मकवानपुर गोल्डकप दोस्रोपटक आर्मीलाई



हेटौंडा । 

हेटौंडाको मैदान त्रिभुवन आर्मीलाई फापेको छ । हेटौंडा–५ को पिप्ले रंगशालामा सोमबार सम्पन्न चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको उपाधि दोस्रोपटक पनि त्रिभुवन आर्मी क्लबले जितेको हो ।
आर्मीले २०७७ सालमा तेस्रो मकवानपुर गोल्डकपको फाइनलमा पनि घरेलु टोलीलाई हराउँदै पहिलोपटक उपाधि जितेको थियो ।

सोमबार सम्पन्न रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली विजयी युथ क्लब हेटौंडालाई २–१ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको छ । आर्मीले उपाधि र शिल्डसँगै १५ लाख पाएको छ भने उपविजेता हेटौंडाले शिल्डसँगै १० लाख पुरस्कार पाएको छ ।

आर्मीले तेस्रो मकवानपुर गोल्डकपमा घरेलु टोली मकवानपुरलाई नै १–० गोलअन्तरले नै पराजित गर्दै उपाधि जितेको थियो । अघिल्लोपटक फाइनलमा पुगेर उपाधि हात पार्न नसकेको हेटौंडाले यसपटक पनि उपविजेतामा चित्त बुझाएको छ ।

आर्मीलाई च्याम्पियन बनाउन कप्तान भरत खवास र कमलबहादुर थापाले गोल गरे । घरेलु टोली विजय युथका डोना थापाले पेनाल्टीमार्फत् गोल फर्काए पनि पर्याप्त भएन । १५औं मिनेटमा कप्तान खवासको गोलबाट आर्मीले शुरुवाती अग्रता लिएको थियो ।

उनले टेकबहादुर बुढाथोकीको पासलाई सुन्दर फिनिसको नमुना प्रस्तुत गरेका थिए । त्यसको १० मिनेटपछि घरेलु टोली बराबरी गोल फर्काउन सफल भयो । युद्ध शाहीले पेनाल्टी बक्समा विमल रानालाई फाउल गरेपछि रेफ्रीले विजय युथलाई पेनाल्टी प्रदान गर्दा डोना थापा चुकेनन् ।

दोस्रो हाफको शुरुमै थापाले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए । लगत्तै आर्मीले पेनाल्टीको अवसर पाए पनि दिनेश हेम्जन गोल गर्न चुके । विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले सन्तोष केसीलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा हेम्जन चुकेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै विजय युथका कप्तान तथा गोलरक्षक बरालले बुलेट बाइक प्राप्त गरेका छन् । प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीलाई हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको करिब ६ लाखको मोटरसाइकल बरालले हात पारेका हुन् । उनी युथ–२३ का पूर्वराष्ट्रिय खेलाडी हुन् भने मनाङ मस्र्याङ्दी क्लबबाट व्यावसायिक फुटबल खेल्छन् ।

प्रतियोगिताको व्यक्तिगत् विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकतर्फका सबै पुरस्कार आर्मीले प्राप्त गरेको छ । आर्मीका गोलरक्षक विकेश कुथु, डिफेन्डर विमल पाण्डे, मिडफिल्डर विवेक बस्नेत, फरवार्ड हेम्जन र प्रशिक्षक नवीन न्यौपाने उत्कृष्ट घोषित भए । उनीहरूले जनही नगद २५ हजार प्राप्त गरे । प्रतियोगिता विजेता र उपविजेता खेलाडी तथा प्रशिक्षकलाई नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पुरस्कार प्रदान गरेका थिए ।

विजय युथको मिडफिल्ड र फरवार्ड बलियो देखिएकाले फाइनल खेल ‘आर्मीका डिफेन्डरविरुद्ध विजय युथका फरवार्ड’ का रूपमा चित्रण गरिएको थियो । अनुभवी र पूर्वराष्ट्रिय खेलाडी टोलीमा रहेको फाइदा फाइनलमा आर्मीलाई भएको देखियो । जबकि, विजय युथमा युवा प्रतिभावान् खेलाडीको बाहुल्यता थियो ।

विजय युथका मुख्य डिफेन्डर विदेशी खेलाडी पेपे दोहोरो पहेंलो कार्डका कारण फाइनलबाट बञ्चित हुनु घरेलु टोलीका लागि दुर्भाग्य बनेको थियो । जेठ १९ गते शुरु प्रतियोगितामा १२ टोलीको सहभागिता थियो । प्रतियोगिताको पहिलो संस्करण थ्रीस्टार, दोस्रो मकवानपुर र तेस्रो आर्मीले जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्