पहिरन लगाउने? सारी लगाउने हो कि भन्ने पनि सोचेको थिएँ। पछि, उक्त गाउन बनाउने सल्लाह भयो। म नेपालको प्रतिनिधित्व गर्दै गएकोले नेपाल झल्कने केही लिएरै जानु प-र्यो। नेपालको रङ पनि रातो र मलाई मन पर्ने कलर पनि रातो भएकाले रातै रङको पहिरन तयार गरियो। गाउनमा सात प्रदेश झल्कने गरी सातओटा मुजा राखेर तयार गरिएको थियो। नभन्दै आकर्षक उत्कृष्ट १५ पहिरनमा समावेश भयो। कान्समा म मात्र नभई पहिरनमार्फत डिजाइनरको पनि रिप्रिजेन्ट हुने भएकाले उक्त पहिरनको मूल्य मैले दिनुपरेन।

उक्त फिल्म र नेपाली फिल्ममा काम गर्दा कस्तो फरक महशुस गर्नुभयो?

बाहिरको फिल्ममा काम गर्दा उनीहरुले कलाकारलाई निकै सम्मान गर्ने रहेछन् भन्ने अनुभव गरेँ। एक्टरलाई डिस्टर्ब गर्न हुँदैन। क्यारेक्टरमा मात्र ध्यान दिने र त्यसमा फोकस हुने माहोल सिर्जना गरिदिने रहेछन्। उनीहरुको काम गर्ने तौर तरिका र अनुशासन निकै कडा महशुस गरेँ। प्रोफेसनलली र सिस्टममा काम हुने रहेछ। नेपाली फिल्ममा त्यस्तो वातावरण अलि कम नै हुन्छ।

उक्त फिल्ममा काम गर्दा र नेपाली फिल्मको पारिश्रमिकमा चाहिँ कस्तो फरक पाउनुभयो ?

पारिश्रमिकमा पनि धेरै अन्तर पाएँ। उनीहरुले घण्टाको हिसाबले पारिश्रमिक दिने रहेछन्। कन्टझयाक्ट अनुसारको समय मात्र काम गर्ने हो। समयमै काम सकिने हुँदा अफिसमा बसेर काम गरेजस्तै लाग्यो। तर, नेपालमा भने त्यस्तो छैन। लामो समय काम लगाउने र आजको लागि भनिएको छ भने राति पनि काम गर्नुपर्ने र उस्तै परे भोलिपल्टसम्म नै काम गर्नुपर्ने हुन्छ। जुन इलिगल पनि हो। फिल्ममा काम लिइसकेपछि, काम सकिइसकेपछि पनि जुनसुकै बेला पनि तयार भएर बस्नुपर्छ, बोलाइन सक्छ। तर, समय बढेसँगै त्यहीअनुरुपको पारिश्रमिक दिइँदैन। तर, नेपाली फिल्मको राम्रो पक्ष भनेको चाहिँ सबैजना सहयोगी हुन्छन्। एकको काममा अर्कोले सहयोग गर्ने भावना हुन्छ। तर, उनीहरुमा त्यस्तोचाहिँ पाइनँ।

नेपालको प्रतिनिधित्व गर्दै कान्समा सहभागी हँदा यसले नेपाली फिल्म क्षेत्रलाई कस्तो फाइदा पु-याउला ?

नेपालमा पनि फिल्म इन्डस्टझी छ र फिल्म बन्छ भन्ने कुरा अझै पनि संसारमा पु-याउन सकिएको छैन। जब म त्यहाँ सहभागी भएँ नेपालमा पनि यतिको लेभलको काम गर्न सक्ने कलाकार रहेछन् भन्ने केहि हदसम्म म्यासेज गएको छ। यसैपटक नेपालबाट फिल्म लोरी पनि सहभागी भएको थियो। त्यसबाट नेपालमा यत्तिको फिल्म बन्दो रहेछ भन्ने थाहा भएको छ। यी कुराबाट नेपालमा पनि फिल्म इन्डस्टझी रहेछ र यो लेभलको फिल्म बन्दोरहेछ भन्ने इन्फरमेसन गएको छ भने नेपालका राम्रा स्टोरीलाई फन्ड मिल्न सक्छ।

त्यहाँ सहभागी हुँदा आर्थिक लाभ पनि हुनेरहेछ कि?

त्यस्तो त भएन। उल्टै मेरो आफ्नै धेरै रकम खर्च भयो। त्यहाँ जानका लागि गर्नुपर्ने प्रोसेस, जाँदा आउँदाको प्लेन टिकट, अकोमोडेसन लगायतका खर्च आफैंले व्यवस्था गर्नुपर्ने रहेछ। मेरो अकोमोडेसनको केही खर्च उतैबाट फिल्मको टिमले व्यवस्था गरिदिएकोले केही राहत भयो। अन्य खर्च चाहिँ आफैंले व्यहोर्नुपरेको थियो।

कान्सजस्तै अन्य कुन फेस्टिभलमा नेपाली सेलिब्रेटीलाई सहभागिताको अवसर जुर्न सक्छ?

सहभागिताको लागि त संसारमा बर्लिन, ओस्कारजस्ता धेरै फिल्म फेस्टिभल छन्। त्यस्ता महोत्सवमा नेपाली फिल्म नपुगेका पनि होइन। मीनबहादुर भामको कालो पोथी, दीपक रौनियर निर्देशित सेतो सूर्य, पूजा गुरुङ र विभूषण बस्नेत निर्देशित फिल्म ददयालगायतले विदेशी फेस्टिभलमा छाप छोडेको छ। जुन हामीले बिर्सिएका र कम चर्चा भएका विषय हुन्। राम्रा फिल्मका लागि धेरै प्लेटफर्म छन्। जसका लागि सोहीअनुसारका फिल्म निर्माण गर्नुपर्छ।

चलचित्र विकास बोर्डको भूमिका यसमा के हुन सक्छ?

नेपालमा बाहिरको जानका लागि झन्झटिला प्रोसेस रहेछन्। यदि, कुनै फिल्मकर्मीलाई विदेशी फेस्टिभलमा जान प-यो भने एक त लामो प्रक्रिया, त्यसमाथि आर्थिकरुपमा पनि धेरै खर्चिलो हुने। मैले विकास बोर्डबाट कुनै सहयोग पाइनँ। आफ्नै बलबुताले त्यहाँ सहभागी भएर आएँ। यदि, आर्थिकरुपमा कमजोर कलाकारले सहभागिता जनाउने अवसर पाए भने पनि विभिन्न ठाउँमा हार गुहार माग्नुपर्ने अवस्था छ। यस्ता कुरामा विकास बोर्डले सहजीकरण गर्नुपर्छ।

वर्षैभरि विभिन्न देशमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल भइरहेका हुन्छन्, तर नेपाली कलाकार र प्राविधिकको प्रतिनिधित्व विरलै हुने गर्छन्। चलचित्र विकास बोर्ड यो मामलामा चुकिरहेको महशुस गर्नुभएको छ?

चलचित्र विकास बोर्डको मात्र मुख ताक्नुभन्दा पनि फिल्म मेकिङमै ध्यान दिनुपर्छ। राम्रो फिल्म बनाउन सके र फेस्टिभलमा सहभागी हुने भए भने त्यहाँ जाने प्रोसेसमा चाहिँ बोर्ड सहजीकरण गर्न सक्छ। त्यसो गर्दा सहभागीलाई धेरै सजिलो हुन्छ। यदि, विकास बोर्डले चाह्यो भने बाहिर हुने फेस्टिभल नेपालमा कार्यक्रम राख्न र पहल गर्न सक्छ।

अबको योजना के छ?

भर्खरै नेपाल फर्किएको छु। अहिले के घर के डेरा भन्ने फिल्ममा काम गरिरहेकेको छु। अझै केही प्रोजेक्ट गर्न बाँकी छन्। अपच्र्युनिटी पाइयो भने अन्य देशका फिल्ममा काम गर्ने सोच छ।

प्रतिक्रिया दिनुहोस्