मालढुङ्गा–बेनी सडक दैनिक चार घण्टा बन्द



पर्वत ।

मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको मालढुङ्गा–बेनी सडक खण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ ।
स्तरोन्नति भइरहेको मालढुङ्गा–बेनी सडक चौडा गर्न चट्टान काट्नुपर्ने भएकाले शनिबार देखि दैनिक चार घण्टा बन्द गरिएको हो ।

प्रत्येक दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको छ । कालीगण्डकी करिडोर बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार निर्माणको कामलाई सहज बनाउका लागि ३२ गतेसम्म दैनिक चार घण्टा सवारी साधन चलाउन बन्द गर्ने निर्णय भएको छ ।
सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि प्रशासनको अनुमतिमा सडक बन्द गरिएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।

सवारी आवतजावत बन्द गरिएको अवधिमा सवारीसाधनको डाइभर्सन र ब्यवस्थापनका लागि सुरक्षा निकाय तथा सहजीकरणका लागि पर्वत, म्याग्दी, बागलुङ र कास्की जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको उहाँको भनाई छ ।

एम्बुलेन्स र बिरामी बोकेका सवारीसाधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने छ ।

एपेक्स–खड्का कृष्ण जेभीको््् सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले वर्षायाम सुरु भए पनि सडक निर्माणलाई तीव्रता दिन सवारीसाधन रोकेर काम गर्न समय मागिएको बताउनुभयो । मालढुङ्गा–बेनी सडक बन्द भएको समयमा बागलुङ–रत्नेचौर–बेनी हुँदै वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ ।

पर्वतको कुस्मा नगपालिका १ मालढुंगा देखि पर्वतकै जलजला गाउँपालिका ३ वारीबेनी सम्मको तेह्र किलोमिटर दूरीको उक्त सडक स्तरोन्नति र कलोपत्रको काम भइरहेको छ । सडक विस्तार र सुधार गरी दुई लेनको बनाउन लागिएको आयोजनाले जनाएको छ ।

हाल पक्कीसहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न लागिएको हो ।

विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ ।

२०४८ मा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरिएको उक्त सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । पछिल्लो समय सडक जीर्ण थियो । पहिरो तथा बाढीका कारण बेला बेलामा यातायात सेवा प्रभावित हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्