‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’



काठमाडौं ।

प्रसिद्ध कवि वासु शशीका प्रतिनिधिमूलक कविताहरूको संग्र्रह ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ लोकार्पण भएको छ । वासु शशीकी धर्मपत्नी जुलुम वैद्य, यादव खरेल, कालीप्रसाद रिजाल, गणेश रसिक, मोमिला जोशी र राजकुमार बानियाँले वासु शशीको कवितासंग्रह सामूहिक रूपमा लोकार्पण गर्नुभएको हो ।

वासु शशी स्मृति परिषद्द्वारा आयोजना गरिएको कार्यक्रममा शशीसँग घनिष्ठ सम्बन्ध रहेका रिजालले शशी कविता सिर्जनाबिना बाँच्नै नसक्ने प्रतिभा भएको बताउनुभयो । कार्यक्रममा खरेलले नेपाली कविता साहित्यमा शशीले अतुलनीय योगदान गरेको बताउनुभयो ।यसै गरी कार्यक्रमका सभापति एवं परिषद्का अध्यक्ष गणेश रसिकले शशीको साहित्यिक योगदानको चर्चा गर्दै शशीका नाममा परिषद्बाट प्रदान गरिने पुरस्कार तथा सम्मान ठूलो गौरवको विषय भएको बताउनुभयो ।

कार्यक्रममा साहित्यकार मोमिला जोशीले सबै कविले रचना गरेका सबै कविता उत्कृष्ट नहुने बताउँदै भन्नुभयो – ‘शशीका हरेक कविता उत्कृष्ट छन् । अझ चुनेर राखेका कविताले नेपाली कविता साहित्यलाई माथि उठाएको छ । कविता चयन र सम्पादनसँगै साजसज्जा पनि उत्कृष्ट छ ।’ कृतिका सम्पादक राजकुमार बानियाँले शशीका कविताले सिंगो समय बोक्ने बताउनुभयो । शशीका कविता कालजयी भएको बताउँदै बानियाँले शशी सम्पूर्ण कवि भएको उहाँको धारणा थियो ।

परिषद्का सचिव प्रधुम्न जोशीले भन्नुभयो, ‘शशीले कविताका लागि आफ्नो जीवन समर्पण गरेका छन् ।’ जोशीले शशी मसी नभए रगतले कविता लेख्ने अठोट गर्ने कवि भएको बताउनुभयो ।पुस्तक प्रकाशन संस्था बुक–हिल पब्लिकेसनका कवि एवं गीतकार भूपेन्द्र खड्काले अग्रज स्रष्टाहरूका पुराना सिर्जनाहरू खोजेर प्रकाशन गर्नु संस्थाको दायित्व भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्