वि.सं.२०७९को पात्रोमा नेवाःसंस्कृति स्वन्ति (तिहार)पर्व पारम्परिक र शास्त्रीय मर्यादाविपरीत



रात्रीमा सूर्यग्रहण दिनमा चन्द्रग्रहण भए स्नान् दानकार्य गर्नु नपर्नेे । यस अनुसार न दिन, न रात्रि अर्थात् दिन सकिएर रात शुरू हुने बेलुकी साँझपख सायन्हकालको अन्तिम घडीमा ग्रहण स्पर्श भई प्रदोष रात्रीको मुखैमा सूर्यास्त सँगसँगै सर्वपर्व ग्रहणकाल पनि सकिने भएकोले आत्म पवित्रता हेतु स्नान्शुद्धि गरेर कार्तिक ८ गते मंगलबार महत्वपूर्ण म्हपूजा कर्म गर्नुहुन्छ ।

ज्योतिषशास्त्र धर्मशास्त्र एकअर्काको परिपूरकमा रही चान्द्र एवं सौरको समन्वयले धार्मिक, सांस्कृतिक, अध्यात्मिक, तान्त्रिक तथा परम्परागत मौलिक सनातन कर्म, कृत्यादि कालमानानुसार उषाः, प्रातः, पूर्वान्हः, मध्यान्हः, अपरान्हः, सायंन्ह, प्रदोष, रात्री, मध्यरात्रीमा मात्र होइन बेला, मूहुत्र्त(साइत) समेत हेरी नित्य, नैमित्तिक र काम्यकर्महरू लगायत विभिन्न पूजा, आराधना, अनुष्ठान, जप, तपादि खाइ, नखाइ, खुल्ला एवं गुप्तरूपमा यथासमयमा गरिन्छन् ।

ज्योर्तिविज्ञानका प्रणेता महिर्षिहरूले सिद्ध गरिसकेका छन् कि यस अनन्त ब्रम्हाण्डमय चराचर जगतको उद्भव, पालन र प्रलय गर्ने सर्वशक्तिसम्पन्न परब्रम्ह परमेश्वर काल हो । वेद, उपनिषद्, पुराणादिमा पनि काललाई नै परब्रम्ह बताइएको छ । तत्र कर्मणो यस्य यः कालस्तत्कालव्यापिनी तिथिग्राह्र्या अर्थात् जुन कर्म जतिखेर गर्नुपर्ने हो, त्यो कर्म त्यत्तिखेरैको विशेष कालव्यापिन् तिथिमा नै गर्नुपर्ने शास्त्र निर्देशित विधिविधान छ ।

(क)स्वन्ति(स्वन्हुतिथि)पर्व पूजाको काल र सुलं(खण्डित) गर्न नहुनेबारे

नेपाल भाषाभाषी नेवाःहरूले प्रत्येक वर्ष मनाइने मौलिक संस्कृति स्वन्हु तिथि स्वन्ति पर्वको लक्ष्मीपूजा, म्हपूजा र भ्रातृ पूजाका कर्महरू कहिले गर्ने भन्नेबारे नेवाःथ्यासासपूm ग्रन्थ र धर्मशास्त्रानुसार कूलपरम्पराले अखण्डित रूपमा सुलं नबसिकन तीन दिनको पर्व नटुटाइकन चान्द्र तिथियुक्त निरुपित विशेष कर्मकालव्यापिन् तिथिमा अध्यात्मदर्शन एवं तन्त्रोक्त विधिविधानले लगातार (लहरै)पूजा गर्नुपर्ने हुन्छ । द्वादश्यां च त्रयोदश्यां च चतुर्दश्यां तथैव च । अमावश्यां च प्रतिपदि द्वितीयायां क्रमाद् बुधैः।। गजं काकं तथा श्वानं, गोलक्ष्मी स्वस्वदेहकम्। पूजयेत् भ्रातां तन्त्रंविधिवत् सर्वमानवैः।। (नेपाल वर्ष क्रिया)।

वि.सं.२०७९को पात्रोमा तीनदिने स्वन्ति पर्वकोे प्रथमदिन लक्ष्मीपूजा सुखरात्री कार्तिककृष्ण औंसी तिथि व्याप्त रात्री कार्तिक ७ गते सोमबार छापिएको ठीक छ । तर, भोलिपल्ट दोस्रोदिन कार्तिक ८ गते मंगलवार सूर्यास्तसँगै ग्रहणपछि कार्तिकशुक्ल प्रतिपदा तिथि प्राप्त सायन्हकाल अस्तसं स्नान् शुद्धिपश्चात् कुलपरम्परानुसार अमावास्यायुक्त प्रतिपदा तिथिमा बलिपूजासहित रात्रिदीपोत्सवका साथ स्वदेहआत्म म्हपूजा गरी सुखरात्रि मनाउने दिन नेवाःपरम्परागत संस्कृतिविपरीत एकदिन टुटाउँदै सुलं राखेर पर्व खण्डित गरेर पर्सिपल्ट तेस्रो दिन कार्तिक ९ गते बुधवार किजापूजा गर्नुपर्ने दिन म्हपूजा छापिनु गलत भयो । बिहान म्हपूजा गर्ने प्रमाणिक आधार छैन र सूर्योदयकालीन तिथि दिनभर हुन्छन् भन्ने कुरो सत्य होइन ।

तेस्रो दिन कार्तिक ९ गते बुधबार कार्तिकशुक्ल प्रतिपदा तिथियुक्त द्वितीया तिथि अपरान्ह ३ः३६ बजेदेखि दाजुभाइलाई दिदीबहिनीले हर्षोल्लासका साथ शुभसगुनसहित दाजु किजापूजा भाइटीका कर्म सम्पन्न गरिन्छ । कार्तिक १० गते बिहीबार तृतीयामिश्रित द्वितीयामा भाइटीका भनेर सरकारी नियन्त्रित पात्रोमा समेत छापिनु एकदम गलत र शास्त्रीय मर्यादाविपरीत छ । भ्रातृपूजा शास्त्रीय प्रमाण १.यमद्वितीया तु प्रतिपद्युताग्राह्योत्युक्तम् ।

यमद्वितीया भ्रातृपूजा प्रतिपदा तिथियुक्त द्वितीया तिथिमा ग्राह्य हुन्छ । (निर्णयामृते) २. उर्जेशुक्ल द्वितीयायांपरान्हेर्चयेद्यमम्। स्नानंकृत्वा भानुजायां यमलोकं न पश्यति।। कार्तिकशुक्ल द्वितीयाको अपरान्ह स्नान गरेर यमको पूजा गरिएमा यमलोक देख्नु पर्ने छैन । (सत्कर्मरत्नावलि) ३. कार्तिकस्य सितेपक्षे द्वितीया यमसंज्ञिता। तत्रापरान्हे कर्तव्यं सर्वथैव यमार्चनम्।। कार्तिकशुक्ल द्वितीयालाई यमद्वितीया भनिन्छ, यसको अपरान्हकालमा यमको पूजा गर्नुपर्छ । (भविष्य पुराण)।

स्वन्हुतिथि स्वन्ति पर्वमा लक्ष्मीपूजा आरम्भ पूजा र भ्रातृ पूजा प्रत्यारम्भ पूजा भएकोले आरम्भको अनन्तर प्रत्यारम्भको कर्मपूजा नसकिँदै सुलं खण्डित भएमा तिथ्यादि एवं मृत्युतुल्य गलग्रह रोगविशेष दोष लाग्ने शास्त्रीय मान्यता रहनाले नेपाल भाषाभाषी नेवाःहरू परम्परागत मौलिक संस्कृति स्वन्ति स्वन्हु तिथि तीन दिने अटूट् कर्मपूजाहरूको बीचमा खण्डित गरिँदैन, सुलं हुँदैन, आरम्भानन्तरं यत्र प्रत्यारम्भो न सिध्यति । गर्गादि मुनयःसर्वे तमेवाहुर्गलग्रहम। यी तीन दिने कर्मपूजालाई दुई दिनमा वा चार दिनमा पनि सम्पन्न गरिँदैनन् । कार्तिक १० गते बृहस्पतिबार चतुर्थी पूजा गर्दै देवी लक्ष्मीको स्वांक्वकाय्गु गरेर प्रसाद ग्रहण गर्दै स्वन्ति स्वन्हु तिथि पर्व विधिवत् समापन गरिन्छ ।

अतः कर्मकाल तिथि नबुझ्ने, म्हपूजा गर्नु नपर्नेहरूको लहलहैमा बेलाबखत स्वन्हु तिथि(स्वन्ति)पर्वलाई खण्डित गर्दै टुटाउने, सुलं राख्ने कार्य नेवाःपरम्परा, संस्कृति विपरीत छ । कुनै पनि शुभकार्य गर्नुअघि बीचमा बाधा अड्चन नआवस् भनि पूर्वांगस्वरूप नन्दिमुखी बयरश्राद्ध गर्ने परम्परा छ । गैरनेवाःहरूमा नभए पनि नेवाःसंस्कृतिमा मूलतः चतुर्विधाचार जस्तो कि शिष्टाचार, देशाचार, लोकाचार, कुलाचारको भूमिका रहेकोले शुभकार्यारम्भ अनन्तर प्रत्यारम्भ नभइकन बीचमा टुटाउनु, खण्डित गर्नु, छोड्नु वा सुलं बस्नु युक्तियुक्त हुँदैन । त्यसैले शुरूमा पितृको नाम्मा यमदीपदानलगायत काग, कुकुरको सन्मान्स्वरूप पूजा हुन्छ ।

(ख)स्वदेह आत्म म्हपूजा र नेपाल संवत्बारे

शास्त्रानुसार यमपञ्चक अन्तर्गतको तिहार स्वन्हु तिथि स्वन्ति पर्व सौर दिन गते, तारेखबाट व्यवहृत हुने नभई चान्द्र तिथि कालमानले हुनेहँुदा औंसी तिथिव्यापिन् रात्रीमा गरिने लक्ष्मी पूजापछि कार्तिकशुक्ल प्रतिपदा तिथि दुई घडी भए पनि अघिल्लो दिनमा त्यो सूक्ष्म चन्द्रोदय भइसक्ने हुँदा औंसी उदयमा म्हपूजा गर्नु अत्युत्तम हुन्छ कारण, प्रतिपदातिथ्योदय कालमा सूक्ष्म शुक्लत्वको शुरू चन्द्रमामा परी शुक्लकला वृद्धि हुँदैजाने अर्थात् चन्द्रकला कत्ति नभएको औंसी(कुहू) पछि सूक्ष्म चन्द्रोदय अर्थात् कालगणनाले चान्द्रवर्ष कृष्णपक्षकौलागा औंसी तिथिको अन्तिम घडीपला उप्रान्त नेपाल संवत् नववर्ष शुक्लपक्षकछलाथ्व प्रतिपदा तिथिको प्रथम घडीपला प्रवेश(स्पर्श) हुने बखत नववर्ष नेपाल संवत्को अति महत्वपूर्ण क्षणको घडीमा शास्त्रानुसार प्रतिपदा तिथिव्याप्त सायन्हकाल(अस्तसं) नेपाल भाषाभाषी नेवाःहरूले स्वन्ति पर्वको अति महत्वपूर्ण दोस्रो कर्म स्वदेह आत्म म्हपूजा गरी सुखरात्री उत्सव मनाइन्छ ।

तिथि घट्बढ्को कारण म्हपूजा पुरानो वर्षमै दुईपटक पर्यो कि भन्ने भ्रममात्र हुने हो, वास्तवमा म्हपूजा वर्षदिनमा एकपटक निश्चितरूपमा नयाँवर्षमै हुनेहुन्छ । द्वितीया तिथि मिसिएको प्रतिपदा तिथिमा म्हपूजा सुखरात्री गरिएमा प्राणनाश हुनसक्ने शास्त्रमा पाइनाले पनि कार्तिक ८ गते मंगलबार औंसी तिथि सांझ ४ः३३बजे उप्रान्त प्रतिपदा तिथि लाग्ने र सोही सांझ ५ः२४बजे सूर्यास्त संगसंगै सर्वपर्व ग्रहणकाल भुक्तान भएपछि स्नान्शुद्धि गरेर स्वदेहआत्म म्हपूजाकर्म गरेर सुखरात्रि मनाउनु पर्दछ । यदि मध्यरात्रीकालमा प्रतिपदा तिथि लागेको भए परविद्धा सिद्धान्तानुसार भोलिपल्टको सायन्ह प्रदोषकालमा म्हपूजा हुनेहुन्छ ।

नेपाल संवत् नववर्षारम्भ गणना कार्तिक ९ गते बुधवार सूर्योदयकालीन कार्तिकशुक्ल प्रतिपदा तिथिमा हुन्छ । म्हपूजा र नेपाल संवत् भिन्न विषय हुन्, एउटै डालोमा राखिंदा भएको पनि पोखेर भविष्यमा नेपाल भाषाभाषी नेवाःहरूकोे प्राचीनतम् ऐतिहासिक पहिचान पनि गुम्नसक्छ, सचेत हौं । नेपाल भाषाभाषी नेवाःहरूको पौराणिककालीन सायंकालीन कर्म स्वदेहआत्म म्हपूजा दिन शुभदिन मानेर गरिने मौलिक संस्कृतिलाई सूर्योदयकालमा नववर्षारम्भ हुनेसँग जोडेर नेपाल संवत् फेरिएपछि मात्र म्हपूजा प्रचलनमा आएको जस्तो गरेर सांस्कृतिक प्राचीनता खलबल्याउने प्रयत्न गर्नु कदापि ठीक होइन, गलत छ ।

अज्ञानतावश कार्तिक ९ गते बुधवार म्हपूजा भनेर पात्रोमा छापिनु एकदम गलत, निन्दनीय छ, यस्तो गलतकार्य राजनीतिबाट उत्प्रेरित भई अमूर्त मौलिक सांस्कृतिक सम्पदा मेटाउनु उचित हुन्न ।

पुराना नेवाःथ्यासासफूमा स्वन्तिबारे उल्लिखित केही प्रमाण

१. कार्तिक शुक्लप्रतिपदा इन्दल सुखरात्री जुरो।। संवछल केले दिन।। प्रतिपदा केल्यं जुरो।। कार्तिक शुक्लद्वितीया कुन्हु यमदुराख जुरो।। कार्तिकशुक्ल प्रतिपदा प्रदोषकालमा सुखरात्री म्हपूजा भयो।। संवत्सर देखेको दिन।। प्रतिपदा देखिएको भयो।। कार्तिकशुक्ल द्वितीयामा यमदुतिया भयो। २. लक्ष्मीपूजा अमावासि अस्तसं। कार्तिक शुक्लया सुखरात्री धर्म पादो अस्तसं।। लक्ष्मीपूजा औंसी सांयकालमा, कार्तिकशुक्लको सुखरात्रीधर्म प्रतिपदा सायंकालमा । ३. आश्विनकृष्ण चतुर्दशी नरक चतुर्दशी उदयसं तैलेनं स्नान। आश्विन कृष्ण अमावासी इन्दुस मुहत्र्त केल श्रीलक्ष्मी पूजा जुरो।। थ्वनं संति सुखरात्री।। थ्वनं संति यम द्वितीया।। प्रादोे प्रमान मखो थ्व परिपाति न। आश्विनकृष्ण चतुर्दशी नरकचतुर्दशी बिहान तेलियास्नान। आश्विनकृष्ण औंसी रात्रिमा मुहूर्त देखियो श्रीलक्ष्मीपूजा भयो । यसको भोलिपल्ट सुखरात्री । यसको भोलिपल्ट यमद्वितीया । कृष्णपक्ष प्रतिपदा प्रमाण होइन यो परिपाटीले ।। (आश्विनकृष्ण चतुर्दशी, आश्विनकृष्ण अमावासी भन्नाले पहिलेको अमान्तमानानुसार औंसीमा मासान्त हुने पात्रो अनुसार हो।)

(ग) स्वदेहआत्म म्हपूजा पूर्वविद्धा कार्तिकशुक्ल प्रतिपदातिथिव्याप्त अघिल्लो सायन्हकालमा गर्नुपर्ने शास्त्रीय प्रमाणहरू

१. यदा तु सा प्रतिपत् खण्डतिथिः सती पूर्वोत्तरयोरन्होर्दर्शव्दितीयाभ्यां पुज्यते तदा दर्शयुक्तायाः पूज्यत्वात् तत्रानुष्ठेयम्। (कालमाधव) प्रतिपदातिथि खण्डित भई पूर्व र पर अर्थात् अमावास्या तिथिमा र द्वितीयातिथिमा युक्त भएमा कर्मानुष्ठान अमावास्यायुक्त प्रतिपदातिथि नै पूज्य हुनेछ ।

२. कार्तिके शुक्लपक्षे तु प्रतिपद् रात्रिव्यापिनी। तदा पूजा प्रकर्तव्या सुखरात्रिविधानतः।। (कृत्यरत्नाबलि, कृत्यरत्नवल्यां)
कार्तिकशुक्लको रात्रिव्यापिनी प्रतिपदामा विधानपूर्वक पूजा गरी सुखरात्रि मान्नु। (प्रतिपत्तिथिनिर्णयोक्त ब्राह्मः।।)

३. प्रतिपद्यं त्वमावस्या तिथ्योर्युग्मं महाफलम्। एतव्दयस्तं महादोषं हन्ति पूण्यं पुराकृतम्।। (ब्रम्हपुराण, ज्योतिर्निबन्ध, ब्रम्हपुराण)
प्रतिपदा अमावास्यायुक्त तिथिहरू युग्मयोग महाफल दिने हुन्छ, यसको उल्टो भएमा महादोष लाग्छ, पहिलेको धर्मपुण्यकार्यलाई नष्ट गर्दछ ।

४. सुखरात्रिविधान तु रात्रौ च कारयेद् बुधः। तस्मात् सर्वप्रयत्नेन कर्तव्या रात्रिव्यापिनी ।
वत्सरादौ बसतादौ बलिराज्य तथैव च । पूर्वविद्धैव कर्तव्या प्रतिपत् सर्वथा बुधैः।। (वीरमित्रोदय)
सबै प्रयत्नका साथ सुखरात्रीको विधान रात्रिव्यापिनी नै लिनुपर्छ । संवत्सरको रात्री बलिराज्यको पर्व पूर्वविद्धा प्रतिपदा लागेको तिथीमा नै गर्नुपर्दछ ।

५. कार्तिके शुक्लपक्षेतु प्रथमेहनि सत्यवत्। श्रोतव्यं गीतवाद्यादिर्मनुलिप्तैर्मनोहरैः।।
विशेषतस्तु भोक्तव्यं प्रशस्तैर्वान्धवै सह। तस्यां निशायां कर्तव्यं शय्यास्थानं सुशोभनम्।।
दयिताभिश्च सहितैर्नेया सा रजनी शुभा। नवैर्वस्त्रैश्च संपूज्या द्विजसम्वन्धिवान्धवा।।
कार्तिके शुक्लपक्षेतु प्रतिपद्रात्रिव्यापिनी। कर्मणोयस्ययत्कालंस्तत्कालव्यापिनी तिथिः।। (ब्रम्हपुराणे, कृत्यचिन्तामणिः)
कार्तिक शुक्लपक्षको पहिलोदिन गीत, संगीत, आदि सुनी आफ्नो परिवारजन सबै मिली, प्रतिपदा रात्रीव्यापिनी समयमा बस्त्रादिले सुशोभित भै गर्नुपर्ने कर्म तत्काल समयमा नै पूजा गर्नुपर्दछ ।

६. दिनद्वये प्रतिपदः सायाह्नव्याप्तभावेतु पुर्वैव।। रात्रौ वलिपूजाविधाने न कर्मकालव्यापित्वात्।। परदिने चन्द्रोदयन्निषेधादिति दिक्।।
दुई दिन प्रतिपदा सायन्हव्यापिनी भएमा अघिल्लो सायन्हकाल लिनू, रात्री बलिपूजा गर्ने कर्मकालव्यापिनीमा विधिपूर्वक पूजा गर्नू, परदिन चन्द्रोदयमा हुँदैन।(सत्कर्मरत्नावलि)।

७. लभ्येत यदि वा प्रातः प्रतिपद् घटिकाव्दवम्। चन्द्रोदय तदा कुर्यात् पूर्वेद्युः विधिपूर्वकम्।। (आत्मपूजापुस्तिका)
प्रतिपदा दुई घडी छ भने अघिल्लोमा त्यो सूक्ष्म चन्द्रोदय भईसकेको हुँदा औंसी उदय भएको दिनमा विधिपूर्वक गर्नु ।

८. प्रतिपद द्वितीया मिश्रा सुखरात्रि करोतिचेत्। तस्य प्राणार्थ नाश स्यादिति जानीहि मानवः।। (वीरमित्रोदय)
द्वितीया मिसिएको प्रतिपदातिथिमा सुखरात्री मनाएमा त्यस्को प्राणनाश हुनसक्छ भनेर जान्नु मानव ।

(घ)ग्रहण सर्वपर्वकाल भुक्तानपछि नदेखिने ग्रहण बार्नुनपर्ने, संकल्पित कार्यारम्भ समापन नभएसम्म ग्रहणसूतक नलाग्ने वारे

१. उक्त पात्रोहरूमा कार्तिक ८ गते मंगलबार कार्तिककृष्ण औंसी तिथि सायन्ह ४ः३३बजेसम्म भई उप्रान्त कार्तिक शुक्लप्रतिपदा तिथि शुरू भएर ४ः५२बजेमा ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण स्पर्श भई ५ः२४बजेसम्म सर्वपर्व ग्रहणकाल ३२ मिनेट्मात्र हुने, अघिल्लो दिन कार्तिक ७ गते सोमबार राती ४ः५२बजेदेखि भोलिपल्ट सूर्योदय बिहान ६ः११ बजेपछि भोजन गर्ने भनिए पनि नदेखिने ग्रहण बार्नु नपर्ने धर्मशास्त्रले निर्देशन गरेकोले कार्तिक ८ गते मंगलबार ५ः२४बजे सूर्यास्तपछि शरीर भित्री आत्मदेखि स्नानशुद्धि गरी अपवित्रः पवित्रो वा सर्वावस्थां गतोेपि वा। यःस्मरेत् पुण्डरिकाक्षं स बाह्याभ्यन्तरःशुचिः।। आदौश्रद्धाः ततःशुचिः। स्मरण गर्दै श्रद्धापूर्वक कुलपरम्परानुसार षोडशोपचार पूजाविधिले आत्मज्ञ म्हपूजा गर्नुपर्दछ । सुलं बसेर छोड्नु, पर्वखण्डित गर्नुहुन्न, किनभने धर्मशास्त्रमा,

(१)चंद्रसूर्यग्रहणं यावच्चाक्षुष दर्शनयोग्यं तावत्पुण्यकालः। अतोग्रस्तास्तस्थलेस्तोत्तरं व्दीपांतरे ग्रहणसत्वेपि दर्शनयोग्यत्वाभावान्न पुण्यकालः।। चन्द्रसूर्यग्रहण आंखाले देख्न दर्शनयोग्य रहुन्जेल पुण्यकाल हुने, ग्रस्तको अस्त अनन्तर अन्य स्थानमा ग्रहण भए पनि पुण्यकाल हुँदैन ।

(२)चन्द्रसूर्यग्रहे नाद्यात्तस्मिन्नहनि पूर्वतः। राहोर्विमुक्तिं विज्ञाय स्नात्वाकुर्वीत भोजनम्।। चन्द्रसूर्यग्रहण दिन प्रथम भोजन नगर्नु, तर राहु मुक्तिपछि स्नान् गरेर भोजन गर्नू।

(३)सूर्येन्द्रुग्रहणे यावत्तावत्कुर्याजपादिकम्। न स्वपेन्न च भुञ्जीत स्नात्वा भुञ्जीत मुक्तयोः। जबतक सूर्यग्रहण चन्द्रग्रहण हुन्छ जपादि गरिरहनु नसुत्नु् नखानु। ग्रहणमुक्त भएपछि स्नान् गरेर भोजन गर्नू।

(४)कांजिकं तक्ररं धृततैलपाचितमन्नं क्षीरंच पूर्वसिद्धं ग्रहणोत्तरं ग्राह्यम्। धृतेसन्धिते गोरसेषुग्रहणकालेकुशांतरायंकुर्यात्।। ग्रहणअघि पहिल्यैसिद्ध गरेको काञ्जी(पानीमाड आदिमा रायो, नूनादि राखेर अमिल्याएको खानेकुरो, औषधीविशेष), मठ(चिनीपानी दही मथिएको पेयपदार्थ, मही), धृत, तेल, पकअन्न, दूध आदि ग्रहणपछि खानु पिउनु योग्य छ र घ्यू, सन्धित, गोरसमा ग्रहणको समयमा कुश राख्नू।) परम्परानुसार ग्रहणदोष कटाउन ग्रहणअघि जल, भोज्यपदार्थमा धार्मिक शुद्धीकरण हेतु कुश वा तुलसी राख्ने प्रचलन रहेको र ग्रहणपछि, स्नान्शुद्धीपश्चात् सो उपभोग गर्ने अद्यापि छ ।

(५)सूर्यग्रहो यदारात्रौ दिवा चन्द्रग्रहस्तदा। तत्र स्नानं नकुर्वीत दद्यादानं न च क्वचित्।। रात्रीमा सूर्यग्रहण दिनमा चन्द्रग्रहण भए स्नान् दानकार्य गर्नु नपर्नेे । यसअनुसार न दिन, न रात्रि अर्थात् दिन सकिएर रात शुरू हुने बेलुकी साँझपख सायन्हकालको अन्तिम घडीमा ग्रहण स्पर्श भई प्रदोष रात्रीको मुखैमा सूर्यास्त सँगसँगै सर्वपर्व ग्रहणकाल पनि सकिने भएकोले आत्म पवित्रता हेतु स्नान्शुद्धि गरेर कार्तिक ८ गते मंगलबार महत्वपूर्ण म्हपूजा कर्म गर्नुहुन्छ । म्हपूजाकर्म गर्ने बेला, साँझमा लाग्ने ग्रहणलाई दिउँसो भनेर पर्वखण्डित गर्दै सुलं राखेर क्रमभंग गर्नुमा पनि गल्ती देखियो । माथि बुंदा १.मा उल्लेखित कार्तिक ७ गते ४ः५२बजेको मिरमिरे बिहानी, प्रातः, उषाकाललाई राती भन्नु पनि बेठीक, गलत छ ।

(६) ग्रहणकाललाई सूतक मानिन्छ, तर संकल्पसहित कार्यारम्भ भइसकेपछि ग्रहण, सूतकदोष लाग्दैन भन्ने विभिन्न शास्त्रमा पाइनाले महत्वपूर्ण म्हपूजाकर्मलगायत व्रत, यज्ञ, विवाह, श्राद्ध, होम, अर्चन, खाद्यपदार्थ खानु निषेध छैन ।

(७) वि.सं.२०५२ वर्षको पात्रोमा कार्तिक ७ गते मंगलबार कार्तिककृष्ण आंैसीतिथि बिहान ९।५९घ.प.सम्म भई त्यस उप्रान्त प्रतिपदातिथि हुँदा गोबलि गाई(म्ह)पूजा, सूर्यग्रहण भनी छापिएको दिन प्रातः ७ः४०बजे खण्डग्रास सूर्यग्रहण स्पर्श भई १०ः१५बजे मोक्ष हुँदा र ८ गते बुधवार कार्तिकशुक्ल प्रतिपदा तिथि बिहान ६।१०घ.प.सम्म छदां गोबर्धन यम २ भ्रातृ(भाइटीका किजा)पूजा नेपाल संवत् १११६प्रारम्भः भनी नेवाःहरूको मौलिक स्वन्ति स्वन्हु तिथि पर्व सुलं नराखि, नटुटाई, खण्डित नगरिकन ठीक ढंगले पात्रोमा राखिएका कारण अपरान्ह, सायंकालमा म्हपूजा सम्पन्न भए । तर विज्ञको अभावले हो कि नियतवश, यो वर्ष वि.सं.२०७९को पात्रोमा कार्तिक ८ गते नेवाःसंस्कृति पर्व बिथोल्दै म्हपूजा दिन टुटाएर सुलं राखियो । किन?

अतः यो वर्ष वि.सं.२०७९ कार्तिक ८गते मंगलबार कार्तिककृष्ण आंैसी तिथि समापनसँगै कार्तिकशुक्ल प्रतिपदा तिथि शुरू हुने घडीपला अर्थात् अघिल्लो पूर्वविद्धा कार्तिकशुक्ल प्रतिपदा तिथिबाट नेपाल संवत् नववर्ष प्रवेश भई ज्योर्तिगणना आरम्भ हुने बखत बढी योग प्राप्त हुने औंसी मिश्रित प्रतिपदा तिथिको महत्वपूर्ण सायंकालको समयमा म्हपूजा गर्न छोडेर नेपाल भाषाभाषीका पुराना थ्यासासपूm र शास्त्रीय प्रमाणविपरीत भोलिपल्ट कार्तिक ९ गते बुधबार परविद्धा प्रतिपदा तिथिमा म्हपूजा भनेर मिथ्या, गलत विवरण पात्रोमा छापेर नेवाःहरूको प्राचीन एवं मौलिक संस्कृतिमाथि अनादिष्ट भूमिका, क्षणिक अनुत्पन्न स्वार्थान्धले प्राचीन सांस्कृतिक परम्परा बिथोल्ने हुँदा नेपाल पञ्चांग निर्णायक विकास समितिले यथाशीघ्र प्रेस वक्तव्यमार्फत् संशोधनसहितको सूचना जनमानसमा प्रवाह गर्नु उचित हुनेछ ।

लेखक: नेपाल पञ्चांग निर्णायक समिति, पूर्वसदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्