अपराधीलाई उन्मुक्ति दिने प्रहरीभन्दा ठूलो अपराधी कोही हुन सक्दैन : प्रजिअ गौतम



सप्तरी । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले  कुनै पनि बहानामा अपराधीलाई उन्मुक्ति दिन खोज्ने प्रहरीभन्दा ठूलो अपराधी कोही हुन नसक्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार सामुदायिक प्रहरी साझेदारीमा नागरिक सुनुवाइ कार्यक्रमको प्रमुख अतिथि रहेका गौतमले उक्त कुरा बताएका हुन् ।

‘जन्मेदेखि चिहानसम्मको सबै काम प्रहरी नजिक ठोक्किएर आउँछ । प्रहरीको जनशक्ति थोरै भए पनि जन अपेक्षा धेरै छ । त्यसैले प्रहरीले आम नागरिकसँग कहिले पनि भेदभाव र धोखा गर्न हुँदैन,’ उनले भने ।

जनताले प्रहरीबाट सस्तो र सजिलो न्याय पाउनु पर्नेमा उनले जोड दिए । सेवा प्रदान गर्ने क्रममा भएका कमीकमजोरी नागरिकले औँल्याइ दिएकाले कमीकमजोरी सुधार गर्नुपर्ने भनाइ प्रजिअ गौतमको भनाइ थियो ।

उनले प्रहरीले धेरै प्रयास गरे पनि सडक दुर्घटना न्यूनीकरण गर्न नसकेकोले यसको न्यूनीकरणका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।

अपराधीहरूलाई सप्तरी प्रहरीले समात्दै आए पनि कतिपय घटनामा टेक्निकल समस्या भएकोले अनुसन्धान गर्न कठिनाइ र ढिलो भइरहेको हो । सप्तरी प्रहरीले गरेको काम सराहनीय रहेको प्रजिअ गौतमको भनाई रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख अभिनारायण काफ्लेले नागरिक बिना बर्दिको प्रहरी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्