काकाकुल बन्दै नेपालगन्ज, सुके धारा

लम्बिँदै राप्ती नदीबाट पानी ल्याउने योजना



बाँके ।

नेपालगन्जमा नजिकको सतहबाट पानी आउन छोडेको छ । यहाँका धेरै धारा (ह्यान्डपाइप) सुकेका छन् । अत्यधिक गर्मी अनि धाराबाट समेत पानी नआउँदा नेपालगन्जवासी थप पीडामा परेका छन् ।

पानीको कुनै समस्या नरहेको नेपालगन्जमा वर्षेनी पानीको अभाव बढ्दो क्रममा छ । ४०-५० फिट गहिराइमा पानी आउने नेपालगन्जमा अहिले यतिमा पानी भेटिन छोडेको छ । तल्लो सतहमै पानी भेटिन मुस्किल परिरहेको छ ।बाह्रैमास पानी आउने घरको धारा सुकेपछि स्थानीयबासी खानेपानी संस्थानको शरणमा पुगिरहेका छन् । संस्थानमा यति बेला पानीको धारा जडान गरिदिन निवेदन दिने बढेका छन् ।

संस्थानले बिहान ६ देखि ९, दिउँसो १२ देखि १ र बेलुका ४ देखि ७ बजेसम्म पानी दिने गर्दछ । नेपालगन्जमा संस्थानको पानी पिउनेको संख्या अत्यन्त न्यून छ । धारा सुकेपछि बाध्य भएर स्थानीयवासी संस्थानको पानी लिन बाध्य भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाको जनसंख्या १ लाख ३८ हजार ९ सय ५१ रहेको छ । यहाँ २८ हजार २ सय घरधुरी छ । त्यसमध्येमा करिब ५ हजार घरधुरीका ३० हजार मानिसले संस्थानको पानी पिउँछन् । संस्थानले दैनिक ६० लाख लिटर पानी छोडिरहेको छ ।

खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठले ह्यान्डपाइप सुकेपछि संस्थानको पानी प्रयोग गर्ने बढेको बताउनुभयो । उहाँका अनुसार, संस्थानले औद्योगिक क्षेत्र, गुरुद्वारा, नन्दनी मिल र कार्यालय परिसरमा रहेको बोरिङबाट निकालेर पानी सप्लाइ गरिरहेको छ । पानीको माग बढिरहेकाले परसपुर, वाटरपार्क, कारकाँदो, रानीतलाउमा बोरिङ सञ्चालन हुँदै छन् ।

नयाँ–नयाँ ठाउँमा बोरिङ गाडिरहँदा पुराना ठाउँका बोरिङ सुक्ने क्रम उत्तिकै छ । नेपालगन्जका आठवटा बोरिङ सुकिसकेका छन् । ७ सयदेखि १ हजार फिटसम्म गाडिएका बोरिङमा पानी आउन छोडेको छ । जहाँ पायो त्यहीं, जति गहिराइसम्म पुगे पनि पानी आउन छोडेको छ । यसले पनि नेपालगन्जमा पानीको सतह घट्दै र सुक्दै गएको देखाउँछ ।
नेपालगन्जमा काकाकुलको अवस्था आउन नदिन राप्ती नदीबाट पानी ल्याउने योजना अघि सारिएको थियो । तीन वर्षभित्रै पानी ल्याउने गरी आर्थिक वर्ष २०७४-७५ बाट थालिएको काम अझै पूरा भएको छैन ।

३० करोडको यो योजना पूरा हुँदा र दैनिक २ करोड ५ लाख लिटर पानी नेपालगन्जमा झार्दा छेलोखेलो पुग्ने विश्वास गरिएको छ । तर, योजना नै पूरा नहुँदा ‘आकाशको पल, आँखातरी मर’ भनेझैं भएको छ ।संस्थानका कार्यालय प्रमुख श्रेष्ठले एक वर्षमा पाइप विछ्याइसक्ने र तीन वर्षभित्रमा स्थानीयवासीको घरघरमा पानी पु-याउने रणनीति पछि परेको बताउनुभयो ।

उहाँका अनुसार, डुडुवा नालामा ट्रस्टब्रिज, फुल्टेक्रा आर्मी ब्यारेकदेखि वागेश्वरी पानी ट्यांकीसम्मको तीन किलोमिटर तथा कारकाँदोको राधाकृष्ण मन्दिरदेखि कारकाँदो चोकसम्मको १ सय ५० मिटर बाटोमा पाइप बिछ्याउन बाँकी छ ।

बाटो खन्नका लागि संस्थानले सकड विभागलाई १ लाख ३१ हजार र नेपालगन्ज उपमहानगरपालिकालाई ९ लाख ३१ हजार रुपियाँ बुझाइसकेको छ । कार्यालय प्रमुख श्रेष्ठले सरासर काम गर्न दिइने हो भने दुई महिनामै राप्ती नदीको पानी ल्याइसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्