चोरीको ११ क्विन्टल चिनीसहित दुई पक्राउ



बुटवल । 

रूपन्देहीको सैनामैनाबाट ठूलो परिमाणमा अवैध चिनी र चामल बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख तथा प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमान्डमा खटिएको प्रहरी टोलिले अवैध चिनी र चामल बरामद गरेको हो ।

सालझण्डीबाट पाल्पातर्फ जाँदै गरेको लु ३ च ११३३ नम्वरको बलेरो पिकअपमा भन्सार छली गरी ल्याएको अवस्थामा सैनामैना वडा नं १० भच्कैयाबाट अवैध ८ क्विन्टल चिनी र ३ क्विन्टल चामल बरामद गरिएको सालझण्डीका प्रमुख मरासिनीले जानकारी दिनु भयो ।

प्रहरी निरीक्षक मरासिनीका अनुसार कञ्चन वडा नं १ हात्तिबजारस्थित सुमन पन्तले सञ्चालन गर्दै आएको आरती किराना पसल तथा सावित्री ट्रेडर्सबाट अवैध सामान ल्याएको अनुसन्धानपछि खुलेको छ । त्यसपछि प्रहरीले सुमन पन्तले सञ्चालन गरेको आरती किराना पसल तथा सावित्री ट्रेडर्समा पनि छापा मारेको हो ।

आरती किराना पसलमा गई खानतलासी गर्दा भन्सार छली गरी लुकाई राखिएको अवस्थामा ३०० केजी चिनी ५ केजी र १ केजीका प्याकेटमा प्याकिङ गरिएको अवस्थामा रहेको १३७ केजी इन्डियन गेट बासमती चामल पसलवाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

पसल र गाडीवाट गरी चिनी ११ क्विन्टल अन्दाजी मूल्य १ लाख १ हजार २ सय रुपियाँ, चामलको मूल्य २६ हजार ७ सय १५र लु ३ च ११३३ नम्बरको बलेरो पिकअप मूल्य बिस लाख रुपियाँ गरी कुल जम्मा २१ लाख २७ हजार, ९ सय १५ रुपियाँ बरामद गरिएको दाबीसहित राजवश्मा पठाइएको प्रहरीले जनाएको छ ।

अवैध सामान ओसारपोसार गर्ने गाडीसहित २ जना व्यक्तिलाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय बुटबल पठाईएको छ ।यस्तै, सोही घटनाबारे अनुसन्धान गर्ने क्रममा आरती किराना पसलको स्टोरमा खानतलासी गर्ने क्रममा म्याद गुज्रिएका विभिन्न उपभोग्य सामान बरामद गरी स्थानीय जनप्रतिनिधि, प्रहरी, सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्