वडाध्यक्षहरूको दादागिरी चिरेर अघि बढ्न सक्लान् मेयर बालेन ?



२०५४ सालमा काठमाडौंको नगरपिता केशव स्थापित हुँदा गोगंबुको एकसय ६१ रोपनी जनताको जग्गा नेपाल सरकारले नयाँ बसपार्क बनाउने भनेर अधिकरण गप्यो । जग्गाधनीलाई थोरै रकम दिएर सरकारले जग्गा आफ्नो नाममा ल्यायो । ती जग्गाधनी विस्थापित भइसकेका छन् ।

उनीहरू मरे कि बाँचे कसैलाई अत्तोपत्तो छैन । देशैभरका गाडी छुट्ने बसपार्कको खाँचो ओल्याउँदै जापान सरकारले त्यत्तिकै नयाँ बसपार्कको निर्माण गरिदियो । त्यतिखेर स्थापितले आफू नगरपिता भएको फाइदा उठाउँदै ४५ वर्ष ल्होत्से सहकारीलाई उक्त बसपार्क सञ्चालन गर्न दिने भनेर सम्झौता गरे ।यहाँ अर्बौं रुपियाँको चलखेल भएको थियो । कानुनमा हरेक पाँच वर्ष नवीकरण गर्नुपर्छ । कि टेन्डर आह्वान गरेर अर्को व्यक्तिलाई सञ्चालन गर्न दिनुपर्छ । तर, स्थापितले एउटै व्यक्तिलाई यत्रो वर्ष भाडा वा लिजमा बसपार्क सञ्चालन गर्ने अनुमति दिएका हुन् । एक सय ६१ रोपनीमध्ये जम्मा ६५ रोपनी जग्गामा बसपार्क सञ्चालनमा छ ।

अन्य सबै जग्गामा भवन निर्माण गरेर भाडामा लगाइएको छ । त्यहाँभित्रको २५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भइसकेको छ । महानगरपालिका र वडाले व्यक्तिको नाममा गएको जग्गा फिर्ता ल्याउन चासो देखाएको छैन । अर्कोतिर, यत्रो वर्षदेखि जग्गाको नापजाप गरिएको छैन् ।

ल्होत्से सहकारीले पूरा बसपार्क र बाँकी जग्गा गरेर महानगरलाई वार्षिक ९० लाख रुपियाँ भाडा तिर्छ । जग्गा सरकारको बसपार्क बनाइदिने जापान सरकार, ल्होत्सेको त एक सुको पनि लगानी छैन । बिना लगानी ल्होत्सेले करोडौं आम्दानी गरिरहेको छ । वार्षिक ९० लाख भाडा तिर्ने ल्होत्सेको आम्दानी नै पाँच करोड छ ।बसपार्कभित्र छिर्नेबित्तिकै एउटा गाडीबाट हजार रुपियाँ असुल्छ । अनि लोकल गाडीको तीन सय रुपियाँ लिन्छ । एउटा गाडी पार्किङ गरेबापत दैनिक छ सय रुपियाँ लिने गरेको छ । यात्रुले टिकट काटेको रकमबाट २० प्रतिशत कमिसन लिन्छ । दुई हजार रुपियाँको टिकट काट्यो भने चार सय त ल्होत्सेले उठाउँछ ।

बसपार्कभित्र २० हजारदेखि तीन लाखसम्म मासिक भाडा सटरको निर्धारण गरेको छ, ल्होत्सेले । खाली सटर २५ लाखदेखि ६० लाखसम्म खरिद बिक्री गर्छ । त्यहाँ व्यापार गर्ने खोज्नेसँग तिन महिनाको भाडा पहिल्यै असुल्छ । सरकारको सम्पत्तिमा ल्होत्से सहकारीको मोजमस्ती । ल्होत्से सहकारी मालामाल, सरकार कंगाल ।
नगरपिता हुँदाखेरि सरकारी जग्गा हिनामिना गर्ने, भ्रष्ट्राचार गर्नेलगायतका काम गरेको हुनाले हालै मात्र सम्पन्न स्थानीय चुनावमा जनताले उनलाई हराइदिए । स्थापितभन्दा अघिका मेयर पेल सिंह, नानीमाया दाहालले पनि थुप्रै सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिदिएका छन् ।

यता, सिर्जना सिंहलाई महानगरवासीले आफ्नो अभिभावक बनाउन चाहेनन् । बरू, स्वतन्त्रमा उठेका बालेन्द्र शाहलाई अत्यधिक मत दिएर जिताइदिए । बालेनप्रति जनताको धेरै अपेक्षा छ । सरकारी जग्गा फिर्ता ल्याउलान् र महानगरवासीको हितमा काम गर्लान् भन्ने आशा बोकेर उनीहरू बसेका छन् ।ल्होत्सेले ठूल्ठूला राजनीतिक पार्टीलाई चन्दा दिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसलाई ल्होत्से सहकारीले पोसेको छ । उता, यातायात व्यवसायी र मजदुर संगठनहरूले पनि यहाँबाट पैसा खाएका छन् । राजनीतिक पार्टीलाई चुनौती दिएर नगरिपिता मेयरले ल्होत्सेको सम्झौता तोड्न सक्लान् ?

महानगर र ल्होत्सेको सम्झौता खारेज गरेर नयाँ टेन्डर आह्वान गर्ने हो भने मासिक तीन करोडसम्म भाडा तिर्ने आउँछन् । यसो हुँदा व्यक्तिको खल्तीमा एक सुको पनि जान पाउँदैन । राजनीतिक दल र विभिन्न व्यक्तिलाई पोस्ने काम बन्द हुन्छ । यो निर्णय गर्न सक्ने आँट नगरपिता बालेनसँग छ ? नयाँ बसपार्क त एउटा उदाहरण मात्र हो ।
हरेक वडामा गुठी र सरकारी जग्गा व्यक्तिको नाममा गएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरूले व्यक्तिको नाममा गएको मठमन्दिर, गुठी र सरकारी जग्गा फिर्ता ल्याउन सक्छन् ? रिबन काट्नतिर होइन बरू आफ्नो वडा र नगरमा भएको सम्पत्ति खोजतलास गर्नतिर लागौं ।

हेर्दाहेर्दै मासिएको ढुंगेधारा, कुवा, पार्टीपौवा जनप्रतिनिधिहरूले फिर्ता ल्याउन सक्छन् । तालपोखरी पनि व्यक्तिको नाममा गएको छ भन्दा पनि अचम्म लाग्छ । पार्टीपौवा मासेर बस्ने घर ठड्याइएको छ । हाम्रो पुर्खाहरूले साँचेको सम्पत्ति फिर्ता ल्याउने जिम्मा अबका जनप्रतिनिधिहरूको हो ।कति जनताको हितमा काम गर्ने जनप्रतिनिधिहरू पनि आएका छन् । उता, जग्गा दलाली र ठेकेदार पेसाबाट आएका पनि जनप्रतिनिधि बनेका छन् । अब यिनीहरूले आफ्नो पृष्ठभूमि बिर्सिनुपर्छ । अझै पनि ठेक्कापट्टा र जग्गा दलाल गर्ने हो भने अस्तित्व नै मेटिन सक्छ भनेर विचार गरौं ।

यता, सञ्चारकर्मीहरू पनि पार्टीगत हिसाबमा चल्दा सरकारी सम्पत्ति दुरुपयोग भयो । सञ्चारकर्मीहरू अटल हुन नसक्दा जनप्रतिनिधिहरू मोटाए । नेपालका सबैजसो मिडिया हाउसले कुनै न कुनै राजनीतिक पार्टीप्रति आस्था राखेको छ । जसको कारण मुलुकमा विकृति मौलायो ।नगरपिता बालेनले जनताको घरदैलोमा पुगेर म भ्रष्ट्राचार गर्दिन । तलबभत्ता, सेवासुविधा केही पनि लिन्न । मेरो पुख्यौली सम्पत्ति नै टन्न छ । म जनता र राष्ट्रको हितमा काम गर्छु लगायतका बाचा गरेका थिए । अब ती बाचाहरू साबित गर्ने बेला भइसकेको छ । आफूले गरेको बाचा पूरा गर्न सक्छन् कि सक्दैनन् ?
हेर्ने बेला आएको छ ।

मठमन्दिरको छेउछाउमा भएको जग्गा भाडामा लगाएर व्यक्तिहरूले कमाइरहेका छन् । व्यक्ति पैसा कमाउने तर राज्य हेरेको हे-यै । राज्य हिजो पनि रित्तो थियो आज पनि रित्तै छ । तिर्खा लाग्यो भने पानी खाने ढुंगेधारा छैन, काठमाडौंमा । पानी पिउनुप-यो भने ३० रुपियाँ तिर्नुपर्ने बाध्यता छ ।पैसा नहुने प्यास मेट्न पानी पनि पाउदैनन् । भएका छ सय ३४ वटा ढुंगेधारा मासेर घर बनाइयो । उता, थकाइ लाग्यो भने एकछिन बस्छु भन्दा पनि पाइदैन । पार्टीपौवा सबै मासिसकेका छन् । कहाँ गएर थकाइ मार्नु ? नगरपिता बालेनबाट आश धेरै छ निराश पार्ने काम नहोस् । अन्य जिल्लाबाट काठमाडौंका जनता शिक्षित छन् ।

उनीहरू पैसावाल नै छन् । न बालेनले पैसाले भोट किनेका हुन् न काठमाडौंबासीले बिकेका हुन् । किन कि उनीहरू चेतनशील छन् । आफ्नो क्षेत्रको हित हेरेर र धेरै सोचविचार गरेर मात्र उनलाई भोट दिएको हो । मधेशी मूलको एउटा नागरिकलाई जनताले विश्वास गर्नु भनेको निकै ठूलो विषय हो ।यसलाई नगरपिता बालेनले ख्यालख्याल गर्नुहुन्न । काठमाडौंवासीको हित सोचेर अघि बढे भने अर्कोचोटि पनि जनताले उनलाई नै आफ्नो अभिभावक चुन्नेछन् । कर उठाउनेदेखि लिएर सरकारी सम्पत्ति संरक्षणमा उनी जुट्नुपर्छ । उनले कतिको काम गर्न सक्छन् भने पर्खाइमा सबै जना छन् । उनलाई काम गर्न पनि निकै नै चुनौती छ ।

तर, चुनौतीलाई पन्छाउँदै उनी अघि बढ्नुपर्छ ।शहरी विकासमन्त्री रामकुमारी झाँक्रीद्वारा उनको खुट्टा तान्ने काम शुरू भइसकेको बुझिएको छ । फोहोर मेरो पहलमा उठेको हो भन्दै उनी भाषण ठोक्दै हिडेकी छिन् । मन्त्री भएको आठ महिनासम्म एउटा सिन्को नभाँच्ने । अनि पार्टीले मन्त्रीबाट फिर्ता बोलाइपछि नौटंकी देखाउने ।आफ्नो कुर्सी कति प्यारो छ भनेर नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले प्रष्ट पारिसकेका छन् । टिकटक बनाउन व्यस्त मन्त्रीसँग अरू के अपेक्षा राख्ने ? नगरपिता बालेनले शहरी विकासमन्त्री झाँक्रीको वाइयात कुरालाई साइडमा राख्दै काठमाडौंलाई व्यवस्थित र सुन्दर शहर बनाउनुपर्छ ।

यतिखेर वडाध्यक्षहरू नगरपिता बालेनसँग आगो भएका छन् । भन्छन्, हाम्रो वडामा आउनुअघि हामीलाई पहिल्यै जानकारी गराउनु । वडाध्यक्ष ठूलो कि मेयर ? वडाध्यक्षहरू आफूलाई मेयरभन्दा ठूलो ठान्छन् कि क्या हो ? उनलाई निर्देशन दिने अधिकार वडाध्यक्षलाई कसले दियो ? मेयरलाई जहाँ जान पनि अधिकार छ ।

उनलाई जहाँ मनलाग्छ त्यही जान पाउँछन् । एउटा वडाको जनताले भोट दिएर उनी मेयर भएका हुन् र ? समग्र वडाको जनताले भोट दिएर उनी मेयर भएका हुन् नि । अझै दादागिरी देखाउँछन्, वडाध्यक्षहरू ।निवर्तमान मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा डंगोलको सिको नगरुन्, मेयर बालेनले । विद्यासुन्दर शाक्यले एउटा फोनसमेत जनताले तिरेको करबाट लिए । सहकारीको साधारणसभामा गएर फूलमाला लगाउने काम पनि उनीहरूले गरे । जसको परिणाम उनीहरूले भोग्नुप-यो ।

मेयर बालेनबाट यस्तो काम नहोस् । मेयर बालेनले कस्तो काम गर्छन् भनेर सबैले हेरिरहेका छन् । सबैको चासोको विषय उनको काम गर्ने क्षमतापट्टि छ । हेरौं, उनले काठमाडौंको रूप फेर्न सक्छन् कि सक्दैनन् ।
अनुसा थापा, भक्तपुर

प्रतिक्रिया दिनुहोस्